१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साझाले अझै पाएन भक्तपुर जाने इजाजत

काठमाडौं— साझा यातायातले भक्तपुरमा गुड्ने इजाजत अझै पाउन सकेको छैन। साझाले गत फागुन ३० गते यातायात व्यवस्था विभागलाई पत्र काटेर इजाजतका लागि अनुमति मागे पनि भौतिक पूर्वाधार  तथा यातायात मन्त्रालय र विभाग कर्मचारीको बेवास्ताले इजाजत पाउन नसकेको हो।
 
साझा यातायातले भक्तपुरमा बस सञ्चालन गर्न रुट परमिटका लागि विभागमा निवेदन दर्ता गरेको तीन साता बितिसकेको छ। 
साझा यातायातका कार्यवाहक कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले यातयात व्यवसायीको दवाबकै कारणले साझालाई भक्तपुरमा गुड्ने इजाजत अनुमति नदिइएको बताए। स्थानीयले साझा बसको माग गरेकाले भक्तपुर क्षेत्रमा रूट परमिटका लागि विभागसँग पत्राचार गरेको साझाले जनाएको छ।
 
पाण्डेले भक्तपुरका जनताले साझा बस माग गरेकाले सेवा विस्तार गर्न लागेको बताए। उनले बस व्यवसायीले भक्पुर प्रवेश गर्न नदिने रणनीति बनाएको उल्लेख गरे। साझाले पहिलो चरणमा कलंकी–कोटेश्वर रुटमा चलेका २० वटा सवारीसाधनलाई भक्तपुरसम्म विस्तार गर्न लागेको हो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने साझालाई भक्तपुर क्षेत्रमा रुट परमिट दिन नहुने भन्दै विरोध गर्दै आएको छ। महासंघका बाग्मती अञ्चल संयोजक धर्मराज रिजालले साझा बसलाई जुनसुकै रुटमा चल्न नदिने बताए।
 
यातायात व्यवस्था कार्यालय सानोठूला सवारी कार्यालयका प्रमुख बसन्त अधिकारीले साझालाई रुट इजाजत दिने विषयमा अध्ययन भइरहेको बताए। उनले भने, ‘प्रक्रिया मिल्यो भने साझलाई भक्तपुर छिर्न निषेध गर्दैनौं।’
 
ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार गत चैत १७ गते यातायात व्यवस्थापन समितिको बैठकमा साझालाई भक्तपुरमा गुुड्न दिने विषयमा सहमति भएको थियो। ‘चैत १७ गते व्यवसायी र यातायात विभागका कर्मचारीको बसेको बैठकमा सो विषयलाई १० दिनमा टुंगो लगाउने गरी छलफल भएको छ’, उनले भने। उनका अनुसार चैत २७ गते उक्त विषयको टुंगो लाग्ने छ। 
 
साझा यातायातले भक्तपुरमा बस सञ्चालन गर्न रुट परमिटका लागि विभागमा निवेदन दर्ता गरेको तीन साता बितिसकेको छ। 
 
सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार यातायात व्यवसायीले विभागको अनुमति लिएर जुनसुकै स्थानमा सवारी चलाउन पाउँछन्। स्थानीय व्यवसायीको दादागिरी र मन्त्रालयको दवाब सामु विभाग अधिकारी मौन छन्। यातायात व्यवस्था नियमावलीमा ‘इजाजतपत्रको अनुमति लिने सवारीधनी वा व्यवस्थापकले तोकिएको दस्तुरसहित दरखास्त हाले सम्बन्धित कार्यालयले जाँचबुझ गरी इजाजतपत्र दिनुपर्ने प्रावधान छ। 
 
उपत्यकामा हाल साझाले ४२ वटा बस सञ्चालन गरिरहेको छ। उपत्यकाबाहिर काठमाडौं–वीरगन्ज र काठमाडौं–बाग्लुङ रुटमा चारवटा गरी ४६ वटा बस सञ्चालनमा छन्।

प्रकाशित: २३ चैत्र २०७३ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App