१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाले चीनको अपमान गरिरहेको छ’

वासिङ्टन – उत्तर कोरियाले आफ्नो प्रमुख साझेदार मुलुक चीन र चिनियाँ राष्ट्रपति सी जिनपिङको अपमान गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् ।

उत्तर कोरियाले एक महिनाभित्र तेस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेर चीन र उसका अति सम्मानित राष्ट्रपतिको अपमान गरेको जनाएका छन् । हुन त क्षेप्यास्त्र परीक्षण विफल भएको छ तरपनि राष्ट्रपति सीको अपमान गर्नु एकदमै नराम्रो भएको ट्रम्पले गरेको ट्विटमा लेखिएको छ । 

उत्तर कोरियाले गरेको असफल क्षेप्यास्त्र परीक्षण अघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गरिरहेको परमाणु तथा क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिएका थिए । 

कूटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताएका थिए। 
  
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गर्ने परमाणु परीक्षण कार्यक्रम अत्यन्तै जटिल विश्वव्यापी चिन्ताको विषय भएको बताएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई एक जना असल व्यक्तिको भएको प्रशंसा गर्दै उनले अटेर गर्ने आफ्नो छमेकीलाई सीले दबाब बढाइरहेको पनि जानकारी दिएका थिए ।  

अमेरिकी धम्की र दबाबका बीच शनिबार बिहानै उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण भने विफल भएको अमेरिका र दक्षिण कोरियाले बताएका छन् । उनीहरुका अनुसार क्षेप्यास्त्र प्रक्षेपण गरिएको केही समयपछि  नै विस्फोट भएको थियो।

अमेरिकी विदेशमन्त्री रेक्स टिर्सनले शुक्रबार मात्रै प्योङयाङको क्षेप्यास्त्र र पारमाणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले कुनै सहमति नगरेमा उत्पन्न हुने सम्भावित खतराबारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई चेतावनी दिएका थिए। 

उत्तर कोरियाले गरेको असफल क्षेप्यास्त्र परीक्षणको केही समय अगाडि उत्तरको प्रमुख साझेदार एंव छिमेकी देश चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरियासँग नयाँ चरणको वार्ता थाल्नुपर्नेमा जोड दिएका थिए भने रुसी उपविदेशमन्त्रीले सैन्य हस्तक्षेपको विकल्प पूर्णरुपमा अस्वीकार्य हुने बताएका थिए । हालै चिनियाँ राष्ट्रपति सीलाई अमेरिकामा स्वागत गरेका ट्रम्पले उत्तर कोरियाली मुद्दामा ठूलो प्रयास गरिरेको भन्दै उनको प्रशंसा गरेका थिए । त्यसअघि ट्रम्पले चीनले नसघाए पनि उत्तर कोरियाली खतरासँग अमेरिका एक्लै लड्ने बताएका थिए ।

लगातारको क्षेप्यास्त्र परीक्षणसहितका उत्तर कोरियाली पारमाणविक महत्वकांक्षालाई लिएर कोरियाली प्रायद्वीपमा पछिल्लो समय तनाव चुलिएको छ ।

प्रकाशित: १७ वैशाख २०७४ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App