१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तातोपानीबाट ५८ को उद्धार

काठमाडौं- भोटेकोसी बाढीले घरवारविहीन ५८ पीडितलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार तातोपानीबाट उद्धार गरेको छ। सेनाको एमआई१७ हेलिकप्टरले दुई खेपमा उनीहरुको उद्धार गरिएको हो। उद्धार गरिएकामा धेरै बालबालिका र महिला छन्।

हेलिकप्टर उनीहरुलाई बाह्रबिसे झारिएको छ। 'काठमाडौं जान चाहनेलाई बाह्रबिसेबाट बस चढाएर पठायौं,' प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले नागरिकसँग भने। उनका अनुसार ४४ जनालाई स्थानीय प्रशासनले राजधानी लगेको छ। १३ जनाले बाह्रबिसेलगायत आफन्तकोमा बस्न चाहेकाले उनीहरुलाई पनि बस चढाएर सम्बन्धित ठाउँमा पुर्‍याइएको उनले बताए।

उद्धार गरिएका मध्ये एक पीडित बिरामी थिए। उनलाई हेलिकप्टरले उपचार गर्न काठमाडौं लगेको छ।

बिहानैदेखि पीडितलाई हेलिकप्टरबाट उद्धार गर्न खोजिएको थियो तर खराब मौसमका कारण हेलिकप्टर समयमै जान सकेन। पीडित उद्धार खोज्दै पोकापन्तुरा बोकेर बिहानै तातोपानीको चौकीडाँडा पुगेका थिए। हेलिकप्टर त्यहाँ जान नसकेपछि दिउँसो १० किलोमा ल्यान्ड गरेर उद्धार गरिएको प्रजिअ दुवाडीले बताए।

अरनिको राजमार्ग पहिरोले कटान गर्दा सवारीसाधन चल्न नसक्ने भएपछि उद्धारमा हेलिकप्टर प्रयोग गरिएको हो। बाढी आएकै दिनदेखि हेलिकप्टर माग गर्दै पीडित उद्धारको पर्खाइमा थिए तर प्रतिकूल मौसमका कारण हेलिकप्टर जान सकेको थिएन।

'पीडितकै मागअनुसार उनीहरुलाई काठमाडौं लैजाने व्यवस्था मिलाइएको हो,' सीमा प्रहरी कार्यालय, इन्स्पेक्टर खुमलाल भुसालले भने। नदीकटानले राजमार्गको बाह्रबिसे–तातोपानी २६ किमी खण्ड क्षतविक्षत छ। यसअघि तातोपानीमा असुरक्षा महसुस गर्दै धेरै पीडित पैदलै हिँडेर काठमाडौं पुगेको भुसालले जानकारी दिए।

उनका अनुसार अझै धेरै पीडित चौकीडाँडा, तामाङगाउँ लगायत सुरक्षित स्थानमा आश्रय लिइरहेका छन्। प्रजिअ दवाडीले केही पीडित तातोपानीमा बस्न चाहेकाले सबैलाई काठमाडौं पठाउन नसकिएको उद्धार गर्न नसकेको बताए। 'उनीहरुलाई यहीँ खाने–बस्ने व्यवस्था मिलाउँछौं,' उनले भने।

मंगलबार राति तिब्बतबाट भोटेकोसीमा आएको बाढीले तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याउने क्रममा तातोपानीका करिब ५० घर बगेका छन्। १० किलोदेखि लिपिङसम्म १० किमी दुरीमा फैलिएको तातोपानी बजार ठाउँ–ठाउँमा विलय र क्षतविक्षत हुँदा झन्डै २ सय परिवार विस्थापित भएका छन्। भोटेकोसी बाढी केही घटे पनि वर्षा हुन थालेपछि पीडित थप त्रस्त छन्।

यहाँका लार्चा, १० किलो, तातोपानी, कोदारी र लिपिङ बजार नदीले तान्दा झन्डै–झन्डै विलय भएका छन्।

बाढीले तिब्बती क्षेत्रमा पनि क्षति पुर्‍याएको छ। मितेरी पुलपारीको चिनियाँ एकीकृत कार्यालय (जाङ्बु पोर्ट) कटानले जोखिममा छ। चिनियाँ अधिकारी मितेरी पुलको प्रवेशद्वार बन्द गरेर सुरक्षित स्थल खासातिर लागेको तातोपानी भन्सार सुरक्षा बेस प्रमुख सशस्त्र प्रहरीका डिएसपी मनोज थापाले जानकारी दिए। 'वर्षा भइरहेको छ। कटान तीव्र छ,' अझै खतरा औँल्याउँदै उनले भने।

प्रकाशित: २५ असार २०७३ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App