१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'उपत्यकामा सिसी क्यामेरा अभाव'

ललितपुर- अपराध नियन्त्रण र प्रमाण संकलनको भरपर्दो उपकरण सिसिटिभी क्यामेरा (क्लोज सर्किट टेलिभिजन) क्यामेरा पर्याप्त नहुँदा अपराधसम्बन्धी अनुसन्धान गर्न अप्ठेरो परेको प्रहरीले जनाएको छ।

अहिले उपत्यकाका तीन जिल्लामा तीन सय सिसिटिभी क्यामेरा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए। तीन सय क्यामेरामध्ये ५० भन्दा बढीले काम गर्न छाडेको उनले बताए।

'उपत्यकाको ट्राफिक अवस्था र अपराधलाई हेर्दा यति क्यामेराले पुग्दैन,' प्रवक्ता मल्ल भन्छन्, 'पर्याप्त क्यामेरा नहुँदा अपराधलगायत घटनाबारे यथेष्ट जानकारी लिन अप्ठेरो परेको छ।'

उनका अनुसार सिंहदरबार, भद्रकाली, गौशाला, बौद्ध, चावहिल, जोरपाटी, कालिमाटी, कलंकी, थापाथली, कुपण्डोल, लैनचौर, ऐयरपोर्ट, जावलाखेल, कुमारीपाटीलगायत स्थानमा सिसिटिभी क्यामेरा राखिएको छ।

महाशाखाका एसपी नरेश श्रेष्ठ उपत्यकाको अपराध, चोरी, सुरक्षा र दुर्घटना हेरी ३० हजारभन्दा बढी क्यामेरा आवश्यक भएको बताउँछन्।

'अहिलेसम्मका सबै क्यामेरा महाशाखाले नै जडान गरेको हो। जडान गर्न रकम अभाव भएकाले हरेक वर्ष ५० का दरले थप्दै गएका छौँ,' एसपी श्रेष्ठले भने, 'यो वर्ष पनि थप्ने योजना छ।'

पर्याप्त सिसी क्यामेरा नभएकाले कतिपय चोरी, लुटपाटमा संलग्नलाई पक्रन समस्या भएको प्रहरीको भनाइ छ। 

अपराधी समाउन र अपराध प्रकृतिबारे जानकारी लिन सिसी क्यामेरा प्रहरीलाई आवश्यक भए पनि यसबारे अन्य सरकारी निकायले चासो नदिएको ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाछेँथुले जानकारी दिए।

'उपत्यकाका धेरै ठाउँमा सिसी क्यामेरा जडान हुन नसक्दा अपराध नियन्त्रण कार्य प्रभावकारी हुन सकेको छैन,' उनले भने, 'एक्लो ट्राफिक प्रहरीले मात्र सबै ठाउँमा सिसी क्यामेरा जडान गर्न सक्दैन।'

उपत्यकामा जडान गरिएका क्यामेरा कमसल, पुराना र थोरै क्षेत्रफल ओगटेकाले त्यति प्रभावकारी देखिएको छैन। यस्ता ठाउँमा इन्टरनेट जडान गरिएका र धेरै ठाउँ ओगट्ने खालका सिसी क्यामेरा आवश्यक रहेको महाशाखा प्रवक्ता मल्ल बताउँछन्। 'भीडभाड र व्यस्त ठाउँमा सिसी क्यामेरा जडान गर्ने हो भने प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुन्छ,' उनले भने, 'सिसी क्यामेराको सहायताले कतिपय गोप्य घटना पनि पत्ता लगाउन सकिन्छ।'

ललितपुरमा पनि यसको पर्याप्त प्रयोग नहुँदा प्रहरीलाई अपराधसम्बन्धी अनुसन्धान गर्न अप्ठेरो परेेको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ।

ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक ठूले राईले सिसी क्योमराको प्रभावकारी प्रयोग नभएकै कारण घटनाको सत्यतथ्य अनुसन्धान गर्न कठिन परेको बताए। 

ललितपुरमा यसअघि उद्योग वाणिज्य संघ र सेफर भिजन संस्थाले १३ सिसी क्यामेरा जडान गरेका थिए, तीमध्ये नौ क्यामेरा काम नगर्ने अवस्थामा छन्। बाँकी चारवटाले पनि चर्को घाम लागेका बेला काम नगर्ने महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी निरीक्षक ज्योतिराज शर्माले बताए। 'चोरी र लुटपाट हुने स्थानमा क्यामेराको अभावै छ। चोरी, लुटपाट, डकैैतीजस्ता घटनाको सत्यतथ्य पत्ता लगाउन सिसी क्यामेराको ठूलो सहयोग हुन्छ,' उनले भने। सिसी क्यामेरा थप्न बारम्बार उपहानगरपालिकासँग कुरा उठाए पनि सुनुवाइ नभएको उनको भनाइ छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App