१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जिल्ला निर्वाचन अायाेगकाे बैठक मोर्चाको कारण स्थगित

महोत्तरी – निर्वाचन आयोग महोत्तरीद्वारा स्थानीय निर्वाचन प्रयोजनको लागि जिल्लामा मतदान स्थल थप गर्न बोलाइएको बैठक मधेसी मोर्चाको विरोधका कारण स्थगित भएको छ। 

 स्थानीय  निर्वाचन प्रयोजनका लागि थप २७ वटा नयाँ मतदान स्थल कायम गर्नुपर्ने भएकाले निर्वाचन कार्यालय महोत्तरीले सर्वदलिय बैठक बोलाएकाे थियाे । 
बैठकमा मधेसी मोर्चाका नेता कार्यकर्ताहरूले मधेसको माग पुरा नहुञ्जेल आफूहरू निर्वाचनमा भाग नलिने जनाउ दिदैं विरोध गरेपछि बैठक स्थगित गर्नु परेको निर्वाचन अधिकृत पिंकी रायले बताएकी छिन् । 
मधेसी मोर्चाले निर्वाचन अगावै संविधान संशोधन गरे मात्र आफुहरू चुनावमा भाग लिने भएकाले त्यस अघि हुने स्थानीय  तहको निर्वाचन तयारीको अन्य काममा पनि विरोध जनाउने सदभावना नेता सुदिप झाले बताए । 
‘हाम्रो माग पुरा नहुञ्जेल महोत्तरीमा निर्वाचन सम्बन्धि तयारीको कुनै पनि काम गर्न दिदैँनौ । ’ सदभावना नेता झाले भने ‘ स्थानीय  तहको निर्वाचनकै अवरोध स्वरुप महोत्तरीको १२ गाउँपालिका र ३ नगरपालिकामा समेत तालाबन्दी लगायत विरोधका कार्यक्रम संचालन गरेका छौं ।’   

महोत्तरीमा यस अघि पुरानो २ सय ३३ मतदान केन्द्र कायम रहेको थियो तर स्थानीय  तह पुनसंरचना अनुसार २७ वटा नयाँ मतदान केन्द्र थप्नु पर्ने आवश्यक देखिएकोले दलीय सहमतिको लागि बैठक बोलाएको निर्वाचन अधिकृत रायले बताएकी छिन ।
सर्वदलिय सहमति हुन नसकेपछि बैठकमा उपस्थित मधेसी मोर्चा, नेपाली काँग्रेस , एमाले, माओवादी केन्द्र लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरूकै सहमतिमा बैठक स्थगित गर्ने निर्णय गरिएको उनले बताएका छिन् ।  
वैशाख ३१ गते स्थानीय  तहको निर्वाचनको मिति तोकिए वमोजिम नै आवश्यक तयारी गर्नुपर्ने भएकाले मतदान स्थल थप गरेर टुङ्गो नलाएसम्म थप तयारी गर्न गाह्रो पर्ने अधिकृत रायले बताइन् । 
वैठक स्थगित भएको बारे निर्वाचन आयोग केन्द्रीय कार्यालयमा परिपत्र गरी जानकारी गराइसकेको र त्यहाँबाट प्राप्त निर्देशन अनुसार निर्वाचन तयारीको अन्य कामकाजहरू भने अगाडि बढाइने उनले बताइन् । 

प्रकाशित: ९ चैत्र २०७३ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App