१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्टान छल्दै पहिरोको यात्रा (फोटो फिचर)

तातोपानी-भोटेकोसी नदी सतह नघट्दा तलबाट सडक कटान तीव्र छ। माथि भिरबाट लगातार चट्टाने पहिरो खसिरहेको छ। दुबै प्रकोपले सडक क्षतविक्षत छ। सवारी आवागमन ठप्प छ। स्थानीय ज्यान जोखिममा राखेर पैदल हिँडडुल गर्न बाध्य छन्।

                असार २१ गते तिब्बतबाट आएको बाढीले चीन जोड्ने उत्तरी तातोपानी नाकाको लिपिङदेखि बाह्रविसेसम्म २६ किमी सडक ठाउँ–ठाउँमा टुटेको छ । माथिबाट ठूलठुला पहिरो झरिरहेकै छ । स्थानीय अक्करबाट खस्ने चट्टान छल्दै पहिरोको बाटो हिँड्न बाध्य छन् ।

                यो सडक खण्डको जम्बु, नयाँ पुल, चाकु, डाक्लाङ, नौ किलो, तातोपानी, कोदारी र लिपिङसम्मै सडक बाढीले तानेर टुटाएको छ । तिनै ठाउँमा अक्करबाट चट्टाने पहिरो झरिरहेका छन् । नदी कटानले पैदल हिँडेनेधरी बाटो छैन। पहिरोमा चट्टानबाट जोगिन बटुवा दगुर्छन् । बुढाबुढी र केटाकेटीलाई पहिरोको जंघार तर्न धौ छ।

                बाह्रविसे माथिका गाउँ नाकाबन्दीमा छन् । सडक, बिजुली र सञ्चार सेवाबाट सम्पर्क बिच्छेद छ। रसदपानी किनमेल र ओखतीमूलोका लागि उनीहरुलाई बाह्रविसे झर्नुको बिकल्प छैन । जम्बुबाट अघि बढ्दा बटुवाको लावालस्कर भेट्न सकिन्छ । केटाकेटी च्यापेर र पोकापन्तुरा बोकेरी उनीहरु कष्टकर यात्रा गरिरहेका भेटिन्छन्।

                कटानले राजमार्ग क्षेत्रका बस्ती जोखिममा परेपछि गाउँबाट विस्थापित हुनेको लहर छ। उनीहरु उसैगरी बन्दोबस्तीका सामान चुईचुईती बोकेर जोखिमसाथ बाह्रविसे झरिरहेकै छन् । घर जोखिम परेपछि स्थानीयलाई सरसमान जोगाउने चटारो छ। त्यस्ता सामान पिठ्युँमा बोकेर भरिया गन्तव्य हिँडिरहेका हुन्छन् । बजारबाट किनमेलका तेल, मसला, नुनको पोको बोकेर स्थानीय त्रासैत्रासमा घर फर्कन्छन् । शरीर कमाउँदै बटुवाहरु पहिरो क्षेत्रमा राम नाम जप्छन्, भगावान पुकार्छन्।

                लार्चादेखि बाह्रविसेसम्म कटानबाट जागिएका चार खण्डमा बलेरो, जीप चल्छन् । बाह्रविसेसम्म पुग्दा चारैवटा गाडी फेर्नुपर्छ । बलेरो र जीपले झण्डै पाँच किलोमिटर बाटो छोट्याउँदा यात्रा केही सहज बनाए पनि महंगो भाडा तिर्नुपर्छ। चालक एकै खण्डको भाडा २ सय रुपैयाँसम्म असुल्छन् । अघिपछि ८० रुपैयाँ बसभाडा कायम यसखण्डमा ८ सय तिर्दा पनि बाह्रविसे पुग्न मुश्किल छ। घण्टै पैदल हिँड्नु त छँदैछ । तिर्ने हैसियत हुने बलेरो चढ्छन्, नहुने पैदलै गन्तव्य समाउँछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App