१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुर-कलंकी रूटमा जान मान्दैनन चालक

ललितपुर- राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको परीक्षा दिन भक्तपुर सुडालकी सबिना बानियाँ बिहान ७:३० बजे घरबाट निस्कन्छिन्। कीर्तिपुर जाने बस समाउन उनलाई च्यामासिंह पुग्नुपर्छ। तर, बिहानै हतारिएर हिँडेकी बानियाँले कहिल्यै पनि समयमा बस पाउँदिनन्। दैनिक एक घण्टा कुरेर मात्र बस चढ्नु परेको उनी बताउँछिन्। ‘परीक्षा छुट्ला भनेर बिहानै घरबाट हिँडि्यो, बस कुर्दै एक घण्टा जान्छ,' उनी भन्छिन्, ‘पहिला ५/५ मिनेटमा छुट्ने बस हिजोआज त एक घण्टा कुर्दा पनि आउँदैन।' 

बस आउने अन्तराल लम्बिएको पीडा भोग्ने सबिनाजस्ता धेरै छन्। उनीसँगै पढ्ने कमलविनायककी अनिता श्रेष्ठको दिक्दारी पनि फरक छैन। बस नपाइएला भन्ने त्रासले १२ बजेदेखि सुरु हुने परीक्षाका लागि बिहान आठ बजे नै हिँड्नु परेको उनी बताउँछिन्।

बिहान आठ बजेको बसले ११ः३० मा मात्र गन्तव्यमा पुर्‍याउने गर्छ। ‘आइतबार बल्खुमा भेटिएकी श्रेष्ठले निन्याउरो अनुहार लाउँदै भनिन्, ‘ट्राफिक जामको समस्या त पहिलादेखिकै हो, अहिले बस नै नपाइने तनाव थपिएको छ।' घरदेखि गन्तव्यसम्म ओहोरदोहोर गर्न उनको दैनिक ६ घन्टा खेर जाने गरेको छ।

भक्तपुर च्यामासिंहबाट कलंकी जाने बस कुर्नेको भीड लाग्छ। पहिला ५/५ मिनेटमा छुट्ने बस हिजोआज एक घण्टा बितिसक्दा पनि नआएपछि भक्तपुरवासी मर्कामा पर्न थालेका छन्। मध्यपुर बस व्यवसायी संघले ५/५ मिनेटमा छुट्नेगरी ४० वटा बस सञ्चालन गर्दै आएको छ। तर, हिजोआज कोटेश्वर–कंलकी रुटमा चालक जानै मान्दैनन्। जाम र धुलोका कारण चालकले उक्त रुटमा बस चलाउन नमानेको संघले जनाएको छ। ‘रुटमा दैनिक ४० वटा बस छन्,' संघका अध्यक्ष प्रकाश डंगोलले भने, ‘चालकले उक्त रुटमा जान नमानेकाले सबै बस सञ्चालन गर्न सकिएको छैन।' यात्रुबाट चालकले कलंकी रूटमा जान नमान्ने गरेको गुनासो आएपछि केही चालकलाई कारवाही पनि गरिएको उनले बताए।

चालकले भने उक्त रुटमा बस गुडाउन निकै गाह्रो भएको बताउँछन्। ‘सातदोबाटोको जाम र कंलकी प्रहरीले साह्रै दुःख दिन्छ,’ भक्तपुर–कलंकी रूटका चालक धु्रव श्रेष्ठले भने, ‘गल्ती नगरे पनि प्रहरीले हजारदेखि ५ सयसम्मको चिट काट्छन्, त्यसैले उक्त रुटमा बस चलाउन जाँगर चल्दैन।' चालकले त्यस रूटमा बस चलाउनुको साटो थन्काउन थालेपछि त्यसको प्रत्यक्ष मारमा स्थानीय परेका छन् ।

ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेथुले बन्दै गरेको सडकमा चालकले बस कुदाउँदा धेरै धुलो उड्ने गरेको बताउँछन्।

बस कुर्दै जान्छ ६ घण्टा

सामान्यतया भक्तपुरबाट हिँडेको बसलाई कलंकी पुग्न ४० देखि ४५ मिनेट लाग्छ। तर, हिजोआज भक्तपुर च्यामसिंहबाट कलंकी जान बिहान ८ बजे प्रस्थान गरेको बस ११ बजेभन्दा पहिले गन्तव्यमा पुग्दैन। समयमै गन्तव्यमा बस नपुग्दाका असर स्कुलकलेजका विद्यार्थी तथा कर्मचारीमा पर्ने गरेको छ।

भक्तपुर कलंकी रूट मात्र होइन हिजोआज उपत्यकाका धेरै सडकमा हुने सवारी जामले सर्वसाधारण आजित छन्। आइतबारै ललितपुरको सातदोबाटो चोकमा भेटिएका सुमन चौधरी उपत्यकाको जामबारे भन्छन्, ‘उपत्यकामा सवारी चढ्नुभन्दा पैदल हिँडे गन्तव्यमा छिटो पुगिन्छ। कहिलेकाहीँ अप्ठेरो परेर बस चढ्यो, कतिबेला गन्तव्यमा पुगिन्छ कुनै टुंगो हुँदैन।'

उपत्यकामा हुने जाम समाधान गर्ने योजना सडक विभाग र ट्राफिक प्रहरीसँग छैन। उपयुक्त ठाउँमा फुटपाथ नहुनु, हिले र खाल्डाखुल्डी सडक, बस स्टप नहुनु नै उपत्यकाका सडकमा जाम हुने मुख्य कारण भएको ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज हाछेथु बताउँछन्। उनी भन्छन्, ‘उपत्यकाको जाम तत्काल समाधान गर्नसक्ने अवस्था छैन। सडकको क्षेत्रफल यथावत छ । सवारीसाधनको संख्या ह्वात्तै बढेकोे छ।'

त्यस्तै, विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी समयमै कार्यालय पुग्न पनि ट्राफिक जामले कठिन बनाएको गुनासो गर्छन्। राष्ट्रिय पुनर्र्निर्माण प्राधिकरणमा कार्यरत कीर्तिपुरकी सन्ध्या भट्टराईले त्रिपुरेश्वरमा सधैं कम्तीमा पनि आधा घन्टा जाममा फस्नुपर्ने गुनासो गरिन््।

चक्रपथ सडक सुधार आयोजनाले कलंकीदेखि कोटेश्वरसम्म सडक विस्तार गर्न लागेकाले अहिले सबैभन्दा बढी ट्राफिक जाम चक्रपथको कोटेश्वर–सातदोबाटो खण्डमा हुने गरेको छ। विस्तार भइरहेको चक्रपथको त्यस खण्डमा थुप्रेको माटोले पानी पर्दा सडक हिलाम्मे हुने भएकाले पनि जाम हुने ट्राफिक प्रहरी बताउँछन्।

प्रकाशित: ४ वैशाख २०७४ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App