१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी उजाडिँदैछ युएन पार्क

ललितपुर-हरियाली पार्कभित्र चराचुरुंगीको चिर्बिर। युवायुवतीदेखि पाकापुस्तासम्मले हावा खाँदै सुखदुःख साट्ने थलो। अनि गर्मी मौसममा काठमाडौंबासीका लागि शीतलता पाउने नजिकको सुन्दर छहारी। ललितपुरको च्यासलस्थित युएन पार्क कुनै बेला यसरी नै बखान गर्न लायक थियो।

 सुन्दै मनमोहक र लोभलाग्दो यो पार्क हेरविचारको अभावमा फोहोर र उजाड बन्दै गएको छ । पार्क कुरूप बनेसँगै सहरबासीहरु आरामस्थलको अभाव महसुस गर्न थालेका छन् । यो पार्क उपत्यकाको परिचित पार्कमध्ये एक हो ।

विदाको दिन युवायुवती प्रेम साट्न यहीँ पुग्छन् । तर पछिल्लो समयमा पार्क अव्यवस्थित बनेसँगै घुम्नेको संख्या हवात्तै घटेको छ ।  पार्क पुग्नेहरुको सँख्यामा आएको कमीको कारणका रुपमा पार्क उजाडिनु र संरक्षण नपाउनुलाई औंल्याइएको छ  । अहिले पार्कभित्र रहेका विरुवाहरु संरक्षणको अभावमा सुक्न थालेका छन् भने खुला चउरमा भएको दुबो पनि सुकेको छ । काटिएका रुखका हाँगाहरु पार्कभित्र असरल्ल छन् । युएन पार्क संरक्षण समितिले पार्कको संरक्षणमा खासै चासो दिएको छैन ।े पार्क संरक्षणको जिम्मा समितिको छ । पार्कसँगै यसको रेखदेख गर्ने कार्यालय छ । जहाँ २० जना कर्मचारी छन् । तर, पार्क दुर्गन्धित र डम्पिङ साइटको रुपमा परिणत हुँदा कसैले पनि चासो लिएका छैनन् ।

रेखदेख गर्ने कर्मचारीहरु पार्कनजिकको कार्यालयमा जाँदैनन् । समितिका जिम्मेवार अधिकारीहरु पनि अनुगमनका लागि विरलै त्यहाँ पुग्नेगरेको स्थानीय बताउँछन् । ‘पार्क संरक्षणको जिम्मा पाएका कर्मचारीहरु पार्कको संरक्षणमा लागेको कहिल्यै देखिएन,’ च्यासलका स्थानीय सुरेश मर्हजनले भने, ‘पार्कको चारैतिरका पर्खाल र बार भत्किएका छन्, तर बनाउन कसैले चासो लिएनन् ।’

यसबारे युएन पार्क संरक्षण समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीले पार्क हराभरा र व्यवस्थित गर्न समितिले नयाँ योजना ल्याउन लागेको बताए । उनले भने, ‘पार्कभित्र रहेका केही विरुवाका हाँगा काट्ने र नयाँ विरुवा रोप्ने कार्य चाँडैै थाल्दैछौँ ।’ उनले बजेट अपुगका कारण चाहेअनुसार पार्कलाई हराभरा बनाउन नसकिएको जानकारी दिए ।

त्यस्तै, पार्कछेउमै ललितपुर महानगरपालिकाले अव्यवस्थित रुपमा फोहोर थुपार्न थालेको छ । स्थानीयले पनि पार्क वरपर फोहोर फ्याँक्न थालेका छन् । तर ललितपुर महानगरपालिकाले भने यस विषयलाई बेवास्ता गरिरहेको छ । स्थानीयबाहेक पार्कमा आउनेले समेत जथाभाबी फोहर फ्याँक्दा सुन्दर पार्क कुरुप र दुर्गन्धित हुन थालेको हो ।

केही गैरसरकारी संस्थाले पनि टोल सुधारको नाममा पार्कछेउमै फोहोर थुपार्न थालेका छन् । यसरी थुप्रिएको फोहोरको दुर्गन्धले यस क्षेत्रमा घुम्न आउने विदेशी र नेपालीहरु दिक्क हुने गरेका छन् । स्थानीयले पार्कमा बेपरबाह भएर फोहोर थुपार्दा समेत ललितपुर महानगरपालिका कार्यालय मौन रहेको युएन पार्कछेउ व्यापार गरिरहेकी सम्झना थापाले गुनासो गरिन् । कुनै बेलाको अत्यन्त मनोरम र सफासुग्घर पार्क अहिले सम्बद्ध निकायको हेलचक्रयाइँको शिकार भएको थापाको ठम्याइ छ । प्रायः स्कुलडे«समा आउने युवायुवतीले धक नमानी अशोभनीय क्रियाकलाप गर्दा पार्क झन् विकृत बनेको छ ।

पार्कनजिक बाग्मती करिडोरमा फोहर बोक्ने सवारीसाधन पार्किङ गरिँदा ट्राफिक जाम हुनुका साथै सडक अवरुद्ध हुने गरेको त्यस क्षेत्रका स्थानीयले बताए ।

ललितपुर महानगरपालिकाका वातावरण शाखाका प्रमुख प्रदीप अमात्यले महानगरपालिकाका लागि फोहोर व्यवस्थापन गर्न कठिन भएकाले केही समयका लागि पार्कछेउमै फोहोर संकलन गरेको बताए । ‘हामीले यहाँ धेरै समयसम्म फोहोर थुपार्दैनौँ,’ उनले भने, ‘यहाँ संकलन भएको फोहोरलाई हरेक दिन नुवाकोट पठाउने गरेका छौँ ।’ उनले महानगरपालिकासँग अनुमति नलिएर फोहोर संकलनको नाउँमा कमाउन पल्केका गैरसरकारी संस्थाको अनुगमन र कारवाही गरिने पनि बताए ।

फोहोर व्यवस्थापन गर्न ललितपुर महानगरपालिकासँग भएका ३ सयभन्दा बढी सफाइ कर्मचारीलाई फोहोर व्यवस्थापन र सफाइ गर्न परिचालन गरिएको छैन । अन्य गैरसरकारी संस्थाले नियमविपरीत सार्वजनिक स्थलमा फोहोर थुपार्ने कार्यलाई रोक्न महानगरपालिकाले कुनै कदम नचाल्नु आश्चर्यजनक भएको स्थानीयले बताए ।

राजधानीमा चराचुरुंगीको दिगो बासस्थान समेत बनाउने उद्देश्यले २०५२ सालमा १५ सय ७६ रोपनीमा सरकारले पार्क निर्माण गरेको हो । सोही समयमा सरकारले राजधानीबासीलाई हरियालीयुक्त क्षेत्र उपलब्ध गराउँदै वातावरण शिक्षाको केन्द्र बनाउनका लागि बाग्मती किनारमा पार्क निर्माण गरेको समितिका निर्देशक चौधरीले जानकारी दिए । उनका अनुसार स्थापनाताका पार्कलाई मनोरम र उपत्यकाकै नमूना बनाउने घोषणा सरकारले गरेको थियो ।

 

प्रकाशित: २१ चैत्र २०७३ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App