१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरगन्जमा ‘गुरुद्वारा’

 वीरगन्ज- शिख धर्मावलम्बीहरुको सामुहिक प्रार्थनास्थलको रुपमा रहेको ‘गुरुद्वारा’ शनिवार वीरगन्जमा उद्घाटन गरिएको छ। भारत तथा नेपालका सयौं शिखहरु र स्थानीय अधिकारी तथा नागरिक अगुवाहरुको उपस्थितीमा सो सम्प्रदायका धार्मिक गुरुहरुले धार्मिक बिधी अनुसार प्रार्थना र पूजा गरेर ‘गुरुद्वार’ उद्घाटन गरेका हुन्। सो अवसरमा शिखहरुको पथ निर्देशक पवित्र ग्रन्थ ‘श्री गुरु ग्रन्थ साबिह जी’ लाई ‘गुरुद्वारा’को प्रर्थनागृहमा स्थापना गरिएको छ।

                जम्मु काश्मिरबाट आएका शिखहरुको अमृतसञ्चार प्रमुख एवम् धार्मिक गुरु सन्त मन्जित सिंहले पटनाका जाथेदार इकवाल सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे लगायतको उपस्थितीमा प्रथना र पूजाआजाबीच ‘गुरुद्वारा’ उद्घाटन गरे। ‘गुरुद्वारा गुरु नानक सत्संग’ नामाकरण गरिएको यस भवनको निर्माण २० बर्षपछि सम्पन्न हुन सकेको हो । सन १९९७ मा यसको शिलान्यास गरिए पनि त्यसपछिका बर्षहरुमा वीरगन्जबाट शिखहरु पलायन हुदै गएपछि यसको निर्माण सुस्त भएको थियो।

                ‘यो गुरुद्वारा बनाउन सुरु गरिएको बेला वीरगन्ज यति ठूलो थिएन र यहाँ चार सय ५२ शिख परिवार बस्ने गर्थे’ गुरुद्वाराका अध्यक्ष भजन सिंहले भने, ‘अहिले करिब ३० परिवार मात्र यहाँ छौं।’ नेपालमा सशस्त्र द्वन्द्व सुरु भएपछि यहाँबाट शिखहरु पलायन भए। २०६२/०६३ को जनआन्दोलन र त्यसपछि २ वटा मधेस आन्दोलनसंगै तराई क्षेत्रमा भुमिगत गिरोहरुको बिगबिगी बढेको बेला पनि केही शिख परिवार वीरगन्ज छोडेर गए । मुख्य रुपमा यातायात संचालन पेशामा आएका उनीहरु प्रतिकुल अवस्थाका कारण फर्किएपछि वीगन्जमा केही बर्ष अगाडी केही परिवार मात्र शिखहरु बाँकी थिए । अहिले राजनीतिक स्थिरता देखिएपछि पुनः शिखहरु वीरगन्जमा देखिन थालेका हुन्।

शनिवार गुरुद्वारा उद्घाटनको क्रममा वीरगन्जमा बिगतमा बसेर यहाँबाट गइसकेका कतिपय शिखहरु पनि देखिए । यो ठाउँको माया र सम्झना आइरह्ने उनीहरुको प्रतिक्रिया थियो । ‘यहाँ नियमित पूजा आजा र सत्संग संचालन हुनेछ,’ भजन सिंहले भने, ‘हरेक शनिवार लंगर र बैशाखी, गुरु नानक जयन्ती, गुरु गोबिन्द सिंह जयन्ती र गुरु अर्जुन सिंहको सम्झना जस्ता बिषेश अवसरमा यहाँ धार्मिक समारोहहरु हुने छ।’ दुनियाका हरेक मानिस एउटै जातका हुन र सबैको भलो चिताउनु पर्छ भन्ने मुल धार्मिक मान्यता भएकोले ‘गुरुद्वारा’का हरेक कार्यक्रममा कुनै पनि समुदायका मानिस सहभागि हुन पाउने उनले बताए।

प्रकाशित: ५ चैत्र २०७३ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App