१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ का एमाले सभा स्थगित

सुनसरीको इटहरीमा आयोजित भेला।

सप्तरी- सप्तरी घटनापछि नेकपा एमालेले तराई–मधेसकेन्द्रीत गर्दै आयोजना गरेको मेची–काली राष्ट्रिय अभियानअन्तर्गत प्रदेश नम्बर २ का सबै कार्यक्रम स्थगित गरेको छ। सप्तरीको रुपनीस्थित एमाले नेता सुमन प्याकुरेलको घरमा बसेको आकस्मिक बैठकले प्रदेश नम्बर २ का सबै कार्यक्रम स्थगित गरेको हो। 'विकसित पछिल्लो परिस्थितिलाई ध्यान दिँदै प्रदेश नम्बर २ का सबै कार्यक्रम स्थगित गरिएको छ', एमाले सचिव प्रदीप ज्ञवालीले भने, 'बाँकी कार्यक्रमको तालिका नबिग्रियोस् भन्दै हेटौंडाबाट अभियान चल्नेछ।'

सिरहाको गोलबजार, धनुषाको जनकपुर, महोत्तरीको बर्दिबास, सर्लाहीको हरिऔन र हरिपुर, रौतहटको गरुडा र चन्›निगाहपुर, बाराको जितपुरमा पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ।

एमालेले अभियानमाथिको अवरोधलाई मुलुकलाई जबर्जस्ती मुठभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधान असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको जनाएको छ। 'आजको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र विध्वांसात्मक गतिविधि देखाएको' एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'एमालेले संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको दललाई प्रवेशनिषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थलनजिकै विस्फोटक पदार्थ बिच्छ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधि प्रदर्शन गरेका छन्', विज्ञप्तिमा भनिएको छ। एमालेले सप्तरी घटनाप्रति दुःख व्यक्त गरेको छ।

'पार्टीको आह्वानमा यही फागुन २१ बाट सुरु मेची–महाकाली राष्ट्रिय अभियान अत्यन्त भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र अभियानमा लाखौं जनता उत्साहपूर्वक सहभागी भइरहेको परिप्रेक्ष्यमा आज फागुन २३ गते राजविराजमा भएको घटनाबाट पार्टी दुःखी भएको छ,' एमालेले भनेको छ।

मोर्चाका स्थानीय नेताले एमालेको कार्यक्रम अवरुद्ध पार्ने यसअघि नै घोषणा गरेका थिए। एमालेले राजिवराजस्थित रंगशालामा गर्ने भनेको पूर्वनिर्धारित सभालाई सहरबाट तीन किलोमिटर उत्तर बिसपिटीस्थित गजेन्›नारायणसिंह औद्योगिक क्षेत्रमा सारेको थियो।

तीन दिनअघि काँकडभिट्टाबाट सुरु एमाले अभियान झापा, मोरङ र सुनसरीको विभिन्न स्थानमा कार्यक्रम गर्दै सोमबार प्रदेश नम्बर २ प्रवेश गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको हजारौंका लस्कर सप्तरी प्रवेश गर्दा सानो संख्यामा रहेका मोर्चाका कार्यकर्ताले कालोझन्डा देखाएका थिए। भारदहबाट कञ्चनपुर रुपनी हुँदै सभास्थल पुगेको एमाले नेताका सुरक्षामा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सुनसरीको कार्यक्रममा पनि मोर्चाका कार्यकर्ताले अवरोध प्रयास गरेका थिए।

प्रकाशित: २४ फाल्गुन २०७३ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App