१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

के गर्दैछ एनआरएनए ?

मातृभूमिमा स्थानीय निर्वाचनको चटारो हुँदै गर्दा परदेशमा रहेका नेपालीको संस्था एनआरएनए पनि हरेक दुई वर्षमा हुने नेतृत्व चयन प्रक्रियामा जुटेको छ । यसका लागि एनआरएनको सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यताका लागि आवेदन दर्ताले तीव्रता पाएको छ । यही सन्दर्भमा एनआरएन जापानले पनि यही  जेठ १७ (मे ३१) गतेसम्मका लागि नवीकरण गर्ने र नयाँ सदस्यता लिइसक्नुपर्ने समय तोकेको छ । यस क्रममा नयाँ सदस्यता लिन इच्छुक हुनेको संख्यामा आएको बढोत्तरीले सकारात्मक सन्देश दिएको छ ।

२००४ को फेब्रुअरी २ मा स्थापना भएको एनआरएन जापान खासै व्यवस्थित हुन सकेको छैन । पछिल्लो समय केही युवा विशेष सक्रिय भएकाले परिमार्जनको प्रयास भने हुँदै गरेको छ । विदेशमा आफ्नै खर्च गर्नुपर्ने र समयसमेत निकाल्नुपर्ने भएकाले यस्ता संस्था सोचिए जति रूपमा अघि बढ्न नसक्नु स्वाभाविकै पनि हो । त्यसो त चुनावका बेलामा तँछाड र मछाड गर्दै आफूले पद पाएमा के के न कायापलट नै गर्छु भनेर तात्ने प्रवृत्ति कायमै छ । तर जब पद हासिल हुन्छ त्यसपछि निष्क्रिय हुने रोग यहाँ पनि पसेको छ ।

एकातिर सदस्य बन्नेहरूको रुचि बढेको देखिन्छ भने अर्कोतिर बन्दिन भन्नेहरू पनि उत्तिकै छन् । तर किन नबन्ने भन्ने कारणचाहिँ उनीहरूसँग छैन । धेरैले यो सदस्यता लिएर के फाइदा हुन्छ भन्ने सोध्ने गरेका छन् तर यो फाइदाका लागि अर्थात १ हजार लगानी गरेर केही समयमा १० हजार कमाइ हुने सेयर किने जस्तो हैन भन्नेचाहिँ धेरैले बुझ्नै बाँकी छ । नेपाल र नेपालीका लागि सहयोग गर्ने मूल उद्देश्य लिएर विश्वभर छरिएका लाखौँ प्रवासी नेपालीलाई एकै ठाउँमा गोलबध्द गराउनु यसको मुख्य काम हो । यस्तो संस्थामा आबद्ध हुन पाउनुभन्दा ठूलो विषय के हुन सक्छ र ?

पछिल्लो समय स्थानीय चुनावले मुलुक तात्दै गर्दै झन्डै ६० लाखभन्दा बढी नेपाली मुलुकबाहिर भएका कारण आफ्नो मताधिकारबाट वञ्चित भएको अवस्था छ भने एनआरएनएले हरेक विदेसिएका नेपालीको हक अधिकार सुरक्षाको प्रश्न उठाइरहेको छ । अनि सरकारसँग सोधिरहेको छ कि नोट चल्ने भोट नचल्ने किन ? 

यो संस्थामा आबध्द भएर केही लिने होइन कि नेपाली समाजलाई केही दिन सकियोस् भन्ने भावना राख्न सक्नुपर्छ । यही भावनाका साथ विश्वका ७९ राष्ट्रका प्रवासी नेपाली यस संस्थामा आबद्ध भएका हुन् । यो संस्थाबाट केही लिन नपरोस् बरु दिन सकियोस् भन्ने नै सबै सदस्यको आशय रहँदै आएको छ । तथापि यो उद्देश्यप्रति स्पष्ट हुन नसकेका केही सदस्यका कारण संस्था बेलाबेलामा विवादमा भने पर्ने गरेको छ । दुःख कष्टमा परेका सहप्रवासीको घाउमा केही मलम लगाउन सकौँ भन्ने प्रयास सबैको अवश्य छ तर सबैको यसप्रतिको बुझाइ उत्तिकै नहुँदा समस्या पनि बेहोर्नुपरेका छन् ।

एनआरएनले देश र विदेश गरी सबैतिर नेपालीका लागि धेरै काम गरेको छ । भूकम्पका बेला पीडितलाई सबैभन्दा चाँडो राहत उपलब्ध गराउने संस्था पनि यही हो । अनि भारतले लगाएको नाकाबन्दीताका नेपालका अस्पतालहरूमा औषधि चरम अभाव हुँदा पु¥याउने संस्था पनि यही हो । एनआरएनकै पहलमा गोर्खामा भूकम्पपीडितका लागि नमुना गाउँ बन्दैछ । खुल्ला विश्वविद्यालय सुरु भइसकेको छ । देवघाट, बेनीमा वृध्दाश्रम पनि चलेका छन् । विकट ठाउँका महिलाको स्वास्थ्य समस्यालाई ध्यानमा राखी कैलाली, डोटीलगायत ठाउँमा महिलाका आङ खस्नेलगायत समस्या समाधानका लागि शिविर सञ्चालन भएका छन् । यी केही प्रतिनिधिमूलक उदाहरण हुन्, जबकि एनआरएनको सहयोगमा नेपाली समुदायका लागि निकै राम्रा र अनुकरणीय काम भएका छन् । अझै जारी पनि छन् ।

तपाईँ सहभागी हुनुस् वा नहुनुस्, विरोध गर्नुस् वा समर्थन, यी सबै काममा तपाईँको पनि कतै न कतै लगानी छ । तपाईँले गर्व गर्ने ठाउँ छ, विदेश बसुन्जेल सदाकाल एनआरएनको विरोध नै गरेर बसे पनि तपाईँ मातृभूमि जाँदा अथवा पूर्णरूपमा फर्किंदा तपाईँलाई कतै न कतै आफ्नो वरपरकाहरूले एनआरएनले गरेका कार्य र तपाईँको भूमिका अथवा सहभागिताका विषयमा चासो राखी नै हाल्छन् । त्यतिखेर तपाईँलाई एनआरएन अभियानमा नलागेको अथवा सदैव असहयोग र विरोध गरेकामा पछुतो लाग्ने निश्चित छ ।
 
पछिल्लो समय गाउँ, जिल्ला, अञ्चललगायतले नपुगेर जातीयरूपमा समेत संस्था खुल्न थालिसके । राजनीतिको त कुरै नगरौँ, नेपालीहरू यति धेरै राजनीति पार्टीको गुलाम नबन्ने हो भने देशले धेरै छलाङ मारिसक्ने थियो । यसो भन्दैमा राजनीतिको विरोध गरेको हैन, हरेक सचेत नागरिकमा राजनीतिक चेतना हुन जरुरी छ तर सामाजिक संस्था अथवा सामाजिक कामलाई राजनीतिभन्दा टाढा राख्दा संस्थाको गरिमा र मर्यादा पनि बढ्छ भन्नेचाहिँ बिर्सनुहुन्न । नागरिकताको निरन्तरतासम्बन्धी आधारभूत मुद्दाहरू नेपालको नयाँ संविधानमा राख्न भूमिकाबद्ध भएर लागेको एनआरएनको भूमिका त्यत्तिकै प्रशंसनीय छ । पछिल्लो समय स्थानीय चुनावले मुलुक तात्दै गर्दै झन्डै ६० लाखभन्दा बढी नेपाली मुलुकबाहिर भएका कारण आफ्नो मताधिकारबाट वञ्चित भएको अवस्था छ भने एनआरएनएले हरेक विदेसिएका नेपालीको हक अधिकार सुरक्षाको प्रश्न उठाइरहेको छ । अनि सरकारसँग सोधिरहेको छ कि नोट चल्ने भोट नचल्ने किन ? 

यतिखेर जापानमा मात्रै नभएर हरेक देशमा एनआरएनको चुनावी सरगर्मी बढेसँगै हरेक ठाउँ, संघ÷संस्था अथवा अन्य ठाउँमा विभिन्नतवरले जनमानस सलबलाउन थालेका छन् । तर विडम्बना, अधिकांश मानिस हाम्रो समाजबाट, हाम्रो संस्थाबाट, हाम्रो जिल्लाबाट, हाम्रो पार्टीबाट यति मान्छे आउनैपर्छ भन्न थालेका पाइन्छ । नेपालीको यो भागबन्डे कुण्ठित मानसिकता विदेश पुग्दा पनि नमेटिएकामा आश्चर्य लाग्छ । अर्थात अंशियारी मनस्थितिले आफैँलाई गिजाएको महसुस नहुनु गजवको कुरा हुन आएको छ । हामी किन यति धेरै साँघुरिएका छौँ भन्ने प्रश्न पनि उत्तिकै टड्कारो बनेर आएको छ यतिखेर ।

तसर्थ भन्न चाहन्छु कि आउनुहोस्, हामी सबै मिलेर यो संस्था विस्तार गरौँ । विशाल बनाऔं । कुनै पनि ठाउँको तत्कालीन कार्यसमितिले काम गर्न नसकेको हो भने अथवा गर्दागर्दै अधुरो रहेका सामाजिक हितका कामलाई अर्को समितिले निरन्तरता दिउँ । हरेकपटकको चुनावी माहोलमा केन्द्रित भएर कुरा गर्दा जापानजस्तो विकसित देशमा बसेर १ हजार येन तिरेर सदस्य बन्नका लागि पनि अर्काको मुख ताक्नेले के गर्ला र ख्वै ? सकारात्मक भएर सोच्ने हो कि आजैबाट ?
निवर्तमान संयोजक, एनआरएनए जापान

प्रकाशित: १० जेष्ठ २०७४ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App