१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामुदायिक वनमा जथाभाबी कटान

ललितपुर-उपभोक्ता समितिहरुले विभिन्न बहानामा ललितपुरका सामुदायिक वनमा जथाभाबी रूख कटान गरेको पाइएको छ। ललितपुरको चापागाउँस्थित झेनमटार सामुदायिक वन, गोटीखेल सामुदायिक वन, ठूलादुर्लुङको गुमराङारा  सल्लाघारी सामुदायिक वन, वज्रबाराहीको शिरसिंगे मूलडोल सामुदायिक वन, सरस्वती सामुदायिक वन, सत्य सामुदायिक वन, लालीगुराँस सामुदायिक वन र शिरसिंगे ठूलो सामुदायिक वनलगायत जिल्लाका ठूला वनमा उपभोक्ता समिति र काठ तस्करको मिलोमतोमा जथाभाबी रूख कटान भएको हो।

अहिले गोटीखेलस्थित सामुदायिक वनमा तस्करहरुले जिल्ला वन कार्यालयको स्वीकृतिबिनै रूख कटान गरेका छन् । उनीहरुले गोटीखेल बजारनजिकै बेच्नका लागि सडकमा काठ थुपारेको गोटीखेलका स्थानीय सुरेश बजगाईंले जानकारी दिए । ‘यहाँका सामुदायिक वनमा बर्सेनी कटान हुन्छ,’ उनले भने, ‘तर सामुदायिक वनमा भएको जथाभाबी कटान रोक्न जिल्ला वन कार्यालयले  कुनै चासो दिएको छैन ।’ उनले सामुदायिक वनमा भएको अवैध कटानलाई रोक्न जिल्ला वन कार्यालयमा स्थानीयले बारम्बार पत्र पठाउँदा पनि कार्यालयले चासो नदिएको आरोप लगाए । वनमा रहेका साल, सल्लो, उत्तिसलगायत जातका रूख कटान भइरहेको छ ।

त्यस्तै, वज्रबाराहीको शिरसिंगे मूलडोल सामुदायिक वनमा पनि बेलाबेलामा कटान हुने गरेको चापागाउँका अजय देसारले जानकारी दिए । उनले हरेक वर्ष शिवरात्रीको बेला स्थानीयले नै वन फँडानी गर्ने र अरु बेला उपभोक्ता समिति र काठ तस्करले कटान गर्दै आएको बताए । ‘वज्रबाराहीको वनलाई चराचुरुंगीको बासका लागि उत्तम मानिन्छ,’ उनले भने, ‘तर पछिल्लो समय जथाभाबी वन फँडानी हुँदा चराचुरुंगी पनि अन्यत्रै सरेका छन् ।’ उनले यहाँका वनमा नेपालमा मात्रै पाइने काढेभ्याकुर, साइबेरियाबाट आउने चराहरु, लाटोकोसेरो, सारौं, टाटा नाग सर्पलगायत प्रजातिका जीव पाइने गरेको बताए । तर, वनको संरक्षण नहुँदा यीमध्ये काडेभ्याकुर, सारौं आदि यहाँ पाउन छाडेको उनको भनाइ छ । अहिले वज्रबाराही क्षेत्रमा वनको जग्गा अतिक्रमण हुन थालेको स्थानीयले बताए । स्थानीयका अनुसार जग्गा दलालले वन क्षेत्र ओगटेर धमाधम प्लटिङ थालेका छन् ।

जिल्ला वन कार्यालयका वन अधिकृत प्रेमकुमार साहले सामुदायिक वनमा भइरहेको कटानलाई रोक्न निगरानी बढाएको बताए । वन कार्यालयको टोलीले बेलाबेलामा दक्षिण भेगका वनको निरीक्षण गरिरहेको जानकारी दिए । ‘जिल्लाको दुर्गम क्षेत्रका वनमा पहिलापहिला काठ तस्करको उपस्थिति बाक्लै थियो,’ उनले भने, ‘तर अहिले घटेको छ, स्थानीयसँग मिलेर वनको संरक्षणमा लागिपरेका छौं ।’ साहले यसअघि दक्षिण ललितपुरका सामुदायिक वनमा जथाभाबी कटान गर्ने उपभोक्ता, जग्गा दलाल र काठ तस्करलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए । वन कार्यालयले यो वर्ष खाली र डढेलो लागेको सामुदायिक वनमा वृक्षरोपण गर्ने कार्ययोजना पनि अघि सारेको छ ।

वनमा डढेला

केही समययता जिल्लाका एक दर्जनभन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । गत चैतमा वज्रबाराही, गोदावरी र महालक्ष्मी नगरपालिकासहित दक्षिणी गाविस ठूलादुर्लुङ, भट्टेडाँडालगायतका क्षेत्रमा रहेका वनमा आगलागी भयो । त्यस्तै, वैशाखयता साबिकका चन्दनपुर, गोटीखेल, मानिखेल र देवीचौर गाविसमा रहेका जंगलमा डढेलो लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

चैत र वैशाख लागेपछि सल्किएको आगोले ठूलादुर्लुङको गुमराङ सल्लाघारी सामुदायिक वन तथा वज्रबाराहीको शिरसिंगे मूलडोल सामुदायिक वन र शिरसिंगे ठूलो सामुदायिक वनलाई सखाप पारेको छ । सल्लाभित्र खोटोमा प्रज्जवलनशील तŒव हुने भएकाले सल्लाका रूख हुने वनमा आगोको उच्च जोखिम हुन्छ । स्थानीयले वन क्षेत्रमा चुरोटका ठुटा जथाभाबी फाल्ने, वनमा बालेको आगो ननिभाई छाड्नेलगायतका प्रवृत्तिले वन क्षेत्रमा आगो सल्किने गरेको पाइएको छ । यो वर्ष गिम्दीको थुम्की सौमारा सामुदायिक वन, गोटीखेलको बतासे सामुदायिक वन, र लाप्टुङ सामुदायिक वनमा पनि चैत महिनामा डढेलो लागेको थियो ।

 

प्रकाशित: १८ वैशाख २०७४ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App