१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेभित्र खराब मान्छेको दबदबा :  नेपाल

पर्वत- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा खराब प्रवृत्तिका मान्छेको दबदबा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रेस चौतारीले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले खराब प्रवृत्तिका मान्छेको दबदबाले पार्टी शिथिल बनेको बताएका हुन्। 'पार्टीमा इमान हराउँदै गयो, खराब प्रवृत्तिका मान्छे बढ्दै गए। डन, भ्रष्ट, पतीत, संस्कारहीनको जमातले कब्जा जमाउन पुगेको छ', नेपालले भने, 'जो बेइमान मात्र गर्छ ऊ अगाडि आउने, इमानदार पाखा लाग्ने प्रवृत्तिले मलाई चिन्तित बनाएको छ।'

उनले पार्टीभित्र शुद्धीकरणको आवश्यकता औंल्याए। 'अब एमाले पार्टी शुद्धीकरणतर्फ लाग्नुपर्छ, पार्टी सानो हुन्छ भनेर गलत प्रवृत्तिका मान्छेलाई ठाउँ दिनु हुँदैन' उनले भने। अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै नेता नेपालले पार्टीले सही नेतृत्व पाउन नसकेको धारणा राखे।

उनले एमाले आगामी स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति हुने दाबी गरे। नेता नेपालले भने, 'सम्भवतः अब एमाले पहिलो शक्ति बन्छ, त्यो भएन भने कारण हो, पार्टीभित्रका खराब पवृत्तिका मानिस।'

उनले आफ्नो राजनीतिक इमानलाई बदनाम गरिँदै आएको भन्दै नेपालले आरके मैनालीको पुस्तकमा उल्लेख भएका कुरा तथ्यविपरीत, गलत र भ्रामक भएको दाबी गरे। 'पुस्तकमा आएका कुरा आक्रोश, कुण्ठा, बदलाको भावनाबाट प्रेरित छन्' उनले भने, 'म पार्टी प्रमुख हुँदा पार्टीको भावनाविपरीत गएर गतिविधि गरेका कारण कारबाही गरेकै कारण अहिले पुस्तकमा मलाई बदनाम गराइएको छ।'

फरक प्रसंगमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुनेमा आफू ढुक्क भएको बताए। 'चुनाव तोकिएकै मितिमा हुनुपर्छ र हुनेमा म आशावादी छु', उनले भने। उनले निर्वाचन गर्नका लागि सर्वपक्षीय सरकारको कुरा वाहियात भएको धारणा राखे। 'सर्वपक्षीय सरकारको कुरा सम्भवै छैन, अनि त्यस्ता माग राख्नुको कुनै अर्थ छैन', उनले भने।

प्रकाशित: १५ फाल्गुन २०७३ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App