१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुरु भयो मतदाता शिक्षा तालिम

पाल्पा- जिल्ला निर्वाचन कार्यालयले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि सामाजिक परिचालक तथा स्वयंसेवीकाहरुलाई मतदाता शिक्षा तालिम प्रदान गरेको छ। कार्यालयले एक सय १८ वटा मतदान स्थल र दुई सय ६ वटा मतदान केन्द्रको मतदाता शिक्षा सञ्चालन गरेको हो।

मतदान गर्ने तरिका, राजनीतिक दलहरुको चुनाव चिन्ह, स्वतन्त्र उम्मेद्वारहरुको निर्वाचन चिन्ह, सही तरिकाबाट मतदान गर्ने तरिका, मतदाताले मतदान गर्दा बिग्रने अवस्था, मतदाताले प्रमुखदेखि वडा सदस्य सम्मलाई मतदान गर्ने सही तरिका, मतपत्र पट्याउने र राख्ने तरिका बारेमा तालिम प्रदान गरिएको सूचना अधिकारी थमनबहादुर सारुले बताए । मतदाताहरुलाई मतदाता शिक्षाका सहजकर्ताहरुले दुई चरणमा गाउँपालिकाका विभिन्न वडा अन्तर्गतका टोलहरुमा पुगेर मतदान सम्बन्धि शिक्षा प्रदान गर्नेछन् । वैशाख ३ गतेसम्म मतदाता शिक्षा सहजकर्ताहरुका लागि तालिम सञ्चालन हुनेछ । त्यस्तपछि मतदान अधिकृतहरुको लागि तालिम सञ्चालन गर्ने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयले दुई स्थानीय तहका सामाजिक परिचालक र स्वयंसेविकाहरुलाई एकैथलोमा जुटाएर मतदाता शिक्षा प्रदान गरेको हो । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको लागि तानसेनमा, रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको लागि रामपुरमा, रम्भा पूर्वखोला गाउँपालिकाको लागि ताहुँमा, तिनाउँ र माथागढी गाउँपालिकाका लागि सुन्दरगाउँमा, रैनादैवी छहरा र रिब्दीकोट गाउँपालिकाको लागि पालुङ्गमैनादीमा मतदाता शिक्षा तालिम सञ्चालन भएको कार्यालयका सूचना अधिकारी थमनबहादुर सारुले बताए ।

पाल्पामा ७६ हजार ५ सय ६७ पुरुष, ८५ हजार ६ सय ८५ महिला र १ तेश्रो लिङ्गी गरी १ लाख ६२ हजार २ सय ५३ मतदाता रहेका छन् । निर्वाचनमा सहभागिताका लागि ११ दलले दर्ता गराएका छन् । ८ गाउँपालिका र २ नगरपालिकामा ४ सय २५ निर्वाचित जनप्रतिनिधी रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रकाशित: २ वैशाख २०७४ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App