१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

राजनीतिज्ञको स्वतन्त्रता

राज्य संचालनको लागि आवश्यक सबै प्रकारका नीतिहरुमा राजनीति प्राथमिक तथा सर्वोच्च नीति हो। वास्तवमा सबै प्रकारका नीतिहरुको उदगमनै राजनीति हो। मूलुकको सामाजिक , आर्थिक, सांस्कृतिक तथा राजनैतिक विकासका लागि समेत अपरिहार्य नीतिहरुको प्रादुर्भाव, कार्यान्वयन, संभार, सञ्चालन, परिमार्जन राजनीति बाट नै हुन्छ। जसरी मानव शरीर धोका दिने मित्र हो र यसको उचित सम्मान अपरिहार्य छ त्यस्त्तै नै राजनीतिप्रति उचित आदर दिइएन भने मूलुकको समृद्धि निर्विकल्प खतरामा पर्छ। सही भोजन, उचित श्रम, तथा सम्यक विश्रामको सन्तुलनबाट मानव शरीर स्वस्थ रहन्छ र मानविय आवश्यकताहरु (भौतिक साथै आध्यात्मिक) पूर्ति गर्न यो एक उत्तम साधन बन्दछ। त्यस्तै गरी राजनीति एक वैचारिक आयाम भएकोले सत्य, शुभ, सुन्दर (सत्यम, शिवम्, सुन्दरम्)को चिन्तनबाट श्रृजित शुद्ध विचार शान्ति र समृद्धि स्थापित गर्ने एक विशिष्ट यन्त्र बन्दछ। तर मानिस आफ्नो व्यस्तता अथवा अल्प दृष्टि अथवा निद्रा अथवा वेहोसीका कारण जसरी शरीर सम्बर्द्धन गर्न चुकेको हुन्छ त्यस्त्तै गरी राजनीतिका नाममा हुने राजनीतिकरणका कारण निष्ठा राजनीतिलाई संरक्षण गर्न चुकेको हुन्छ।

श्रोत साधनको सम्भाव्यताले मुलुक समृद्ध बन्ने प्रशस्त अवसरहरु भएर पनि मूलुकलेे आर्थिक विकासको अपेक्षित लक्ष्य हासिल गर्न नसक्दा तथा अत्यावश्यक पूर्वाधारहरुको निर्माण एवम व्यवस्थापन हुन नसक्दा आम जनताको जीवन कष्टकर हुने गर्दछ। यो अवस्थाको निरन्तरता रहदा राजनीति प्रति आम जनतामा नैराश्यता आउने गर्दछ। यसका साथै मुलुकको शान्ति तथा समृद्धि लागि समय समयमा हुने राजनैतिक परिवर्तन पश्चात गठित हुने राजनैतिक दलहरुका सरकारले आफुले गरेको प्रतिवद्धता तथा जनभावना अनुरुप कार्य सम्पादन गर्न चुक्दा पनि आम जनतामा राजनीतिप्रति नकारात्मक भावना उब्जिने गर्दछ। तर आम जनताको यो दृष्टि सतहमा तर्कसंगत देखिएता पनि दोष मुक्त छैन। यो दृष्टिमा राजनीतिको कुनै दोष छ भने त्यो केवल शाब्दिक मात्र हो र गहिरोमा कारक तत्व राजनीतिकरण हो। राजनीति र राजनीतिकरण आगो र धुवाँ जस्तै नितान्त पृथक आयामहरु हुन्। एउटा घर परिवार वा एक कार्यस्थल वा एक समाजमा स्थापित सुख समृद्धि ती संस्थाहरुमा राजनीतिका आधारभूत तत्वहरु — मैत्री, करुणा, संकल्प, समर्पण, समभाव को उपस्थितिका कारण हो। तर कथमकदाचित उक्त घर, कार्यस्थल वा समाज अधोगमन तर्फ उन्मुख भयो भने यो विग्रहको अवस्थालाई “घरायसीकरण” वा “कार्यालयीकरण” वा “समाजीकरण” भनिन्दैन बल्की त्यसको कारक तत्व “राजनीतिकरण” नै हो। व्यक्ति स्वयममा पनि उ भित्र चलिरहेको राजनीतिकरणका कारण नै उ सन्तापबाट गुजि्रन्छ। कुनै व्यक्ति, समुह, वर्ग, वर्ण, समाज विशेषको स्वार्थलाई प्राथमिकता दिई अन्यको कद घटाएर आफ्नो कद उच्च पारिने द्वन्दात्मक र कुशल खेल राजनीतिकरण हो। तसर्थ राज्यको सर्वोच्च शक्ति प्राप्तीको लागि गरिने राजनीतिकरणमा शंका, संकोच, विषाद, प्रतिस्पर्द्धा, आक्रामकता, चालवाजी जस्ता तत्वहरुका उपस्थितिका कारण यो थप उन्मादपूर्ण हुनु स्वभाविक छ।

राजनीति तथा राजनीतिकरण वीच रहेको अन्तरको सबैभन्दा अनुभवी ज्ञाता स्वयम राजनीतिज्ञ हो। राजनीतिज्ञ मूलुकको शासन सम्हाल्न सर्वोच्च पदमा आसिन हुने व्यक्तित्व भएकोले राजनीतिको माध्यमबाट मुलुकमा शान्ती र प्रगती हासिल गर्ने परम उत्तरदायित्व पनि उसले नै बोकेको हुन्छ। उत्तरदायित्वको गहिरो अन्तरसम्बन्ध स्वतन्त्रतासंग हुन्छ। जति उत्तरदायित्व उच्चतम हुन्छ त्यतिनै ऊ परतन्त्रबाट मुक्त हुनुपर्छ। तर स्वतन्त्रता व्यक्तिको स्वभाविक र नैसर्गिक अधिकार हँुदाहुँदै यो जोखिम मुक्त छैन। स्वतन्त्रताको विरोधाभास यसैमा लुकेको हुन्छ। सिक्का रुपी स्वतन्त्रताको दुई पाटो सदा रहन्छ र स्वतन्त्रताको कारण उ उत्तिकै अनुत्तरदायी पनि हुन सक्छ। स्वतन्त्रता व्यक्ति भित्र रहेको आन्तरिक उर्जाको वहाव हो। पहाडको टुप्पाबाट चट्टान तल झर्न सहज छ तर सोही चट्टानलाई पहाडको टुप्पोामा पुर्‍याउन निकै श्रमको आवश्यकता भए जस्तै स्वतन्त्रताका कारण व्यक्ति उत्तरदायी हुनु भन्दा अनुत्तरदायी हुने सम्भावना बढी रहन्छ। तसर्थ सत्तासिन वा सत्ता प्रभावित गर्न सक्ने राजनीतिज्ञहरुले आफ्नो स्वतन्त्रता तथा उत्तरदायित्वको समिकरण प्रति सदा सजग हुनु आवश्यक छ र उनीहरुको स्वतन्त्रता मुलुकको समग्र शान्ती तथा समृद्धि फलिभूत हुने लक्ष्यबाट निर्देशित हुनुपर्छ।

व्यक्ति भौतिक रुपले जति सम्पन्न देखिएता पनि केही अव्यक्त, अज्ञात आयामको अभाव सँधै उसमा खट्किएको हुन्छ। व्यक्तिको परम लक्ष्य आनन्द नै त्यो आयाम  हो। व्यक्तिको कर्तव्य निर्वाह बाट उक्त लक्ष्य हासिल हुन्छ भने उत्तरदायित्व त्यो कर्तव्यपरायणताको मूल बीज हो। यसर्थ व्यक्तिको स्वतन्त्रता तथा लक्ष्य बीच गहिरो अविभाजित अन्तरसम्बन्ध रहेको हुन्छ। मुलुकमा शासन गरी पद, प्रतिष्ठा, वैभव हासिल गर्ने राजनीतिज्ञको लक्ष्य रहे पनि उसको अन्तरङ्ग इच्छा स्वयमको लागि आनन्दको खोज हो। पटक पटक शासन प्राप्ती प्रति उसको मोह आनन्दको अनुभवको लागि हो। जसरी निष्ठा आचरण बाट व्यक्तिले आनन्दको द्वार खुलेको अनुभव गर्छ त्यसरीनै निष्ठा राजनीतिको माध्यमबाट मुलुकलाई प्रगतिको सही दिशामा यात्रा तय गराउँदा नै राजनीतिज्ञले त्यो विशिष्ट आयामलाई अनुभव गर्न सक्छ।

मूलुकको समग्र विकास विना आम जनता भौतिक रुपले सुविधा सम्पन्न हुन सक्दैन। भौतिक अभावले ग्रसित अधिकांश जनता सहज तथा सुविधा युक्त जीवन यापनको कामना गर्दछ। भौतिक कामनाको निरन्तरताले उसको आनन्दको खोजमा अवरोध आउने सम्भावना रहन्छ। भौतिक अभावमा पनि आनन्दको अनुभव गर्न सक्नेे व्यक्ति असाधारण हो तर नितान्त दुर्लभ हुन्छ। यस दृष्टिले पनि राजनीतिज्ञको भूमिका विशिष्ट छ र आम जनताको अधिकार बाट नै राजनीतिज्ञलाई त्यो विशिष्ट भूमिका वहन गर्ने अवसर प्राप्त हुने भएकोले पनि राजनीतिज्ञको स्वतन्त्रताले थप उत्तरदायीत्वको माग राख्दछ।

राजनीतिज्ञको स्वतन्त्रताको नकारात्मक दिशा राजनीतिकरण हो। राजनीतिकरणको आफ्नै अस्त्तिव नभएता पनि यो शक्ति हासिल गर्ने उपयोगी माध्यम हो। यसर्थ राजनीति रुपी सफा पर्दामा राजनीतिकरण रुपी चलचित्र चलिरहेको हुन्छ। राजनीतिकरण एक आकर्षक तथा रोमान्चक चलचित्र जस्तै हो। पे्रम प्रसंङ्ग, राग, घृणा, इर्ष्या, जलन, क्रोध, धोका, रहस्य, हास्य, व्यंग्य, लडाई इत्यादि जस्ता एक रोचक चलचित्र बन्न आवश्यक विभिन्न तत्वहरुको समिश्रण राजनीतिकरणमा हुने भएकोले भूमिका भिन्न भिन्न भएता पनि आम जनता एवंम स्वयम राजनीतिज्ञहरु यस प्रति सम्मोहित हुने गर्दछ। राजनीतिकरणको दिर्धायु यही सम्मोहनमा रहेको हुन्छ। यसर्थ आम जनता यो सम्मोहनबाट यथासक्दो बाहिर आउनुपर्छ। तर उदेकलाग्दो राजनीतिकरण प्रति आम जनताबाट सजग तर व्यक्त वा अव्यक्त आपत्ती जनाइरहेता पनि यसको अन्त सहज देखिन्दैन। तसर्थ प्राथमिक रुपमा राजनीतिज्ञहरु नै राजनीतिकरणलाई मलजल गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्दछ।

जुन बाटोमा हिडिन्छ सोही मुकाममा पुगिन्छ। गलत बाटो रोजेर सही मुकाममा  पुगिदैन। निष्ठा राजनीतिको अनुसरण गर्ने वा राजनीतिकरण गर्ने राजनीतिज्ञको व्यक्तिगत छनौट हो। जसरी धुवाँको आफ्नो अस्त्तिव छैन र शुद्ध इन्धनबाट निस्केको आगो धुवाँ रहित हुन्छ त्यस्तै नै निष्ठा राजनीति प्रति राजनीतिज्ञ संकल्पित र समर्पित हुदा राजनीतिकरण स्वत विलय हुन्छ। शुद्ध ईन्धनको प्रयोगबाट धुँवा रहित आगो वाल्न सकिएला तर मुलुकको शासन प्राप्तिको लागि गरिने राजनितिकरण पूर्णरुपमा अन्त नहुन सक्ने भएकोले धुँवाको उपस्थितिले आगोको अस्तित्वको संकेत दिए जस्तै राजनितिकरणको उपस्थितिले निष्ठा राजनितिको संकेत दिएको वास्तविकतालाई मनन गरी राजनितिकरणलाई मुलुकको शान्ति तथा आर्थिक विकासको बाधक नबनाउने तर्फ पनि राजनितिज्ञहरु सजग हुन आवश्यक देखिन्छ। अन्तमा सबै राजनीतिज्ञहरु इतिहासको कुरा गर्दछन् तर इतिहासमा आफ्नो छवी कस्तो निर्माण गर्ने राजनीतिज्ञको आफ्नै स्वतन्त्रता हो।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App