१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बिमाबाट ऋण लिँदै बैंकको ब्याज खाँदै

काठमाडौं- बिमा कम्पनीको कर्जाको ब्याजदर भन्दा बैंकले दिने निक्षेपको ब्याजदर बढी भएपछि बिमितहरुले बिमालेख धितो राखेर बिमा कम्पनीबाट ऋण लिँदै धमाधम बढी ब्याज आउने बैंकमा जम्मा गर्न थालेका छन्।

बिमा कम्पनीहरुले बिमालेख धितोमा रोखेर वार्षिक १० प्रतिशत ब्याजदरमा विमीतलाई कर्जा प्रवाह गरिरहेका छन्। बैंकहरुले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिइरहेका छन्।

बिमा कम्पनीबाट १० प्रतिशतमा ऋण लिँदै बैंकमा १२ प्रतिशतमा निक्षेप जम्मा गर्दा दुई प्रतिशत फाइदा हुन्छ। अहिले टाठाबाठा बिमितले बसीबसी दुई प्रतिशत ब्याज खाँदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिबेक झाले शनिबार नागरिकलाई बताए।

'बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव भएको मौकामा बिमा कम्पनीबाट बिमालेख धितो राखी ऋण लिने र त्यसरी लिएको ऋण उच्च ब्याज आउने बैंकमा राख्ने चलन बढेको छ,' उनले भने, 'अहिले बिमा कम्पनीले १० प्रतिशत ब्याजदरमा ऋण दिइरहेका छन्। त्यही पैसालाई वाणिज्य बैंकले मुद्दती खातामा १२ प्रतिशत ब्याज दिइरहेका छन्।' सोझै दुई प्रतिशत फाइदा हुने देखेपछि धेरैजसो बिमितले त्यसो गर्न थालेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत झाको भनाइ छ।

लगानीयोग्य पुँजी अभाव भएको मौका वा लगानीयोग्य पुँजी प्रशस्त भएको जुनसुकै समयमा पनि बिमा कम्पनीले बिमितलाई बिमालेख धितोमा १० प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरिरहेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी प्रशस्त भएको बेला बैंकले दिने निक्षेपको ब्याजदर कम हुने भएकाले त्यो समयमा बैंकमा पैसा राख्दा फाइदा नभए पनि तरलता अभाव भएको अहिलेको समयमा बिमा कम्पनीबाट ऋण लिएर बैंकमा पैसा राख्दा फाइदा हुने जानकार बताउँछन्।

बिमा कम्पनीहरुले बिमालेख धितो राखेर बिमितले जम्मा गरेको रकमको ९० प्रतिशतसम्म कर्जा दिने गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले बताए। 'पेड अप भ्यालुको ९० प्रतिशत ऋण बिमितले पाउँछन्,' उनले भने, बिमितले पाउने पैसा र बिमा कम्पनीले घोषणा गरेको बोनस जोडेर आएको भ्यालुको ९० प्रतिशत ऋण दिने गरिएको छ।' नेपाल लाइफ इन्स्योरेन्सले साढे पाँच अर्ब रुपैयाँ बिमितलाई बिमालेख धितोमा राखेर ऋण प्रवाह गरेको पनि झाले जानकारी दिए।

हाल नौवटा जीवन बिमा कम्पनीमा करिब सवा एक खर्ब रुपैयाँ बिमालेख बिक्री गरेर जम्मा हुन आएको रकम भएको बिमा कम्पनीहरुको भनाइ छ। त्यसरी जम्मा भएको रकममध्ये करिब १५ प्रतिशत रकम बिमितले बिमालेख धितोमा राखेर कर्जा लिएका छन्।

'अहिले नौवटा बिमा कम्पनीबाट १५ अर्ब रुपैयाँ जति कर्जा बिमितले लगेको हुनुपर्छ,' प्रमुख कार्यकारी अधिकृत झाले भने, 'बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव भएपछि ऋण लिनेको संख्या ह्वात्तै बढेको छ।'

बैंकहरुले पाँचबर्से मुद्दतीमा १२ प्रतिशत ब्याज दिइरहेका छन्। १० प्रतिशत ब्याजमा लिएको ऋण १२ प्रतिशत ब्याजमा लगानी गर्दा वार्षिक किस्ता तिर्ने पैसा बिमितलाई आउने भएकाले पनि बिमा कम्पनीबाट ऋण लिनेको संख्या पछिल्ला दिनमा बढेको बिमा कम्पनीका अधिकारीहरु बताउँछन्।

केही बिमितलाई बिमालेख धितो राखेर ऋण लिन सकिने जानकारी नै नभएको झाको भनाइ छ। 'बिमालेख धितो राखेर ऋण लिन सकिने जानकारी नभएका कारण कतिपय बिमितले ऋण नलिएर किस्ता नै नतिरी सरेन्डर गर्ने गरेका छन्,' उनले भने, 'सरेन्डर गर्नुभन्दा ऋण लिएर किस्ता तिर्न र सानोतिनो व्यवसाय नै गर्न सकिने सम्भावना हुँदाहुँदै पनि त्यसतर्फ सोच्ने गरेका छैनन्।'

प्रकाशित: २२ फाल्गुन २०७३ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App