१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बिपीको राष्ट्रवाद

नेपाली जनताले श्रेय दिने हो भने देशको सामर्थ्यलाई बुझेको र त्यसलाई मुखरित गरेको कुरामा देओस् भन्ने आग्रह गर्ने विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको पहिचानको प्रमुख दुई पक्ष छ– राजनीतिक र साहित्यिक। साधारणदेखि असाधारण मानिएका र सरलदेखि जटिल ठानिएका हरेक व्यक्तिको पहिचान विविधतायुक्त हुन्छ नै। तसर्थ पनि बिपीको जीवन विविधतायुक्त र लोभलाग्दो ढंगले बहुआयामिक रहेको पाइन्छ।

 भा› २४, १९७१ मा सम्पूर्ण परिवार प्रवासमा रहेका बेला भारतको बनारसमा जन्मेका बिपीको शिक्षादीक्षा र प्रारम्भिक कालको राजनीतिक सम्पर्क, सक्रियता भारतमै भयो। विद्यालय जीवनमा  मेधावी छात्रको रुपमा नभए पनि ‘कालो पाटी र राम्रो टाँका काटेको बाँसको कलमका'लागि भने उनको सराहना हुने गर्थ्याे। ४५ जनाको ठूलो प्रवासी परिवार बनारसमा आर्थिक अभावले सताइएर कैयौं पटक भोकै बस्नु परेको अनुभवबीच हुर्कंदै गरेका बिपी सानिमा र बैनीको मुन्द्र बेचेर आएको २६ रुपियाँले पढाइलाई निरन्तरता दिँदैथिए। अभाव बोकेर हुर्केका र जुत्ता किन्ने पैसा नभएर खाली खुट्टा विद्यालय जाने गरेका बिपीलाई क्रान्तिको आदर्शवादी राजनीतिले विद्यालय जीवनदेखि नै प्रभाव पार्‍यो। यो प्रभावको निरन्तरता उनका आखिरी दिनहरुमा पनि प्रवल रहेको पाइन्छ। सम्भवतः गान्धीको आदर्शको प्रेरणाले हुनुपर्छ, बिपी स्वयंले ‘बुद्धबाहेक नेपालको इतिहासमा आफ्नो कोही आदर्श पुरुष नरहेको’ बताएका छन्। प्रारम्भिक कालका नेता बिपीमा आफ्नो भारतीय सम्पर्क, सम्बन्ध, शिक्षा र सामाजीकीकरणको जबरजस्त प्रभाव देखिन्छ। अहिलेको बढ्दो भूमण्डलीकरणको सन्दर्भभन्दा अघिको परिप्रेक्ष्यमा उनको भनाइ– बालककालदेखि दुई भाषा र देशलाई समान रुपमा अंगीकार गर्नु परेकाले म राष्ट्रियता र अन्तर्राष्ट्रितामा आपसी बेमेल भन्नेसँग असहमत छु, ले प्रष्ट पार्छ।

 आफूलाई बिपीको ‘नम्र सिपाही' का रुपमा प्रस्तुत गर्ने समाजवादका सरत व्याख्याकार सी.के. प्रसाईंले व्यक्तित्वको मुल्याङ्कनका समस्या यसरी औँल्याएका छन। १. महत्वलाई इर्ष्यावश कम आँक्ने २. आवश्यकताभन्दा बढ्ता नै बढाइचढाइका साथ प्रस्तुत गर्ने। नेपालको सन्दर्भमा त अर्को पनि समस्या छ– कुनै पनि व्यक्ति सार्वजनिक महत्वको लाभदायी र शक्तिशाली पदमा पुग्नेबित्तिकै र देहावसानउप्रान्त व्यक्तित्वको देवत्वकरण सुरु गरिन्छ। पहिलो अवस्थामा लाभको अपेक्षा र दोस्रो अवस्थामा प्रतिस्पर्धा र हानिको सम्भावना समाप्त भएको निष्कर्षले मुख्य रुपमा निर्देशित गरेको हुन्छ सायद।

विरोधीको पनि खुबीको पहिचान र त्यसको कदर गर्ने संस्कृतिका कारण जीवनपर्यन्त राजनीतिको केन्›मा त रहनु भयो नै विरोधीको पनि आदर प्राप्त गर्न सक्नु भयो। राजनीतिक निष्ठा, नीति र निरन्तरताको थलो किलो छोडेर सस्तो लोकप्रियता र पदको प्रलोभनमा परी हिलोको किलो बन्नु भएन। पारिवारिक सञ्जालले समेटेका आफन्तहरु, पार्टी भित्रका आसेपासेहरु र व्यक्तिगत रुपमा अत्यन्त सौहार्दपूर्ण सम्बन्ध रहेका नेहरु, जेपी लगायतका अन्य दक्षिण सीमा पारिका चाहना, लोभ र दबाबबाट आफूलाई धेरै हदसम्म बचाउनु भयो। गृह र प्रधानमन्त्रीको रुपमा बिपीले नेपालको आन्तरिक र वाह्य दुवै मामलामा भारतीय दबाब झेल्नु परेको तथ्य सार्वजनिक भइसकेकै छ– स्वयम् उनैबाट। राजदूत सि.पि.एन. सिन्हाका बारेमा त बनारसमा पत्रकार सम्मेलन गरेरै बिपीले भन्नुभएको थियो, ‘सिन्हा नेपाललाई जिल्ला परिषद् र आफूलाई त्यसको सभापति सम्झन्छन्।’ बिपीलाई भारतीय दलाल ठान्नेहरुले बिपीको बाल्यकाल, विद्यार्थी जीवन, गान्धीको प्रभाव हुँदै मार्क्सवाद र मार्क्सवादप्रति आलोचनात्मक दृष्टिकोणको विकास, भारतीय स्वतन्त्रता आन्दोलनमा उनको संलग्नताको परिवेश, परिवार प्रवासमा रहन पर्नाको कारण र प्रभाव, निर्वाचित प्रधानमन्त्रीका रुपमा देश भित्रका ठूला सामन्ती र दरबारवाट झेल्नु परेको व्यवधान र प्रतिरोध लगायतका दक्षिण एसियाको तात्कालीन सम्पूर्ण परिवेशको सन्दर्भमा मात्र उनको मूल्याङ्कन गर्नु उचित हुनेछ।

 राष्ट्रिय अस्मिता र राष्ट्रियताको सन्दर्भमा बिपीको दृष्टिमा ‘सर्वप्रथम र अन्तिम तत्व पनि जनता हो।' भूगोललाई गौण मानिएको बिपीको राष्ट्रवादले तत्कालीन नेपाली सन्दर्भको ‘मण्डले राष्ट्रवाद' र हाल अधिक चर्चामा ल्याइएको ‘जातीय राष्ट्रवाद'भन्दा धेरै फरक ‘समावेशी वा नागरिक राष्ट्रवादको मूल चुरो’ जनताको सामूहिक मनोभाव’ अन्तरनिर्दिष्ट छ। उनको बुझाइमा राष्ट्रियता जनताको बीच पैदा हुने ‘भावनात्मक एकता’ हो, जो जनताले आफूसामु उपस्थित व्यापक समस्या समाधान गर्ने क्रममा लगाएको जोड बलको सामूहिक प्रयत्नबाट प्राप्त हुन्छ। राष्ट्रियतालाई व्याख्या गर्ने क्रममा भन्दा पनि ‘नेपाली राष्ट्रियता' खतरामा पर्दै गरेको कुराको सार्वजनिकीकरणले बिपीलाई चर्चा र छलफलको केन्›मा उभ्यायो। बिपीले सत्ता, शक्ति र राजनैतिक लाभहानिको दृष्टिकोणबाट ‘राष्ट्रियता संकटमा परेको’ विषय उठाएका थिएनन्। आफ्नो शासकीय अनुभव अनि भारत र नेपालमा रहँदा गरेका अध्ययन र विश्लेषणबाट उनी यो निष्कर्षमा पुगेका थिए कि ‘भारतको नियत राम्रो छैन तर यो चुनौतीको सामना गर्न हामी आफू नै वास्तविक रुपमा एक हुनुपर्छ।’ भारतीय शासकहरुको थिचोमिचो र आन्तरिक मामलामा उनीहरुको चलखेलको अन्त्यहीन लामो श्रृखंलाको विश्लेषण र भोगाइबाट प्राप्त निष्कर्ष थियो यो। असंख्य उदाहरणहरु पाइन्छन्, भारतीय हस्तक्षेपकारी प्रवृत्तिको।

 राष्ट्रियताका सन्दर्भमा घरभित्रकैका राजनैतिक पात्रहरुबाट प्रशस्त गल्तीहरु भएका छन्। सम्भवतः नियत नै खराब रहेर भन्दा पनि ‘ठूल्दाइ’को सामु फुच्चे भाइ हुनुको लघुताभाषले र आफ्नो पदीय आकांक्षा पूरा गर्न नेपाली जनताको विश्वास भन्दा ‘तिनको’ आशीर्वाद पाइने विश्वासमा परेर। बिपीको जीवनभरको भोगाइ, ‘ठूल्दाइ’बाट प्राप्त थप्पड र हण्डरका कहानी थुप्रै छन्। कांग्रेस इतरहरुलाई कांग्रेसी नेता बिपीबाट सिक्न उत्साह नहुनु बु‰ने कुरा हो तर आफूलाई बिपीवादका अनन्य भक्त ठान्छन्, उनीहरुबाटै बिपीको निष्ठा र आदर्शको यति हदसम्म बेहाल नबनाइनु पर्ने हो। कमसेकम बिपीको अनुयायी बताउँदै ‘ठूल्दाइ र उनका मानिसहरुसँग’ ओहदा र हैसियत माग्न नजानु पर्ने हो। बिपीले भनेझैँ ‘प्रजातन्त्रको मात्र कुरा गर्‍यौँ भने एक पक्षीय भएर गलत बाटोमा जानेछौँ, राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन र हामी विदेशीहरुको चालमा पर्नेछौँ’ भन्ने बिपीको अमरवाणी चरितार्थ पार्न त सम्पूर्ण रुपले उद्दत भएका हैनन्– स्वयंघोषित बिपीवादीहरु!

 निष्कर्षमा, राजनेता बिपी अनेकौँ कमजोरीका बाबजुद पनि ‘असल’ (मोदीआइनबाट शब्द सापटी लिँदै) नेता भएरै रहे, आफ्नो निष्ठा र निरन्तरतामा अविचलित रहेर आफ्नो उचाइ कायम गर्न सके। उनको राष्ट्रवादी छविका बारे बहस त गर्न सकिएला तर सन्देहयुक्त प्रश्न गर्न सजिलो छैन। आजका राजनैतिक नेता कार्यकार्ताले उनीबाट सिक्ने र उनको राष्ट्रियताबारे चिन्तनलाई मनन् गरेर अघि बढ्दा राष्ट्रियताको समर्थन गर्न योगदान पुग्ने छ। सार्वभौमसत्ता सम्पन्न नेपाली जनाताका मतले नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र यसभित्र शक्तिशाली कहलाइएका नेताहरुले नेपाली जनताको निम्ति आफ्नो कर्तव्य र अधिकार प्रयोग गर्न नसक्दा र आफ्नै विवेकलाई साक्षी राखेर नेपाल राष्ट्रको हितका लागि मात्र निर्णय गर्न नसक्दा राष्ट्र कमजोर हुने हो, राष्ट्रियतामा संकट गहिरिने हो। राष्ट्रप्रेमी, सार्वभौम र औपचारिक रुपमा कहिल्यै पराधिन नरहेको नेपाली जनतालाई नेतृत्व गर्ने दायित्व र चुनौतीलाई अवसरको रुपमा बदलेर नेपाललाई अलिकति राम्रो बनाएर छाड्न तमाम नेता कार्यकर्तामा विवेक आओस्। नेपाली कांग्रेसको राजनीतिका निर्मम शिष्यहरु जो स्वर्गवासी बिपी गुरुलाई धुरुधुरु रुवाउनुमा आनन्दमग्न छन्। गुरुले भनेझैँ ‘एक मुठ्ठी माटो’ हातमा लिएर आफैलाई सोध– सायद गुरुले देखाएको बाटो हिँड्न प्रेरणा मिल्नेछ।

 

प्रकाशित: ४ श्रावण २०७३ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App