१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उच्चस्तरीय सुरक्षाको वाचा

ढाका – पछिल्लो समय इस्लामिक स्टेटका कट्टरपन्थीहरूको आक्रमणबाट सताइँदै आएको बंगलादेशले अगस्टदेखि सेप्टेम्बरसम्म अस्ट्रेलियाली क्रिकेट टोलीले आफ्नो देश भ्रमण गर्दा सुरक्षाको उच्चस्तरीय व्यवस्था गर्ने आयोजकहरूले बताएका छन् । 

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)का प्रमुख कार्यकारी निजामुद्दिन चौधरीले बुधबार अब अस्टे«लियाको बंगलादेश भ्रमण तय भएको बताए । ‘सामान्यतया राष्ट्रप्रमुखले बंगलादेश भ्रमण गर्दाको जस्तै सुरक्षा व्यवस्था अस्टे«लियाली क्रिकेट टिमका लागि पनि गरिनेछ,’ चौधरीले भने । 

प्रस्तावित दुई टेस्टको शृंखलाका लागि बंगलादेशको सुरक्षा योजना बुझ्न आएका क्रिकेट अस्टे«लियाका सुरक्षा प्रमुख सिन क्यारोलसामु चौधरीले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

सन् २००६ मा रिकी पोन्टिङको टोलीले भ्रमण गरेयता अस्टे«लियाले बंगलादेशमा टेस्ट खेलेको छैन । त्यसको ६ वर्ष अघि मात्र बंगलादेशले टेस्ट खेल्ने मान्यता प्राप्त गरेको थियो ।
 
अस्टे«लियाले अक्टोबर २०१५ मा बंगलादेशमा दुई टेस्ट खेल्ने तालिका थियो । तर इस्लामिक अतिवादी संगठनबाट आक्रमण हुन सक्ने भयका कारण अस्टे«लियाले भ्रमण रद्द गरेको थियो । गत वर्ष ढाकामा भएको यु–१९ विश्वकपमा पनि अस्टे«लियाले टोली पठाउन अस्वीकार गरेको थियो ।

तर बंगलादेशले गत वर्ष दुई टेस्टको शृंखलाका लागि इङ्ल्यान्डलाई आतिथ्य प्रदान गर्दा सफलतापूर्वक भ्रमण सम्पन्न गराएको थियो ।  शृंखला १–१ को बराबरीमा सकिएको थियो । 

‘हामी गत वर्ष इङ्ल्यान्डलाई जस्तै सुरक्षा अस्ट्रेलियाका लागि पनि व्यवस्था गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चौधरीले भने, ‘थप केही आवश्यकता देखिए पनि हामी त्यसका लागि तयार छौं । हामी अस्ट्रेलियाको भ्रमणका लागि सबै व्यवस्था गर्न तयार छौं ।’

ढाकाको एक क्याफेमा इस्लामिक स्टेटको आक्रमणमा परी २२ जनाको ज्यान गएको घटनाभन्दा दुई महिनापछि इङ्ल्यान्डले ढाकाको भ्रमण गर्दा पनि अवलोकनका लागि क्यारोल बंगलादेश आएका थिए । त्यो आक्रमणमा धेरैजसो विदेशी मारिएका थिए । 

मंगलबार बंगलादेशका गृहमन्त्रीसहित उच्च सुरक्षा अधिकारी र प्रहरी प्रमुखले क्यारोललाई सुरक्षा योजनाका बारेमा जानकारी गराएका थिए । 

‘अगस्टमा सफल भ्रमण होस् भन्नका लागि हामीले बंगलादेश प्रशासन र बिसिबीसँग सहकार्य गरिरहेका छौं,’ सुरक्षा योजनालाई ‘सन्तोषजनक’ बताएका क्यारोलले भने, ‘हामी बंगलादेश भ्रमण गर्ने विषयमा अत्यन्तै सकारात्मक छौं ।’

प्रकाशित: ४ जेष्ठ २०७४ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App