१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल-भारतबीच प्रसारण लाइनबारे छलफल

काठमाडौं- अन्तरदेशीय प्रसारणलाइन निर्माण, विद्युत व्यापार, यसअघि भएका सम्झौता र तिनको कार्यन्वयनमा भएको प्रगति लगायत विषयमा सोमबार नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्ल्युजी) बैठकमा छलफल भएको छ।

दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकमा भएको छलफलका आधारमा मंगलबार (आज) बस्ने संयुक्त सचिवस्तरीय स्थायी समिति बैठकले निष्कर्ष निकाल्ने र ती विषयलाई अनुमोदन गर्नेछ।

बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र भारतीय टोलीको नेतृत्व केन्›ीय विद्युत नियमन आयोगको अध्यक्ष आर के बर्माले गरेका छन्। जेडब्ल्युजी बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० र ४०० केभीमा चार्ज गर्ने, बुटबल गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि काम सुरु गर्ने विषयमा छलफल भएको थियो।

बैठकमा भारतको अनुदानमा निर्माण पूरा हुन लागेको परवानीपुर–रक्सौल र कटैया–कुशाहा १३२ केभी प्रसारण लाइनबाट बिजुली आयातको विषयमा पनि छलफल भएको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले सोमबार नागरिकलाई बताए। 'आज दुई देशबीच छलफल मात्र भएको र भोलि बस्ने बैठकपछि मात्र निर्णयमा पुग्ने छौं,' उनले सोमबार नागरिकसँग भने, 'बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट उत्पादन हुने बिजुलीको विषयमा पनि छलफल भएको छ।'

बैठकमा दुई देशबीच भएको विद्युत व्यापार सम्झौता (पिटिए) कार्यन्वयनका विषयमा पनि छलफल भएको थियो। बुटबलदेखि भारतको गोरखपुरसम्म प्रसारण लाइन निर्माणका लागि भएको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल भएको एक सहभागीले बताए।

कटैया–कुशाहाबाट ५० र परवानीपुर–रक्सौलबाट ५० मेगावाट थप बिजुली आयात गर्ने विषयमा पनि छलफल भएको थियो। कटैया–कुशाहाको काम सकिएको छ। रक्सौल–परवानीपुरको अन्तिम चरणमा पुगेको छ।

बैठकमा अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनाको बिजुली निकासीका लागि आवश्यक प्रसारण लाइन बनाउने विषयमा पनि छलफल भएको सहसचिव घिमिरेले जानकारी दिए। बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट उत्पादन हुने बिजुलीको विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

प्रकाशित: ३ फाल्गुन २०७३ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App