१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सूर्यमुखी खेतीमा आकर्षित हुँदै कृषक

बगनाशकाली गाउँपालिका चिर्तुङ्गधारामा गरिएकाे व्यवसायिक सूर्यमुखी खेती

पाल्पा – वगनाशकाली गाउँपालिका–१, चिर्तुङ्गधारा ठूलाचौरका किसानले वैकल्पिक खेतीका रुपमा सूर्यमुखी फूलको खेती गर्न थालेका छन् । उनीहरूले १० रोपनी जग्गामा सूर्यमुखी फूललाई तेल उत्पादनकालागि वैकल्पिक बालीका रुपमा प्रयोग गरेका हुन् । 

जनजागृती अगुवा कृषक समूहका अध्यक्ष पोषकान्त भण्डारी भन्छन्, ‘खेतमा पानी लगाउने समस्या हुन थालेसँगै वेकल्पिक खेतीको खोजी गरेको बताए । अहिले यहाँका प्रायः सबै किसानले सूर्यमुखी खेती गरेका छन् । फूल राम्रो फुलेकोले उत्पादन पनि राम्रो हुने आशा राखेका छौं ।’

किसानहरुलाई सूर्यमुखी खेती गर्न जिल्ला कृषि विकास कार्यालयले २० किलो विउ अनुदान उपलब्ध गराएको छ । सामाजिक श्रोत विकास केन्द्र, नेपालले ४० हजार अनुदान सहित तालिम र समूह परिचालनमा सहयोग पुर्याएको छ । सूर्यमुखीको खेती गर्न किसानहरुले ७० मीटर लामो पक्की कुलो समेत जनश्रमदानमा निर्माण गरेका छन् ।  

कृषक भण्डारीले परम्परागत खेतीबाट आम्दानी भन्दा बढी खर्च हुने देखेसँगै वैकल्पिक खेतीमा आकर्षित भएको बताए । ‘एक खेतमा ३÷४ बाली लगाउने भन्दै धान, गहुँ, मकैको खेती परम्परागत रुपमा हुन्थ्यो । लागत लाभ विश्लेषण गर्यौ । फाइदा हुने देखेर नगदेबाली र तरकारी खेती तर्फ उन्मुख भएका छा,ै’–भण्डारीले भने । 

समूहकी सदस्य शान्ति गैरे भन्छिन्,–‘समूह परिचालन राम्रो भएकै कारण विविध खेती गर्दै आएका छौं । तालिमहरु पनि हामीले पाएका छौं । अहिले परिक्षणका रुपमा सूर्यमुखी लगाएका हौं ।’
तरकारीका विउ, प्लाष्टिक टनेल, उन्नत जातका मकै र गहुका विउहरु अनुदानमा पाउदै आएको र कुनै समस्या देखापरेमा प्राविधिक सेवा लिने गरेका छौं, गैरेले भनिन् । 

तिनाउ गाउँपालिका दोभानमा सूर्यमुखीको व्यवसायीक खेती सुरु गरेका चोपलाल गिरीले सूर्यमुखीको फूल फुलेको देखेर उत्पादन हुनेमा विश्वस्त रहेको बताए । उनी भन्छन्, बुबाले लगाएको फूलमा मौरीहरु रस चुस्दै छन् । जसले मह उत्पादनमा वृद्धि हुने देखिएको छ । फूलमा मन आनन्दित समेत हुने रहेछ । 

कृषि सेवा केन्द्रका प्राविधिक सन्तोष जिसीले यसवर्ष जिल्लामा सूर्यमुखीको तेल उत्पादन हुने बताए । कृषकको माग अनुसार सूर्यमुखीको हाईब्रिट जातको किट बाँडिएको बताए । जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले रामपुर, वगनाशकाली, तिनाउ, रम्भा र तानसेनका विभिन्न स्थानहरुमा किसानले सूर्यमुखीको पहिलो पटक व्यवसायीक खेती सुरु गरेको बताए । उनी भन्छन्, ‘कृषकहरुलाई अनुदानमा वीउ पनि उपलब्ध गराएका छौं । प्राविधिक सेवा प्रदान गरेका छौं । यसको राम्रो उत्पादन भए जिल्लाका अन्य स्थानहरुमा पनि यसको खेती विस्तार गरिने छ । मौरी चरन र तेलको लागि वितरण बिउबाट उत्पादन राम्रो हुने देखेपछि किसानमा हौसला मिलेको छ ।’

 

प्रकाशित: ८ जेष्ठ २०७४ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App