१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भाडाका सवारीमा निजी स्कुलका विद्यार्थी

ललितपुर- सार्वजनिक यातायात व्यवसायीले रुटमा सवारीसाधन नचलाइ निजी विद्यालयका विद्यार्थी ओसार्न प्रयोग गरेपछि सर्वसाधारणले यात्रुको चाप बढी हुने व्यस्त समय (पिक आवर)मा सास्ती भोग्नुपरेको छ।

यातायात व्यवसायीले आफ्नो रुट पर्मिटविपरीत सवारीसाधन चलाएका कारण त्यसको प्रत्यक्ष असर सर्वसाधारणमाथि परेको ट्राफिक प्रहरीकोे निष्कर्ष छ। महानगरीय ट्राफिक प्रहरी कार्यालय सातदोबाटो, ललितपुरले यसबारे हालै गरेको अध्ययनबाट यस्तो निष्कर्ष निस्केको हो। उपत्यकाका निजी विद्यालयले पिक आवरमा १२–१५ सयको हाराहारीमा सार्वजनिक सवारीसाधन प्रयोग गरेका कारण त्यसबेला रुटमा सवारीसाधन अभाव हुने गरेको छ। बिहान र बेलुकी कार्यालय समयमा उपत्यकाका प्रमुख सडक र चोकमा सवारी कुर्ने यात्रुको चाप थेगिनसक्नु भएको ट्राफिक प्रहरीले जनाएको छ।

सार्वजनिक यातायात व्यवस्था ऐनमा उल्लेख भए अनुसार कुनै सार्वजनिक सवारीसाधनले प्रयोजन विपरीत पर्मिट पाएको रुटबाहिर सवारी चलाउनु परे पटके इजाजतपत्र लिनुपर्छ। तर सार्वजनिक सवारीसाधनले ऐननियम उल्लंघन गरेको यातायात व्यवस्था विभागले जनाएको छ। व्यवसायीले रुट बाहिर सवारी चलाउँदा विभागसँग अनुमति लिएका छैनन्।

प्रहरीले केहि समय अघि गरेको उक्त अध्ययनमा सार्वजनिक सवारी व्यवसायीहरुले आफ्नो नियमित रुटमा सवारी साधनहरु नचलाई बोर्डिङ स्कुलका विद्यार्थीहरु बोक्ने प्रयोग गरेको कारण सो समयमा करिब ४८ हजार यात्रुहरु समयमै गाडि चढ्नबाट बञ्चित हुने गरेेका छन्। यति मात्र होइन समयमै सवारी चढ्न नपाएपछि उनीहरु कार्यालयमा ढिलो पुग्ने गरेको प्रहरी तथ्यांकले देखाएको छ।

महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले हालसम्म भएका सवारी घटनालाई हेर्दा स्कुलले प्रयोग गरेेका सार्वजनिक सवारीहरु बढी दुर्घटनाका पर्ने गरेको बताए। यसो हुनुको मुख्य कारण स्कुलले प्रयोग गरेेका सार्वजनिक यातायात व्यवसायीहरुले स्कुल तथा नियमित रुटमा बढी टिभ बोक्ने लोभमा बढी दुर्घटना हुने गरको प्रहरी अनुसन्धानले देखाएको छ।

 

काठमाडौं उपत्यकाभित्र करिव १५ सयको संख्यामा रहेका निजी बोर्डिङ स्कूलहरुले प्रयोग गर्ने पहेलो रङका ३ हजार सवारी साधन छन्। तर नामी विद्यालयहरुलाई यी सवारी साधन कमी हुने भएकोले सार्वजनिक सवारी साधन प्रयोग गर्ने गरेको पाइएको छ। निजी विद्यालयहरुले प्रयोग गर्दै आएका १५ सय सवारी साधनमध्ये सबैभन्दा बढी लिटिल एन्जर्ल्स बोर्डिङ स्कुल १ सय, सेन्ट जेभियर्स स्कुल ५० र जेम्स स्कुल ८० वटा सार्वजनिक सवारी साधन प्रयोग गर्दै आएका छन्।

यस्तै यी  तर यी स्कुलहरुलाई यति संख्याका सवारी साधनले नपुग्ने भएपछि सार्वजनिक सवारी साधनहरु भाडामै प्रयोग गर्ने गरेका छन्। काठमाडौं उपत्यकामा यी स्कुलहरुले हरेक दिन विहान र बेलुका गरीे समय ४ सय भन्दा बढी सार्वजनिक सवारी साधनहरु प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा सञ्चालन भएका नाम चलेका अन्य स्कुलहरुले सबैभन्दा बढी निजी गाडिहरु कब्जा गर्ने गरेका कारण व्यस्त समय (पिक आवर) मा सर्वसाधारण यात्रुहरु समयमै आफ्नो गन्तव्यमा पुग्न नपाएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका इन्चार्ज इन्स्पेक्टर सिताराम हाछेंथुले बताए।

त्यस्तै उपत्यकामा नाम कमाएका स्कुलहरुका निजी स्कुलहरुका पहेलो रङका सवारीहरु अत्यन्तै कम छन्। लिटिल एन्जर्ल्स बोर्डिङ स्कुल ३०, सेन्ट जेभियर्स स्कुल २०, जेम्स स्कुल ८०, एभिएम स्कुल २५, सेन्ट मेरिज ३५, युनाइटेड एकेडेमी ३०, सुभतारा स्कुल २०, वनस्थली उमावि ४०, वेलह्याम्स २० लगायत रहेका छन्।

'विद्यार्थीको संख्यालाई हेर्ने हो भने यति सवारी साधनले ती पुग्दैन, तर विद्यालयहरुले सजिलो र सस्तोको लागि सार्वजनिक सवारीसाधन प्रयोग गर्ने गरेका छन्।' ट्राफिक प्रहरी इन्चार्ज हाछेंथुले भने।

यस विषयमा प्यावसनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीले निजी र नामी विद्यालयहरुले यसो गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेकोले विद्यालयले आफ्नै निजी सवारी प्रयोग गर्न सुझाए। धनी र नामी स्कुलहरुले नै यसो गर्नु मर्यादाविपरीत रहेको उनले औल्याए। निजी विद्यालयहरुले पनि आफ्नै सवारी साधन प्रयोग गर्ने हो यसको सहजै समाधान हुने प्यावसनको भनाई छ।

यस विषयमा सेन्ट जेभियर स्कुलका प्रधानाध्यापक अमृत राईले स्कुलसँग पर्याप्त रकम नभएकोले सार्वजनिक सवारी साधन प्रयोग गरेको जवाफ दिए। उनि भन्छन्, 'हामीलाई निजी गाडि प्रयोग गर्नभन्दा सार्वजनिक गाडि नै प्रयोग गर्न सहज हुन्छ। अहिले उपत्यकामा सार्वजनिक सवारी साधन प्रयोग नगरेका स्कूलहरु पाउन कठिन छ।'

त्यस्तै सबैभन्दा धनी विद्यालय लिटिल एन्जेल्सका सञ्चालक उमेश श्रेष्ठले उपत्यकामा सबैभन्दा बढी स्कुलका गाडिहरु लिटिल एन्जल्सँग भएको दाबी गर्छन। उनी भन्छन्, 'स्कुलसँग पैसा नभएकोले केहि स्कुलहरुले सार्वजनिक सवारी प्रयोग गरेका छन्। हामीले सकेसम्म आफ्नै सवारी प्रयोग गर्ने कोसिश गरेका छौंँ।'

एक त उक्त समय यात्रुहरुकोे चाप हुने समय त्यसमा पनि ठूलो संख्याका सार्वजनिक सवारी साधनहरु नियमित रुटमा नचल्दा आम नागरिकले थप सास्ती व्यर्होनु परेको महानगरिय ट्राफिक प्रहरी सातदोबाटोका इन्चार्ज हाछेंथुको भनाई छ। सावजनिक रुटका लागि दर्ता भएका सवारी साधनहरुले यात्रुहरुको सुविधाका लागि ध्यान दिनु पर्नेमा उनले जोड दिए।

उनले भने, 'विहान र बेलुकाको समयमा काठमाडौंका मुख्य–मुख्य चोकहरुमा गाडि कुर्ने यात्रुहरुको भिड देखियो, उक्त भिड कसरी भयो भन्ने विषयलाई अध्ययन गर्दा यस्तो तथ्य फेला पर्‍यो।'

त्यस्तै यस विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान महर्जनले आफूलाई यसबारे कुनै सुचना नै नआएको बताए। उनले भने, 'यदी सार्वजनिक रुटमा चल्ने सवारी साधनले यसो गरेका छन् भने यो अत्यन्तै गलत हो, यसबारे हामीले छिट्टै अनुगगमन थाल्छौँ।' सार्वजनिक रुटमा चलाउने भनेर स्वीकृति लिएका गाडिहरुलाई त्यसरी रुट मिचेर चलाउन कसैलाई पनि स्वीकृति नभएको निर्देशक महर्जनले बताए।

पछिल्लो दिनहरुमा काठमाडौंका मुख्य–मुख्य चोकहरुमा साझँ र विहानको समय गाडि चढ्नेको हानथाप हुने गर्छ तर यस विषयमा जिम्मेवार निकायले चासो नदिएका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। सार्वजनिक रुटमा चल्ने सवारी साधनको गैर जिम्मेवारीका कारण आम नागरिक समयमै घर फर्कन तथा कार्यालय जान नपाउने प्रहरीको भनाई छ।

एउटा गाडी सयौं यात्रु

पछिल्लो समय सार्वजनिक यातायातका साधनहरु चल्ने काठमाडौंका विभिन्न रुटहरुमा सवारी कुरेर बस्ने यात्रुहरुको अत्यन्तै भिड देखिन्छ। सडक छेउमा यात्रुहरुको भिड लाग्नुको मुख्य कारण समयमै सवारी साधन नपाउनु हो।

 विशेष गरी व्यस्त समय (पिक आवर) मा काठमाडौंको सुन्धारा, रत्नपार्क, वानेश्वर, माइतिघर, कुपण्डोल, ग्वार्को सातदोबाटो, चावहिल, बौद्ध, जोरपाटी, लगायतका क्षेत्रमा सवारी साधन चढ्न मुस्किल हुन्छ। यस्तो हुनुको मुख्य कारण सवारी संख्या एकदमै कम हुनु हो। यदी उपत्यका भित्र निजी विद्यालयहरुले प्रयोग गरेका सवारी साधन नियमित रुटमा फर्कने हो भने आम नागरिकले झन्झटबाट छुटकारा पाउने प्रहरीको ट्राफिक प्रहरीको भनाई छ।

प्रकाशित: ४ श्रावण २०७३ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App