१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भोटेकोसीमा ७६ घर बगे, त्रास कायमै

सिन्धुपाल्चोक- भोटेकोसी नदीमा पानीको सतह नघट्दा सीमा नाका तातोपानीका बासिन्दा एक सातादेखि त्रासमै छन्। नदी कटान नरोकिँदा त्रास बढेको छ। भिरबाट निरन्तर पहिरो खसिरहेकै छ। पहिरो र नदी कटानले घर भत्कने क्रम नरोकिएको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताए। उनका अनुसार बुधबारसम्म किनारमा रहेका ७६ घर भोटेकोसीले बगाएको छ। 'लार्चादेखि लिपिङसम्मका अधिक घर नदी कटान र चट्टाने पहिरोको उच्च जोखिममा छन्,' उनले भने। लिपिङका मात्र ४३ घर नदीले बगाएको उनले जनाए।

 बर्खाको सिजन भएकाले वर्षा भइरहेको छ। जिल्लामा तातोपानी क्षेत्र अघिपछि पनि अन्यत्रभन्दा बढी पानी परिरहने क्षेत्र हो। खासामा त झन् हरेक मध्याह्नपछि पानी परिरहेको छ। तातोपानी क्षेत्रमा साउन, भदौमा बढी बाढीपहिरो निम्तिन्छ। यस वर्ष त्यसअघि नै बाढीपहिरो आएपछि स्थानीयमा त्रास बढेको छ।  'चिनियाँ प्रहरीले थप बाढी आउन सक्ने भन्दै यहाँ नबस्न भनेका छन्,' तातोपानीका नोगेन शेर्पाले भने।

 १० किलोस्थित भोटेकोसी आयोजनाको बाँधले त्यहाँदेखि तातोपानीसम्मका १ सय ६८ घर जोखिममा परेको भन्दै स्थानीयले बुधबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन्। उनीहरूले ढुंगा, ग्रेगरले भरिएको बाँध तत्काल सफा गर्न माग गरेका छन्। गाविसका पूर्वअध्यक्ष अमृतकुमार खड्काले बाँधले उचाइ लिँदा नदीले धार परिवर्तन गरी सडक र बस्ती बगाउन थालेको बताए।

 शेर्पा गत मंगलबार राति भोटेकोसीमा आएको बाढी २०३८ सालको भन्दा तीन गुणा सानो भएको सम्झन्छन्। 'त्यति बेलाको बाढीले मितेरी पुल बगाएको थियो। पूरै सडक र बजार पनि बगाएको थियो,' उनले सम्झे, 'तर त्यति बेलाको बाढी साउन/भदौमा आएको थियो।' पछिल्लो बाढीले तातोपानीलाई चीनले सडक खुलाउनुभन्दा अघि २०२२ सालतिरको अवस्थामा पुर्‍याएको अनुभव उनी सुनाउँछन्।

मितेरी पुल गेटमा ताला

चीन छिर्ने मितेरी पुलमा ताला झुन्डिएको छ। गेट बन्द गरेर चिनियाँ सुरक्षाकर्मी त्यहाँबाट हिँडेका छन्। बाढीबाट मितेरी पुल र प्रवेशद्वार क्षेत्र पनि क्षतिग्रस्त छ। बाढीले जाङ्बु पोर्ट (चिनियाँको भन्सार, अध्यागमन र सुरक्षासहितको एकीकृत कार्यालय) मा नोक्सान पुर्‍याएको छ। जमिनबाट उठाइएको जगको पिलर भाँचिएर भोटेकोसी बगरमा छरिएका छन्। त्यहाँ रहेका चिनियाँ सुरक्षाकर्मीका व्यारेक र कार्यालयसमेत क्षतिग्रस्त छन्। व्यारेकमा बाढी पसेपछि साइरन बजाउँदै उनीहरू खासातिर भागेका थिए। त्यही साइरनले सूचना दिँदा लिपिङका स्थानीय बाँच्न सफल भएका थिए। साइरनको आवाजसँगै त्यहाँ बस्ने १५ परिवार भागेका थिए। प्रवेशद्वारदेखि चिनियाँ सुपरमार्केट (नेपालीले किनमेल गर्ने बजार) बीचको सडक पनि भोटेकोसीले कटान गरेको छ।

 साना–साना समूहमा फौज सुरक्षित स्थलमा पठाउँदै सबै चिनियाँ सुरक्षाकर्मीले मंगलबारसम्म पुल क्षेत्र छाडेका हुन्। त्यसअघि उनीहरूले नेपाली मजदुरलाई बोलाएर ब्यारेकबाट सामान निकाल्न र गाडीमा लोड गर्न लगाएका थिए।

प्रकाशित: ३० असार २०७३ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App