१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जाइ–इन विजयी

आफ्ना समर्थकलाई हात हल्लाउँदै दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जाइ–इन र उनकी श्रीमती किम जङ–सुक । तस्बिर : एपी

सोल – दक्षिण कोरियामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उदारवादी उम्मेदवार मुन जाइ–इनले जित हासिल गरेका छन् । 

मुनले कुल मतदानको ४१.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी कन्जरभेटिभ उम्मेदवार हङ जुन–पियोले २३.३ प्रतिशत मत प्राप्त गरेको बिबिसीले जनाएको छ । 

हाल विद्यमान दक्षिण कोरियाको नीति बदल्दै उत्तर कोरियासँग बृहत्त वार्ता गर्नुपर्ने धारणा मुनको रहेको छ । 

दक्षिण कोरियामा भ्रष्टाचार मुद्धामा भुतपूर्व राष्ट्रपति पार्क जेयुन हाइलाई पदमुक्त गरिएपछि राष्ट्रपतिको निर्वाचन समय अगावै गरिएको थियो । पार्कलाई आफ्नी निकटम साथीलाई विभिन्न कम्पनीसँग पैसा उठाउन अनुमति दिएको आरोपमा लागेको थियो । तर पार्कले भने आफूले त्यस्तो अनुमति नदिएको बताउँदै आएकी छिन् । 

दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मुनको सपथ ग्रहण बुधबारका लागि तय गरिएको बिबिसीले जनाएको छ । 
दक्षिण कोरियामा मुनको राष्ट्रपतिका रुपमा भएको उदयलाई उत्तर कोरियासँग सम्बन्ध विस्तारको आयामका रुपमा हेरिएको छ । मुनले उत्तर कोरियासँग लामो समयदेखि चल्दै आएको दुई पक्षीय टकरावलाई सकारात्मक सम्बन्धमा विस्तार गर्न चाहेको बताइएको छ । विगत दश वर्षदेखि दक्षिणले उत्तरप्रति गरेको नाकाबन्दीको ठिक विपरित उनको नीति उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने रहेको पनि बिबिसीले जनाएको छ । हालै अमेरिकाले दक्षिण कोरियामा गरेको प्रतिरक्षा प्रणालीको स्थापनाको पनि मुनले असन्तुष्टि व्यक्त गरेका छन् । 

सन् २००० ताका सरकारमा रहँदा दक्षिण कोरियासँग ‘सनसाइन’ नीति रहेको थियो । जसको अर्थ उत्तर कोरियासँग सहकार्य भन्ने थियो जुन उत्तर कोरियाले आणविक हतियार परीक्षण गरेसँगै तोडिएको थियो । 

मुनको विजयसँगै दक्षिण कोरियाको उत्तरका विषयमा भएका नीतिमा परिर्वतन आउने संकेत देखिएपनि उत्तर कोरियाली शासक किम जोङ उनसँग वार्ता गरेर उत्तरले संचालन गरिरहेको आणविक महत्वकांक्षा अन्त्य हुनेमा आशंका गरिएको बिबिसीले जनाएको छ । 

पछिल्ला आठ वर्ष सोल र वासिङ्टनले उत्तरलाई कडा नाकाबन्दी गरिरहेका छन् । जसलाई नव निर्वाचित राष्ट्रपतिले बदल्ने अपेक्षा गरिएको छ । 

को हुन् मुन ?

मुन उत्तर कोरियाबाट दक्षिण कोरियामा शरणार्थीका रुपमा आएका आमाबाबुका सन्तान हुन् । उनी विद्यार्थी रहँदा सन् १९७० को दशकमा सैनिक शासक पार्क चुङ–हीकाविरुद्धमा आन्दोलनको नेतृत्व गरेको आरोपमा जेल परेका थिए । 

मुन मानव अधिकारसम्बन्धी अधिवक्ता बन्नुभन्दा अघि दक्षिण कोरियाको विशेष बलमा पनि उनले काम गरेका थिए । उनले सन् २००९ मा भ्रष्टाचार गरेको आरोपमा पद त्याग गरेका उदारवादी राष्ट्रपति रोह मु–ह्युनको वरिष्ठ सल्लाहकारका रुपमा पनि कार्य गरेका थिए । 

मध्यपन्थी डेमोक्र्याटिक दलबाट प्रतिनिधित्व गर्ने मुन सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा पार्कसँग पराजित भएका थिए । उनी अपदस्थ राष्ट्रपति पार्कको भ्रष्टाचारसम्बन्धी मुद्धालाई अगाडि बढाउनेमा अगाडि रहेका थिए । 

मुनले मंगलबार मतदान गर्ने बेला आफू र आफ्नो पार्टीले मात्रै नभई समग्र दक्षिण कोरियाली जनता सरकारको परिर्वतनको तीब्र प्रतिक्षामा रहेको बताएका थिए ।  

के छन् उनका नीति?
आफ्ना पुर्ववर्ती सरकारले उत्तर कोरियाविरुद्ध गरिरहेको नाकाबन्दी तथा दबाबको ठिक विपरित मुनले उत्तरसँग बृहत्त वार्ताको वकालत गरिरहेका छन् । उनले आफू भन्दा अगाडिका कन्जरभेटिभ प्रशासनले उत्तर कोरियाको आणविक हतियार विकासको कार्यक्रम रोक्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् । 

कोरियन प्रायद्विपमा तनाव बढिरहेका बेला भएको दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनलाई नजिकबाट नियालिरहिएको छ । दक्षिण कोरियाली नागरिकका भने भ्रष्टाचार र राष्ट्रीय अर्थतन्त्रका मुद्धा प्राथमिकतामा रहेका छन् । मुनले दक्षिण कोरियामा ठूला घरानाबाट संचालनमा रहेका व्यवसायलाई सुधार गर्ने बताएका छन् । दक्षिण कोरियामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा १३ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । मंगलबारको निर्वाचनमा दक्षिण कोरियाको इतिहासमा सबैभन्दा बढी मतदाताले भाग लिएको बिबिसीले जनाएके छ । स्थानीय समय अनुसार बेलुकी आठ बजेसम्म मतदान भएको थियो । 

 

प्रकाशित: २७ वैशाख २०७४ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App