१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रमुख भन्सार नाका वीरगन्जमा साउन १ देखि आधुनिक प्रयोगशाला

बाह्य मुलुकसँगको कुल व्यापारको आधाभन्दा बढी हिस्सा ओगट्ने यस भन्सारमा यस्तो प्रयोगशाला हुनुपर्ने निजी क्षेत्रको लामो समयदेखिको माग रहँदै आएको थियो। आफूहरुको माग पूरा हुने भएपछि उनीहरुमा उत्साह देखिएको छ।

‘भन्सारमा यस्तो ल्याबको व्यवस्था हुनु अनेक अर्थमा साकारात्मक छ, मुख्य कुरा हो, नमुना परीक्षण गराएर ल्याउने प्रक्रियमा समय खेर जाने गरेको थियो, त्यसबाट खर्च बढिरहेको थियो, परीक्षण गरेर भित्र्याइने वस्तुको लागत निश्चित रुपमा घट्ने छ,’ भन्सार क्लियरिङ एजेन्ट श्यामबाबु पटेलले भने, ‘आयातमा सहज भएर ब्यापारीलाई र व्यापार सहजीकरणमा भन्सार कार्यालयलाई यसले सहयोग गर्ने छ।’

भन्सार प्रमुख पोखरेलले पनि प्रयोगशाला सुरु भएपछि आयातकर्ता व्यापारीले तुरुन्तै लाभ महसुस गर्ने सक्ने बताए। वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार यो नाका पछिल्लो मधेश आन्दोलनको समयमा एक सय ३४ दिन अवरुद्ध हुँदा पनि आर्थिक वर्ष २०७२÷०७३ मा ३ हजार चार सय वटा नमुना परीक्षणको काठमाडौं पठाउनु परेको थियो। ‘दैनिक १५ देखि २० वटासम्म नमुना परीक्षण गर्नुपर्ने किसिमका मालसामान यस नाका भित्रिन्छ। जसको नमुना परीक्षण गरेर भन्सार गर्नुपर्ने हुन्छ। नमुनाको जाँच रिर्पोट आइपुग्न चार दिन जसरी पनि लागिहाल्छ, अब त्यो समय जोगिने भयो,’ पोखरेलले भने, ‘त्यसभित्र पर्ने भाडा र बिलम्ब लागत पनि जोगिने भयो। परीक्षण गर्नुपर्ने माल सामान पनि अब भन्सारमा आएकै दिन छुटेर जाने भो।’

वीरगन्ज भन्सारमा प्रयोगशाला हुनुपर्ने कुरा बारम्बार उठाउँदै आएको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडिया यसबाट हौसिएका छन्। ‘हामीले लिखित रुपमै भन्सारसँग प्रयोगशाला स्थापनाको माग गरेका थियौं, यो स्थापित हुनु सुखद कुरा हो,’ केडियाले भने, ‘एकै थलोमा जाँच÷परीक्षण हुनुबाट धेरै फाइदा हुन्छ।’  

प्रयोगशालाले तोकिएको केही सामानबाहेकको परीक्षण गर्ने छ। पोखरेलका अनुसार एक जना अधिकृत केमिस्ट (रसायनशास्त्री) र अर्का नायब सुब्बा स्तरको केमिस्ट राखिएको यस प्रयोगशालाले केमिकल (रसायन), खानेकुरा, खानेकुराको घटक, औषधिलगायतका कुराको परीक्षण गर्ने छ।

विभिन्न ऐनले निर्दिष्ट गरेका सामानहरुको परीक्षण भने तोकिएकै ठाउँमा गर्नुपर्ने भएको हुनाले त्यसबाहेकका आवश्यक सबै किसिमको सामानको परीक्षण यहाँ गर्न सकिने भएको छ। फलामे डण्डी र सिमन्ट जस्ता निर्माण सामग्री, रुखबिरुवा र पशुपंक्षी लगायतको परीक्षण साबिकै अनुसार हुने उनले बताए।  

 

प्रकाशित: ३० असार २०७३ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App