१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सम्पदा नबुझेका पर्यटक गाइड

ललितपुर- पाँच महिनाअघि ललितपुर पाटन दरबारमा जर्मन पर्यटक घुमाउन आएका एक गाइडले दरबारको सुन्दरी चोकलाई सिद्धिनरसिंह चोक भनेर पर्यटकलाई सूचना दिए। गत फागुन २२ गते अर्का गाइडले सिद्धिनरसिंह चोकलाई मूर्तिचोक र गरुडको मूर्तिलाई सिद्धिनरसिंहको मूर्ति भन्दै पर्यटकलाई झुक्याए।

फागुन २५ गते वसन्तपुर दरबारमा पर्यटक लिएर आएका अर्का गाइडले पनि यसैगरी पर्यटकलाई गलत सूचना दिए। उनले दरबारभित्र जति वटा ‰याल छन्, त्यति नै राजा सिद्धिनरसिंहका रानी भएको जानकारी गराएका थिए।

यी त हुन् पाटन दरबार र वसन्तपुर दरबार आएका पर्यटकलाई गलत सूचना दिने गाइडहरूको केहि उदाहरण। ऐतिहासिक सम्पदा क्षेत्रमा दिनहुँ पयर्टक डुलाउने गाइडहरूले हरेकदिन पर्यटकलाई यसरी नै झुक्याउने र गलत सूचना प्रवाह गरेको पाइएको छ। हेर्दै अपरिपक्व र अल्लारे देखिने ती गाइडहरूले नेपालका ऐतिहासिक धरोहरबारे अध्ययन गर्नु त परै जाओस्, सम्पदाको ऐतिहासिकताबारे सामान्य ज्ञानसमेत नराखेका कारण पर्यटकहरूमा गलत सूचना प्रवाह भइरहेको छ।

केही दिनपहिले पाटन दरबार अवलोकनका लागि आएका इजरायलका अर्ली केनेथसँग कुराकानी गर्दा गाइडले गलत जानकारी दिएको खुलासा भएको थियो। गाइडले दिएको सूचनामा आफूले छड्के अध्ययन गरेको उनले बताए। उनले भने, 'पाटन दरबार क्षेत्रबारे धेरै पहिलादेखि नै जान्दै बु‰दै आएको छु, तर कहिलेकाहीँ आफैँलाई घुमाउने गाइडले हामीलाई गलत जानकारी र सूचना दिँदा दुःख लाग्छ।'

'विदेशी पर्यटकलाई घुमाउने सहयोगी (गाइड) सामान्य अध्ययन र अंग्रेजी बोल्न सक्ने भएर मात्र हुँदैन,' पाटन दरबार हेरचाह समितिका अध्यक्ष सुरेशमान लाखेले भने, 'उनीहरूमा इतिहास, संस्कृति, राजनीति, जैविक विविधता, पर्यटक घुमाउने क्षेत्रको अध्ययन अनुसन्धान र मनोविज्ञानलगायत विविध क्षेत्रको ज्ञान हुनुपर्छ।'

गाइडहरूले पर्यटकसँग नम्र व्यवहार गर्ने, नझुक्याउने, गलत सूचना नदिने, बढी पैसा नअसुल्नेलगायत व्यवहार देखाउनुपर्ने हो। तर, देशको इतिहासमै ठेस लाग्ने गरी पर्यटकलाई गलत सूचना दिँदा त्यसले नेपालकै इतिहासमा धक्का लाग्ने देखिन्छ।

केही गाइडहरूले आफू ठगिएको गुनासो पनि दरबार हेरचाह समितिमा राख्ने गरेको अध्यक्ष लाखेले बताए। सम्पदा क्षेत्रमा पयर्टक अवलोकन गराउने गाइडले सम्पदाको बारेमा गहिरो अध्ययन अनुसन्धान गरेको हुनुपर्ने उनको भनाइ छ। 'सामान्य अध्ययन र अंग्रेजी बोल्न सक्ने मात्र होइन, गाइडलाई इतिहास, संस्कृति, राजनीति, जैविक विविधता, पर्यटक घुमाउने क्षेत्रको जनजीवन, रहनसहनजस्ता विविध ज्ञान हुनुपर्छ,' उनले भने, 'उनीहरूले पर्यटकको मनोविज्ञान बुझेर व्यवहार गर्न सक्नुपर्छ।'

सहजकर्ताका रूपमा देशका विभिन्न स्थानको अवलोकन गराउने गाइडले विदेशी पर्यटकलाई झुक्याउने र गलत सूचना प्रवाह गरेका कारण आफू मर्कामा परेको गुनासो गरेका छन्।

पाँच महिनाअघि पाटनको अवलोकन गराउन पर्यटक लिएर आएका गाइड मनोज थपलियाले पर्यटकलाई गलत जानकारी र सूचना दिएका थिए। उनले दरबारको सुन्दरी चोकलाई सिद्धिनरसिंह चोक, मूल चोकलाई मूर्तिचोक र गरुडको मूर्तिलाई सिद्धिनरसिंहको मूर्ति भनेर पर्यटकलाई सूचना दिएको पर्यटकले बताए। त्यस्तै, गत फागुन २५ गते वसन्तपुर दरबारमा फ्रान्सका पर्यटक लिएर आएका सुधिर लामाले वसन्तपुर दरबारभित्र जति वटा ‰याल छन् त्यति नै राजा सिद्धिनरसिंहका रानी थिए भन्दै आफूहरूलाई गलत जानकारी दिएको पोर्चुगलका रुई फ्लोरेसले बताए।

कतिपय पर्यटकहरू आफूले अवलोकन गरेको क्षेत्रबारे जानकारी बटुल्न गाइडको मात्र भर पर्दैनन्। उनीहरू बाहिरी व्यक्तिसँग पनि जानकारी लिन्छन्। पर्यटक आफैँ पनि अध्ययन अनुसन्धान गर्ने हुँदा उनीहरू पनि गाइडले ढाँटेको र झुक्याएको सजिलै थाहा पाउँछन्।

'सबै गाइड यस्ता छैनन् तर केही गाइड पर्यटकसँग फाइदा लिन अनेकौँ झूठ बोल्छन्। सोमबार पाटन संग्रहालयभित्र भेटिएका मंगलबजारका निररत्न शाक्यले भने, 'ऐतिहासिक क्षेत्रमा पर्यटकलाई अवलोकन गर्न ल्याउँदा गाइड त्यस क्षेत्रको जानकार हुनुपर्ने हो तर हचुवाका भरमा पर्यटक घुमाउन हिँड्छन्। दुई महिनाअघि एक जना गाइडले पाटनको भीमसेन मन्दिरलाई विश्वेश्वर महादेवको मन्दिर हो भन्दै अवलोकन गराएका रहेछन्। पयर्टकबाट यस्ता गुनासाहरू आइरहेका हुन्छन्।'

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) पर्यटक अनुमति पत्र दिने सरकारको एक मात्र आधिकारिक संस्था हो। प्रतिष्ठानका सूचना अधिकारी शिवप्रसाद जैसीले बर्सेनि दुई सयभन्दा बढी व्यक्तिले पर्यटक गाइडको लाइसेन्स लिने गरेको बताए। 'पयर्टक गाइडको अनुमतिपत्र लिन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ,' उनले भने, 'लिखित अन्तर्वार्ता, तालिम लिएपछि प्रतिष्ठानको सिफारिसमा पर्यटन विभागले अनुमतिपत्र दिन्छ।' 

पर्यटन विभागका नासु ज्ञानेन्› श्रेष्ठका अनुसार हालसम्म ९ सयले पर्यटन गाइडको अनुमतिपत्र लिएका छन्। उनले भने, 'पछिल्लो समय अनुमतिपत्र लिनेको संख्या बढेको छ, योग्यता र अनुभवलाई हेरेर मात्र अनुमतिपत्र दिन्छौँ।' उनले सम्पदा क्षेत्रमा पर्यटक घुमाउने गाइडहरू सम्पदाबारे जाने बुझेको भएको दाबी गरे। अनुमतिपत्रबिनाका गाइडहरू भेटिए विभागले कारबाही गर्ने उनले बताए।

तर, अनुमतिपत्र नै नलिई पर्यटक घुमाउने गाइडलाई विभागले कुनै नगरेको लामो समयदेखि पथ प्रदर्शन गर्दै आएका शिव मुखियाले बताए। उनले भने, 'अनुमतिपत्र नलिई पर्यटक घुमाउनेको संख्या अहिले बढेको छ। पर्यटकमार्फत सम्पदाहरूबारे विदेशमा गलत सूचना जानु लाजमर्दो कुरा हो।'

यता पुरातत्व विभागका प्रवक्ता रामबहादुर कँुवरले सम्पदा क्षेत्रमा पर्यटकलाई अवलोकन गराउँदा सम्पदाको ऐतिहासिकताबारे ध्यान दिनुपर्ने बताए।

यसरी कतिपय व्यक्तिले चिनजानको भरमा पर्यटक घुमाउँदा यस्ताबाट नै पर्यटकले सबैभन्दा बढी दुःख र गलत जानकारी पाउँछन्। पर्यटक ढाँट्ने, ठग्ने प्रवृत्तिले नेपाली पर्यटन क्षेत्रबारे विदेशमा नकारात्मक सन्देश जाने र पयर्टक संख्या घट्दै जाने सम्भावना छ। सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने गाइडले नै पर्यटक ठग्न थालेपछि विदेशमा त्यसको गलत सन्देश जाने बताउँछन्, अर्का गाइड महेश सुनुवार।

प्रकाशित: ३ चैत्र २०७३ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App