१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जागिरबाहेक आम्दानी

धेरैजसो मानिस जागिर छाडेर अन्य किसिमको कारोबार सुरु गर्छन्। केही भने जागिरसँगै आफ्नै कारोबार बढाउँछन्। राम्रै जागिर भइकन पनि साइड बिजनेसको दुःख के गरिरहेको होला भनेर धेरैले सोध्ने र सोच्ने गर्छन् तर जागिरसँगै साइड बिजनेस गर्नु भविष्य सुरक्षित गर्नु हो र यस्ता कुरामा महिलाहरुले अझै बढी ध्यान दिनुपर्ने जानकारहरुको धारणा छ।

एसल्यान्ड विस्कोसी अमेरिकाको टेक्सस राज्यस्थित एउटा निकै ठूलो कम्पनीमा काम गर्थिन्। यत्तिकैमा कुनै परिचितले उनलाई फिल्म प्रोडक्सन कम्पनीमा कन्सल्टेन्सी गर्ने प्रस्ताव पाइन्। उनलाई कुरा रुच्यो र काम थालिन्।

६ महिनामा एसल्यान्डले जागिर छाडिन् र आफ्नै व्यवसाय सुरु गरिन्। यतिबेला उनले कैयौँलाई रोजगारी दिइरहेकी छन्। आफ्नो व्यवसायको निर्णय आफैँ गर्छिन्। उनी कसैप्रति निर्भर छैनन्। उनलाई जागिर खुस्किने डर पनि छैन।

जारकारहरुको धारणामा महिलाहरुले आफ्नो जागिरसँगै कमाइका अन्य विकल्पहरुमा पनि ध्यान दिनु पर्छ। कर्पोरेट जगतमा मानिसहरु प्रायः आफ्नो जागिरलाई बढी नै विश्वास गर्छन्। महिनाको अन्त्यमा मोटै रकम आइहाल्छ भन्नेमा उनीहरु ढुक्क हुन्छन् तर उनीहरुलाई त्यो पैसा कतिबेला खर्च भइसक्छ भन्ने पत्तै हुँदैन।

क्षमता भएका महिलाहरुले आफ्नै प्रयासमा केही गर्नु आवश्यक छ। झन् डिजिटल संसारमा त यसका कैयौँ फाइदा छन्। तिनलाई सदुपयोग गर्नु आवश्यक छ। जागिर त जतिबेला पनि चिप्लिन सक्छ। त्यो बेला तपाईं के गर्नुहुन्छ? सन् २००८ को आर्थिक मन्दीले सबैलाई पाठ पढाएको थियो, जागिरको भरोसा कहिल्यै गर्न सकिन्न।

यसको साटो आफैँ व्यवसायी बन्नु फाइदाजनक छ। वर्ल्ड इकोनमिक फोरमको जनवरी २०१६ को रिपोर्टका अनुसार २०२० सम्म संसारभरिका करिब १५ ठूला अर्थतन्त्र भएका मुलुकमा करिब ५० लाख जागिर चट् हुनेछन्। यस्तो अवस्थामा सबैभन्दा बढी नोक्सान त महिलाहरुलाई नै हुन्छ।

शोधले देखाएको छ, कर्पोरेट जगतमा महिलाहरुको अवस्था खासै राम्रो छैन। महिलाहरुले न त पुरुष बराबर पैसा पाउँछन् न त त्यो हैसियत र कुर्सी नै पाउँछन्, जुन कुराको उनीहरु वास्तविक हकदार हुन्छन्। उनीहरुले पुरुष अन्तर्गत रहेरै काम गर्नुपर्छ।

त्यसैले महिलाहरुले आउँदा दिनमा आफ्नो भविष्य सुरक्षित गर्न अन्य विकल्पका बारेमा सोच्न र आफ्नै केही कारोबार गर्न आवश्यक छ। बेलायतका म्यानेटमेन्ट गुरु प्राध्यापक लरेन स्टिलर रिक्लिनको भनाइ छ, ‘जागिर पाउनु र खुस्कनुमा उमेरको पनि एउटा ठूलो भूमिका हुन्छ।’

२०१५ मा प्रकाशित एउटा रिपोर्ट देखाउँदै लरेन भन्छिन्, ‘अलि बढी उमेर खाइसकेकी महिलाको तुलनामा भर्खरैकी युवतीले चाँडो जागिर पाउँछे। यही कुरा पुरुषमा भने लागू हुँदैन। पुरुष जवान होस् या चालिसे, तुरुन्त जागिर पाइहाल्छ। कैयौँ अवस्थामा ५० वा ६० वर्षका महिलाहरुले त काम पाउनै गाह्रो हुन्छ। पाइहाले पनि उनीहरुले पाउने पारिश्रमिक निकै न्यून हुने गर्छ।

महिलाहरुमाथि लिङ्गभेद र उमेरका कारण गरिने व्यवहार उचित नभएको उनको धारणा छ। क्षमताभन्दा पनि अनुहारका कारण युवतीहरुले काम पाउनु बेइमानी हो।

इकोनोमिक पोलिसी इन्स्टिच्युटको अक्टोबर २०१६ को रिपोर्टअनुसार अमेरिकामा पूर्णकालीक पुरुष कामदारले एक डलर पारिश्रमिक पाउँछ भने त्यही कामका लागि महिलाले ८० सेन्ट मात्र पाउने गर्छे। उमेर बढ्दै जाँदा र अवकाश नजिक पुग्दा यस किसिमको अन्तर अझै बढेर जान्छ। कमाइ कम हुनेबित्तिकै वचत पनि कम हुनु स्वाभाविक नै हो।

यस्तो अवस्थामा अरुले काम देला कि भनेर कुर्नुभन्दा पनि आफ्नै केही गर्ने बेला आइसकेको छ। केही गर्नेबारे सोचिरहनु भएको छ भने ठूलो कुरा नसोच्नुस्। साना कामबाट अनुभव बटुल्नुस्। इन्टरनेटलाई बढीभन्दा बढी उपयोग गर्नुस्। जागिरले तपाईंको भविष्य सुरक्षित हुन सक्तैन। व्यापार/व्यवसायले चाहिँ सुरक्षित भविष्य बनाउन सक्छ। यस्तो अवस्थामा महिलाहरुलाई त साइड बिजनेस अति आवश्यक चिज भइसक्यो।

बिबिसीमा रेणुका रयासमको आलेख

प्रकाशित: ४ चैत्र २०७३ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App