२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शिक्षकद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढ्दो

इटहरी- असार १४ गते हुने लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा कार्यरत शिक्षकले आचार संहिता विपरीत कार्य गरेको उजुरी दिने क्रम बढ्दो छ। नियमनकारी निकायले १२ जनालाई सचेत गराई सकेको र प्रमाणसहित उजुरी परेमा त्यस्ता शिक्षकलाई कारबाही गरिने जनाएको छ।

                आचार संहिता विपरीत कार्य गर्ने कर्मचारी र शिक्षकलाई विभागीय कारबाही गरि निलम्बन समेत गर्न सकिनेछ। जिल्ला शिक्षा कार्यालयका अनुसार, अहिलेसम्म निर्वाचन कार्यालय र  जिल्ला प्रशासन कार्यालयबाट एक–एक जना शिक्षकलाई सचेत गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयले भने दस जनालाई सचेत गरि सकेको छ। शिक्षा कार्यालयले सचेत गरेकामध्ये पाँच जनाले राजनीतिक दलको समर्थनमा सामाजिक सञ्जाल फेसबुकमार्फत मतदान गर्नका निम्ति प्रचार गरेको र पाँच जना राजनीतिक दलका गतिविधीमा सक्रियतापूर्वक सहभागी भएको जानकारी दिइयो।

                ‘फेसबुक र शिक्षा कार्यालयमा आएका गुनासा अनुसार सम्बन्धित शिक्षकलाई आइन्दा नगर्न सचेत गरिएको छ,’ जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले भने, ‘सचेत गर्दा पनि अटेर गरे कारबाहीका लागि सिफारिस गरिनेछ ।’ यहाँ स्थानीय निकायको चुनाबमा भाग लिन तीन जना शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिनेमा एमाले समर्थक केशव तिम्सिना, काँग्रेस समर्थक हरिकृष्ण भट्टराई र हरिलाल साह छन् । ‘शिक्षकले राजनीतिक दलबाट प्रेरित भएर कुनै पनि कार्य गर्न पाइदैन् । राजनीति नै गर्न मन हुँदा कि त राजीनामा दिएर गर्नुपयो,’ जिशिअ सुवेदीले भने।

                जिल्लामा दुई हजार ६ सय शिक्षक हाराहारीमा शिक्षक कार्यरत छन् । आचार संहिता उल्लंघन गरेको प्रसंगमा नेपाल शिक्षक संघका सत्यनारायण मेहताले शिक्षकले नियमलाई पालना गर्नुपर्ने बताए। जनता मावि इटहरीका शिक्षक गोविन्द मिश्रले खुलेआम राजनीतिक ढंगले प्रेरित भएर लाग्नु गलत भएको जनाउँदै प्रारिम्भक चरणमा नियमनकारी निकायले सचेत गुर्नपर्ने बताए।

शिक्षक, कर्मचारी, राजनीतिक दल, उम्मेदवारलगायतले आचार संहिता उल्लंघन गरेको अनुगमन गर्न जिल्लालाई तीनवटा क्षेत्रमा विभाजन गरि अनुगमन अधिकृत परिचालन गरिएको छ । जिल्लामा १२ वटा स्थानीय तह छन्। जसमध्ये धरान र इटहरी उपमहानगरपालिकासँगै रामधुनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराई खटिएका छन् । यस्तै, दुहवी नगरपालिकासहित गढी, बर्जु, हरिनगरा र देवानगन्ज गाउँपालिकामा बर्जु रामचरित्र मेहता खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको  छ। मेहता बर्ज गाउँपालिकाका कार्यकारी अधिकृत हुन् । बराह नगरपालिका र भोक्राहा तथा कोशी गाउँपालिकामा जिल्ला कृषि कार्यालय सुनसरीका प्रमुख राजकान्ता झा खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले शिक्षक, कर्मचारी, राजनीतिक दलसँगै सञ्चारकर्मीलाई समेत निर्वाचनको आचार संहिताबारे आवश्यक ज्ञान प्रदान गरि सकेको छ। दल तथा उम्मेदवारले आचारसंहिता विपरीत कार्य गरेमा कसुरका आधारमा बढीमा एक लाख रुपैयाँ जरिमाना वा छ महिना कैद वा उम्मेदवारी बदर समेत हुन सक्छ ।

यसैबीच, आइतबार इनरुवामा आयोजित एक कार्यक्रममा निर्वाचनमा बालबालिकालाई प्रयोग गर्न गराउने नहुने बिषयमा छलफल भएको  छ।  महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको कार्यक्रममा निर्वाचनभर अनुगमन समेत गर्ने निर्णय भएको छ । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनमा बालबालिकालाई प्रयोग गर्न सक्ने हुँदा त्यसका निम्ति अलगै अनुगमन समिति बनेको महिला तथा बालबालिका कार्यालयकी अधिकृत सुशीला कार्कीले बताइन्।

               

प्रकाशित: २१ जेष्ठ २०७४ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App