१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पथलैया वीरगन्ज ६ लेन सडक बजेट अभावले समस्यामा

वीरगन्ज-  एकातिर सरकारले विकास बजेट खर्च गर्न नसकेको अवस्थामा अर्को तिर मुलुकको प्रमुख ब्यपारिक मार्ग वीरगन्ज–पथलैया सडक ६ लेनको निर्माण बजेट अभावको मारमा परेको छ। झण्डै २८ किलोमिटर ६ लेन बनाउने यो सडकको ठेक्का सम्झौता साढे ३ अर्ब रुपैयाँमा भएको छ। यसमा चालु आर्थिक बर्षमा ३० करोडरुपैयाँ मात्र बिनयोजित रहेकोले योजना आर्थिक समस्यामा परेको हो।

असार ३० मा सम्झौता भएर साउनमा निर्माण थालिएको २७ किलोमिटर ६ लेन सडक बनाउन बेग्ला बेग्लै ६ वटा ठेक्का गरिएको छ। यसमा वीरगन्जको सिर्सिया चोकदेखी एकिकृत जाँच चौकीसम्म थप ७ सय मिटर सडक पनि थपिदा करिब २८ किलोमिटर सडक निर्माणको यो योजना हुन गएको हो। २४ महिना समयावधी रहेको योजनामा सम्झौता रकमको समयसंगको अनुपात अनुसार बर्षमा पौने २ अर्ब रुपैया चाहिने देखिन्छ। आर्थिक बर्ष २०७३/७४ मा ३० करोड रुपैयाँ मात्र बिनियोजन भएकोले गर्दा निर्माण कार्य गति लिएको बेला बजेट अभावले ब्रके  लाग्ने भएको छ।

सडक बिभाग अन्तर्गत यस योजनाको कार्यालयका अनुसार भौतिक प्रगती १३ प्रतिशत पुगेको बेला आर्थिक प्रगती ६ प्रतिशते छ। ‘नेपालमा प्रबृति के छ भने ठेकेदारहरुले सम्झौता गर्ने कामै  नगरिदिने, त्यस अनुसार बजेट बिनयोजन स्भाविकै हो,’ योजना कार्यालयका इन्जिनियर अशोककुमार यादवले भने, ‘यस योजनामा भने निर्माण कम्पनीहरुले राम्रो गतिमा कामलाई अगाडी बढाएका छन्, जुन सुखद र सराहनीय पक्ष हो, काम बढी भएपछि त्यस अनुपातमा भुक्तानीको ब्यवस्थापन गर्न हामी प्रयासरत छौं।’

ठेकेदारहरुको करिब ३० करोड रुपैयाँको बिल भुक्तानी बाकी रहेको ६ मध्ये २ वटा खण्डको ठेक्का लिएका पप्पु लुम्बिनी जेभीका हरिनारायण रौनियारले बताए। ‘हाम्रो मात्र ५ करोडको बिल बक्यौता छ, पैसा भएन भने काम कसरी गर्ने ? रोक्ने स्थिती आउन थालेको छ,’ पप्पु कन्सट्रक्सनका प्रबन्ध निर्देशक रौनियारले भने, ‘भुक्तानी नभए काम गर्न सक्दैनौ हामी भनि सकेका छौं।’ निर्माणको अनुपात अनुसार असारभित्र ८० करोड रुपैया चाहिने भनेर योजना कार्यालयले सडक बिभागलाई  थप पैसा ब्यवस्थापनका लागि पत्राचार गरिसकेको छ।

‘हामीले १० दिन अगाडी यसको लागि सडक बिभागमा लेखेर पठाई सकेका छौं,’ इन्जिनियर यादवले भने, ‘१०/१२ दिनभित्र अहिलेको समस्या सामाधान हुनेछ।’ बक्यौता बिल भुक्तानीको प्रबन्ध हुने वा चाहिएको अपुग ५० करोडको ब्यवस्थापन हुने उनले खुलाएनन्। रौनियारले आफुहरुले नेपालगन्ज–कोहलपुरबीचमा यसै जोजना अन्तर्गत काम गरेको सडक र अर्को बबइ खोलाको पुल निर्माण सकिएर पनि सरकारले भुक्तानी नदिएको गुनासो गरे।

योजना अनुसार ६ लेन सडक पुर्वपश्चिम राजमार्गको पथलैयादेखि दक्षिण आउने त्रिभुवन राजपथमा पर्साको लिपनी बिर्ताको परवानीपुरसम्म जोड्ने छ । र, त्यहाँदेखि यता नयाँ बाइपास हुँदै अलौंस्थित सिमामा बन्न लागेको नेपाल भारतको एकसाथ जोडिएको सुबिधा सम्पन्न भन्सार ‘एकिकृत जाँच चौकी’ (आइसिपी)मा आएर जोडिने छ । नेपालको ७० प्रतिशत ब्यपार हुने वीरगन्ज नाका जोड्ने त्रिभुवन राजपथको सडकखण्डले अहिलेसम्म सावारी आवागमन धानिदै आएको छ । नेपालमा सवारी साधन न्युन संख्यामा रहेको बेला सन १९५९ मा बनेको यो सडक ५८ बर्षपछि बिस्तार हुन लागेको हो । भौतिक कार्यले गति लिरहेको बेला आर्थिक समस्या आइपरेको हो ।

सडकको डिजाई डिजाईन अनुसार सडकको मध्यमा यसलाई दुई तिर बाड्ने संरचना हरियाली सहितको डिभाइडर हुनेछ भने दुबैतर्फ ३/३ लेन बाटो हुने छ। प्रत्येक लेन ३ मिटरको हुनेछ। मुल सडकको संरचना बाहेक दुबैतर्फ ५/५ मिटरको सर्विलेन्स लेन पनि हुनेछ। सबै गरेर ६ लेन, ५० मिटर हुनेछ।

 

प्रकाशित: १३ फाल्गुन २०७३ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App