भोटेकोसी बाढी

रोकिएको छैन ‘त्रास’ को पहिरो

बुधबार, २९ असार २०७३, ०६ : २७ टेकनारायण भट्टराई\ध्रुव दंगाल

तातोपानी (सिन्धुपाल्चोक)-धन्नले बाँचे उनीहरू तर अझै मुहारमा चमक फर्किएको छैन । हताशा, त्रास र थकान मात्र देखिन्छ । तलबाट भोटेकोसी कटान, माथि अक्करबाट झरिरहेको चट्टाने पहाड । त्यसमाथि झरी बर्संदा पीडाले निचोरिन्छ उनीहरूको मन ।भोटेकोसी बाढीले निम्त्याएको विनाशलीलाको छैटौं दिन बाह्रबिसे बजार छोडेर खुर्सानीबारी हुँदै लिपिङ बजारको मितेरी पुल पुग्दा उराठलाग्दो सन्नाटा र कारुणिक दृश्यबाहेक केही देखिएन । बाढीले खोस्रिएका भित्ता समाउँदै, अक्करबाट खसिरहेका चट्टान छल्दै पार गरिएको यो यात्रा कम्ती त्रासद रहेन ।

सडक कुनामा पहाडमा टाँसिएका घर चट्टानले थिचिएका छन् । बाढीले बगाएका घरसंरचना बगरमा यत्रतत्र छरिएका छन् । ठाउँठाउँमा सडकको नामोनिसानै छैन । कतै धस्सिएको सडक चिराचिरा छ । केही घरसंरचना जमिनमा झुन्डिरहेछन् त बिजुलीका खम्बा र तार जताततै लत्रिएका  । नदी कटान र पहिरो जोखिममा रहेका घरबाट सामान निकाल्ने क्रम जारी छ । बचेखुचेको सडकमा झिटीझ्याम्टा र पोकापन्तुरा यत्रतत्र छन् ।

नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी आउजाउ गर्ने अरनिको राजमार्गको बाह्रबिसे–लिपिङ २६ किमी खण्डमा यस्तै मात्र देखिन्छ अहिले । पुरानो व्यापारिक नाका बाह्रबिसेदेखि नै सुरु हुन्छ, त्रासद दृश्यावली । बीचमा अनगिन्ती खहरे मिसिँदा झन् ठूलो हुने भोटेकोसी तटीय क्षेत्रका दुवैतर्फका घरतिर     सोझिँदै छ । नदी नियन्त्रण गर्न लगाइएको पर्खाल र तारजाली बगाउँदै भोटेकोसीले कमलो माटो कटान गरेर घरका जग हिर्काइरहेकै छ ।

राजमार्गको जम्बुबाट अघि बढ्नेबित्तिकै सडक हराउन थाल्छ । नदीले ठाउँ–ठाउँमा सडक कटान गरिरहेकै छ । पैदल बाटोधरि बाँकी छैन । तलमाथि दुवैतिर चट्टाने पहिरो खसिरहेकै छन् । जति माथि उक्लियो विनाश उति धेरै थपिँदै जान्छ । केटाकेटी र महिला रुवाबासी गर्दै भागिरहेका भेटिन्छन् । लत्ताकपडा, सुन, गरगहना जोगाउन चुइँचुइँती भारी बोकेर बाह्रबिसेतिर झरिरहेको लावालस्कर राजमार्गैभरि देखिन्छ ।
चाकु र नयाँ पुलबीचको पहिरोमा भेटिए, झिर्पुका निमा शेर्पा । टाउकोमा बडेमानको भारी छ । ‘घर भोटकोसीले तान्ने भइहाल्यो,’ निधारबाट तुरुक्क पसिना खसाल्दै उनले भने, ‘सामान मात्रै भए पनि जोगाउन पाए हुन्थ्यो ।’ आठ भरियालाई भारी बोकाएर बाह्रबिसे झर्दै रहेछन् उनी । ‘त्यहाँ आफन्त छन्,’ भारी बोकेर झन्डै दुई घन्टा हिँडिसकेका उनले सुस्केरा हाल्दै भने, ‘भोटेकोसीले बाँच्न देलाजस्तो छैन !’

 नदीकिनारका जम्बु, बसेरी, नयाँ पुल, चाकु, हिन्दी र खोकुन्डोल बजारमा उस्तै सन्नाटा छ । कतै जाने ठाउँ नभएका स्थानीय भिरबाट खसिरहेका चट्टान छल्दै त्यहीँ बसिरहेका छन् । पसल, होटल खोलेर दिउँसो बटुवालाई चिया, खाजा बेच्ने उनीहरू राति सुत्न भने अन्यत्र जान्छन् ।
 नदी कटानले लार्चानजिक निर्माणाधीन सुक्खा बन्दरगाह उच्च जोखिममा छ । जमिन काटेर बगिरहेको लेदो माटो र ग्रेगरले खोकुन्डोल र हिन्दी बजार तान्दै छ । लार्चा पुल कटेपछि लिपिङसम्म झन्डै ११ किमी क्षेत्रमा विनाशको चरम रुप देख्न सकिन्छ । लार्चामा निरन्तर पहिरो खसिरहेको छ । ठीक त्यहीँनिर नदीले सडक कटान गरिरहेको छ । बेला–बेलामा माथिबाट ठूल्ठूला चट्टान खस्छन् । बम विस्फोट भएको आवाजमा त्यो नदीमा बज्रँदा छाल निकै माथि आइपुग्छ ।

 ज्यान बचाउन भाग्दै गरेका पासाङबुटी शेर्पा दम्पतीलाई त्यही पहिरो र चट्टानले अघि बढ्न दिएन । उनीहरू १० किलोमै रोकिए । ‘अब भागेर जाऊँ, कुन ठाउँ जाऊँ ?’ फुल्पिङकट्टीस्थित माइतीमा आश्रय लिन हिँडेकी पासाङबुटी हातगोडा कमाउँदै डाँको छोडेर रुन थालिन् । तातोपानीमा रहेका उनीहरूका दुई घर भूकम्पले ढाल्यो । त्यसपछि १० किलोमा डेरा लिएका उनीहरू मजदुरी गरी पालिँदै आएका थिए ।
 
झन्डै १५ सय कन्टेनर अटाउने १० किलोस्थित पार्क बगरमा परिणत भएको छ । त्यहाँ विशाल पहिरो खसेको छ । केही घर क्षतिग्रस्त अवस्थामा छन् । त्यहीँ रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी आयोजनाको बाँध क्षतिग्रस्त छ । बाँधमाथि ठूल्ठूला चट्टान थुप्रिएका छन् । नदीले राजमार्ग कटान गर्दै पहिरो निम्त्याएपछि सडकमाथिका घर बग्ने अवस्थामा छन् । 

भूकम्पले क्षतिग्रस्त घरमा बसोबास भने थिएन । खाली ठाउँमा बनाएको टहरो भत्काएर जतिसक्दो छिटो भाग्ने हतारोमा थिए स्थानीय । ‘जमिन लच्किसक्यो । सामान निकाल्न पनि भ्याइएलाजस्तो छैन,’ टहरो भत्काउँदै गरेका धनबहादुर तामाङले भने । उनका छिमेकी पनि त्रासैत्रासमा टहरा भत्काइरहेका थिए ।

जग खोतलिएका १० किलोका केही घर स्थानीयले खाली गराइसकेका छन् । सडक किनारमा थुप्रिएका सामान सुरक्षित स्थानमा लैजान जुटिरहेछन् उनीहरू । मुख्य तातोपानी बजार छिर्ने सडक नदीले तान्दा आवागमन बन्द छ । स्थानीयले घर छाडेर हिँडेपछि बजार सुनसान छ ।  

पहिला मानसरोवर बोर्डिङ स्कुल रहेको ठाउँमा अहिले नदी बगिरहेको छ । तातोपानी निमावि, स्वाथ्यचौकी कटानमा परिरहेकै छन् । तातोपानी धाराको आधा संरचना नदीले बगाइसकेको छ । त्यहाँबाट केही अघि बढ्दा फेरि सडक टुटेको छ । सडक नदीले तान्दा आठ घर बगेका छन् । भिरमा अड्केका दुई घरबाट स्थानीय ज्यानको बाजी थापेर सामान निकालिरहेका थिए ।

कोदारीदेखि माथिको बजार झन्डै–झन्डै उखेलिएको छ । कोदारी बजार प्रवेशस्थलमै नदीले तान्दा ठूलो विनाश निम्तिएको छ । निरन्तर कटानले सडकमाथिको नयाँ बस्ती खोतलिँदै छ । आइतबार दिउँसो बग्न ठिक्क परेका घरबाट पुरुषहरू सामान निकाल्दै थिए ।  महिलाहरू रुवाबासी गरिरहेका थिए ।
गाँस न बास
तातोपानी अघिपछि पनि पानी परिरहने क्षेत्र हो । खासामा त झन् हरेक दिनजसो वर्षा हुन्छ । त्यसैले भोटेकोसी सतह घट्नुको सट्टा अझै बढिरहेको छ । तातोपानी क्षेत्रमा प्रायः साउन, भदौमा बाढी र पहिरो निम्तिन्छ । यसपालि अगाडि नै निम्तिएको विपत्तिले स्थानीय थप त्रस्त छन् । ‘चिनियाँ प्रहरीले थप बाढी आउन सक्ने भन्दै यहाँ नबस्न आग्रह गरेका छन्,’ नोगेनले भने । उनका अनुसार खोंच भएर बग्ने भोटेकोसीले बाढीका बेला ६ मिटर उचाइ लिएको थियो ।

बाढीपछि काठमाडौंमा घर हुनेहरू उतै लागिसकेका छन् । अन्यत्र जाने विकल्प नरहेकाहरू चौकी डाँडामा विस्थापित छन् । दिउँसो जसोतसो मन बाँधे पनि राति पानी पर्दा उनीहरू निदाउन सक्दैनन् । सडक र सञ्चारबाट तातोपानी एक्लिएको छ । सदरमुकाम र काठमाडौंसँगको सम्बन्ध विच्छेद भएको छ । सडक छैन, सञ्चार–सुविधा छैन । बिजुलीबत्ती छैन । अन्धकारमा छ तातोपानी । आकस्मिक कामका लागि स्थानीय ज्यान जोखिममा पारेर चट्टान र पहिरो छल्दै बाह्रबिसे पुगिरहेका छन् । विपत्तिको साता बित्दा सरकारका प्रतिनिधिसम्म नआएकोमा उनीहरूको गुनासो छ ।
 ‘खाद्यान्न सकिन लाग्यो । ल्याउने बाटोघाटो छैन,’ स्थानीय पदम लामाले भने, ‘भोकमरीमा पर्न लागिसक्यौं ।’ उनका अनुसार १० किलोस्थित झोलुंगे पुल बगाउँदा भोटेकोसीपारिको पाङ्सेगो गाउँ नाकाबन्दीमा परेको छ । नदी किनारको बस्ती जोखिममा परेपछि स्थानीय ज्यान जोगाउन माथि जंगलतिर लागिरहेका छन् । ‘उनीहरू के खाएर कहाँ बसिरहेका छन्, पत्तो छैन,’ उनले चिन्ता गर्दै भने ।
 

संकटमा चीन जोड्ने घाँटी
तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी  । माथि डरलाग्दो चट्टाने पहाड । बीचमा छ अरनिको राजमार्ग । सडक कुनामा पहाड फुटाएर बनेका घरबस्ती देखिन्छ भने छेउमा भोटेकोसीको किनारबाट जग उठाएर बनेका संरचना ।
नेपाल–चीन जोड्ने मितेरी पुलको मुखैमा रहेको लिपिङ बजार यतिबेला माथिबाट पहाड फुटेर खसेको पहिरो र तलबाट भोटेकोसी उर्लेर भएको कटानले क्षतविक्षत छ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पमा पहिरो खसेर तहसनहस भएको तातोपानी गाविस–३ मा पर्ने लिपिङ बजार बिस्तारै तंग्रिदै थियो । भूकम्पमा बचेका घर, होटल, पसलमा विस्तारै चहलपहल सुरु हुँदै थियो । पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए । नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा इकाइ फर्केका थिए । भूकम्पयता १४ महिना बन्द रहेको चीन नाका खुल्ने संकेत पाएपछि लिपिङ बजार बौरिने तर्खरमा थियो ।

लिपिङका ५५ वर्षीय गिर्मी शेर्पालाई लागेको थियो, अब छिट्टै बजारमा चहलपहल हुनेछ । ‘यो बर्खा कटेपछि यहाँ फेरि चहलपहल हुन्छ भन्ने आशा जागेको थियो,’ शेर्पाले नागरिकसँग भने, ‘एकाएक उर्लेर आएको भोटेकोसीले हाम्रो आश बगाएर लग्यो ।’
भोटेकोसीको बाढीले मितेरी पुल पारी चीनतर्फ पनि क्षति पु¥याएको छ । चीनतर्फका सडक पहिरोले बगाएर भोटेकोसीमा खसाएको छ । मितेरी पुलको छेउका भवन, पार्क र यात्रु प्रतिक्षालय पनि बगाएको छ । सामान बोक्ने कन्टेनर र सवारीसाधनहरु भोटेकोसीमा बगेका चीनतर्फका सुरक्षा अधिकारीलाई उदृत गर्दै शेर्पाले जानकारी दिए ।

लिपिङ बजारका मात्रै दुई दर्जन घर भोटेकोसीले बगाएको छ । कटानमा परेर बग्न तयार अवस्थाका घरहरु उत्तिकै संख्यामा छन् । बजारको बीचमा रहेको बसपार्क पनि बाढीले बगाएको छ । सडकको अधिकांश भाग कटानमा परेको छ ।

यहाँका अधिकांश घर सरकारी जग्गामा बनेका हुन् जसको लालपुर्जा छैन । तर एउटै घर एक करोड मूल्यमा किनबेच पनि चल्थ्यो ।
नेपाल–चीन व्यापार सम्बन्ध जोड्ने पहिलो र सबैभन्दा चल्तीको नाकाको मुखैमा रहेको लिपिङ बजारको भूकम्प अघिको चहलपहल र अहिलेको उदेकलाग्दो अवस्थाबारे स्थानीय नोगेन शेर्पा भन्छन्, ‘चीन नाकाले दिएको लिपिङको खुसी प्राकृतिक प्रकोपले खोसेर लग्यो ।’ उनले थपे, ‘प्रकृतिका अगाडि कसैको जोर चल्दोरहेनछ । चीन छिर्ने मितेरी पुल (चिनियाँ क्षेत्र) को प्रवेशद्वार बन्द गरिएको छ । त्यहाँ ताल्चा झुन्डिएको छ । गेट बन्द गरेर चिनियाँ सुरक्षाकर्मी त्यहाँबाट हिँडेका छन् ।’ लिपिङ बजारमा राहत र उद्धारमा खटिएका सशस्त्रका डिएसपी मनोज थापाले भने, ‘लिपिङ बजार नामेट हुँदै छ ।’












यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad