१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवार घोषणा गर्न कार्यकर्ताको दबाब

वीरगन्ज- स्थानीय तहको निर्वाचन मिति नजिकिए पनि राजनीतिक दलहरूले उम्मेदवार चयन गर्न नसक्दा कार्यकर्ता अन्योलमा परेका छन्। ढिलो गरी उम्मेदवारी घोषणा गरे चुनाव अभियानका लागि समय अपुग हुने र आफूहरू पछि पर्न सक्ने भन्ने चिन्ता दलका कार्यकर्ताको छ।

पार्टीको अलमलले गर्दा सबभन्दा बढी राष्ट्रिय जनता पार्टीका कार्यकर्तालाई समस्या भएको छ। केन्द्रमा आन्दोलन घोषणा गरेको सो दलले स्थानीय सतरमा उम्मेदवारीमा धेरै दबाब खपिरहको छ। पर्सामा ११ गाउँपालिका, एक नगरपालिका र एक महानगरपालिका छन्।

कांग्रेसका कार्यकर्ताले छिटोभन्दा छिटो उम्मेदवार टुंग्याउन नेतृत्वमाथि दबाब दिइरहेका छन्। 'उम्मेदवार बिना नै जनजागरण र मतदाता सचेतनाजस्ता काम सुरु गरेका छौं,'  कांग्रेसका युवा नेता बैकुण्ठ श्रीवास्तवले भने, 'पार्टीभित्र आकांक्षीको संख्या बढी भएकाले उम्मेदवार तय गर्न समस्या भएको हो।'

 एमालेभित्र पनि उम्मेदवार छान्न दबाब छ। 'कहिले जाने भोट माग्न? ढिलो भइसक्यो,' स्थानीय एमाले नेता सञ्जीव मिश्राले भने, 'कार्यकर्ताले चाँडोभन्दा चाँडो क्लियर गर्न दबाब दिएका छन्, दबाब जायज हो।' माओवादी केन्द्रभित्र पनि कार्यकर्ता पनि उम्मेदवार घोषणामा ढिलाइ गरेको भन्दै नेतृत्वसँग गुनासो गर्न थालेका छन्।

उम्मेदवारी टंुग्याउन नेत्री उर्मिला अर्यालको अगुवाइमा पार्टी लागिपरेको स्थानीय नेता पिएल श्रेष्ठले बताए। नयाँ शक्ति पार्टीका युवा नेता तबरेज अहमदका अनुसार पार्टीले जिल्लाभरिको उम्मेदवारी एकैपटक घोषणा गर्न चाहेको बताए। 'हरेक ठाउँबाट पार्टी कार्यकर्ताले ढिलो भयो भन्ने कुरा गरिरहेका छन्,' उनले भने, 'चाँडै टुंगियोस् भन्नेतिर नेताहरू लागिरहनुभएको छ।'

उम्मेदवार घोषणा नभए पनि संघीय समाजवादी फोरम नेपालबाट चर्चामा रहेका उद्योगपति विजय सराबगीले घरदैलो सुरु गरिसकेका छन्। बुधबार उनले वीरगन्ज वडा नम्बर १९ मा घर दैलो गरे। 'पार्टीका लागि भोट मागेका हौं,' सराबगीले भने। फोरमका कार्यकर्ता निखल वर्णवालले पार्टीले ढिलाइ गरेकोमा युवाको गुनासो बढेको छ। 'अब त उम्मेदवारको नाम लिएर पो टोलटोल पस्ने हो,' उनले भने, 'ढिलो भएर नमज्जा भयो।'

प्रकाशित: २५ जेष्ठ २०७४ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App