१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता हुन् नाजिर हुसेन। रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई 'अभिनयको जादुगर'सम्म भन्न भ्याउँछन्। मधेश र मधेशीलाई नेपाली फिल्मले बेवास्ता गरिरहेकै बेला उनी लगातार मधेशी चरित्रमार्फत फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन्। उनले अभिनय गरेका नाटक 'माथा पन्चर', 'डिग्री माइला', 'चरनदास चोर' रुचाइए। 'होस्टेल रिटर्न्स', 'जंगे', 'पुन्टे परेड' आदि फिल्ममा उनले अभिनय गरेका छन्। उनी अभिनीत फिल्म 'वीर विक्रम' र 'गाँठो' प्रदर्शनको तयारीमा छ। उनीसँग धनबहादुर खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः

तपाईंको घाँटीमा लकेट त कहिल्यै छुट्दैन नि!
यो जिम्बे हो, अफ्रिकाको बाजा। म प्रायः यो लाइरहेकै हुन्छु। मलाई मेरो घाटीमा लगाएको लकेट बजारमा पाइने अन्य लकेटभन्दा एक्स्ट्रा होस् भन्ने लाग्छ। पहिला डान्स सिक्दा जिम्बे भएको संगीत बढी प्रयोग हुन्थ्यो। मलाई यो जिम्बेको लकेटले ती पुराना दिन सम्झाउँछ। त्यही भएर पनि म लगाइरहन्छु।

तपार्इं पर्दाबाहिर पर्दाभन्दा फरक गेटअपमा देखिनुहुन्छ। धेरैले नचिन्दा हुन्?
हो। फेसबुकमार्फत मसँग जोडिएका साथीले चाहिँ मलाई बाहिर चिन्छन्। नत्र धेरै झुक्किन्छन्। धेरैले मलाई नाजिर हुसेन भन्दा पनि क्यारेक्टरका रूपमा चिनिरा'हुन्छन्। चिन्नेले बाटोमा हिँड्दा घेर्छन्। फोटा खिच्छन्। अनि, फिल्म 'होस्टेल रिटर्न्स'मा मैले बोलेको डायलग 'ओए, अकेले छ भनेरे हेपेको' भन्न लगाउँछन्। कहिलेकाहीँ म ट्याक्सीमा चढेको बेला बाटोमा उभिनेले चिनेको जस्तै गरी हेरिरा'हुन्छन्। त्यतिखेर रमाइलो लाग्छ। अस्ति भर्खर म कोठाछेउको डिपार्टमेन्ट स्टोर पसेको थिएँ। त्यहाँ एउटा जोडीले मलाई नियालिरहेको थियो। दुईमध्ये एकले 'ऊ त्यो 'जंगे' फिल्मको भकु होइन?' भन्दै थियो। अर्कोले 'होइन, कहाँ यहाँ भेटिन्छ र?' भन्दै डिसकस गरिरहेका थिएँ। पछि उहाँहरूले मलाई सोध्नुभयो। मैले 'हो' भनेपछि फोटो खिचाउनुभयो।

तपाईंका फ्यान कस्ता–कस्ता खालका छन्?
फ्यान नै भन्दिनँ। तर, कामलाई स्विकार्नेहरू चाहिँ छन्। धेरैजसो परिपक्व उमेरका पुरुष प्रशंसक भेटेको छु। युवा पुस्तामा चाहिँ ९० प्रतिशत केटी प्रशंसक छन्। फेसबुकमा पनि उनीहरू रमाइलो–रमाइलो म्यासेज पठाइरहेका हुन्छन्। कोहीले 'तपाई त पर्दाबाहिर क्या ह्यान्डसम् हुनुहुँदोरै'छ' भन्छन्। कोहीले 'क्या, गुड लुकिङ' भन्छन्।

साँच्चै मन पराएजस्तो महसुस हुन्छ कि हुँदैन?
नाटक गर्दाताका कसैले 'आई लभ यू' भन्दा पनि अर्कै फिल हुन्थ्यो। अहिले चाहिँ मलाई होइन, क्यारेक्टरलाई भनेजस्तो लाग्छ। त्यसैले प्रशंसकको प्रेमलाई 'पोजिटिभ्ली' लिन्छु।

सुरु–सुरुमा तपार्इं मिडियासँग बोल्नुपर्छ भनेर भाग्नुहुन्थ्यो, लजाउनुहुन्थ्यो। अहिले त निकै फ्य्रांक भइसक्नुभएछ!
हो। पहिले–पहिले अन्तरवार्ता दिनुपर्छ, दर्शकसँग अन्तरक्रिया गर्नुपर्छ भनेर नाटक सकिने बित्तिकै थिएटरबाट भाग्थेँ। बोल्न भनेपछि एकदमै अप्ठ्यारो लाग्थ्यो। अहिले धेरै बोल्न थालिसकेछु। धेरैले भन्नुहुन्छ 'क्या बोल्ने भा'को'। फिल्मको प्रेस मिटमा अरू कलाकारले राम्रोसँग बोलेको देखेर मलाई पनि बोल्नुपर्छ भन्ने महसुस भएको हो।

तपाईं फिल्ममा प्रायः मधेशी पात्रको भूमिकामा देखिनुहुन्छ। दर्शकले मन पनि पराएका छन्। आफूलाई चाहिँ कस्तो लाग्छ?
मैले नेपाली फिल्म हेर्न थालदेखि नै मधेशी पात्रलाई सधैँ हेपेको मात्र पाएँ। सधैँ मधेशी पात्रलाई स–सानो भूमिकामा राखिन्थ्यो। कहिले चटपटे बनाउने त कहिले कपाल काट्नेको रोलमा देखाइन्थ्यो। मात्र कमेडीका लागि उनीहरूलाई प्रयोग गरिन्थ्यो। यस्तो देख्दा एकदमै दुःख लाग्थ्यो। मलाई लाग्थ्यो– उनीहरूको पनि जीवन हुन्छ। उनीहरूको पनि आफ्नै लवाइखुवाइ र रहनसहन हुन्छ। म त्यो जीवनलाई सशक्त रूपमा निर्वाह गर्न चाहन्थेँ। फिल्ममा मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न चाहन्थेँ। 'होस्टेल रिटर्न्स' र 'जंगे'मा मैले त्यो भूमिका निर्वाह गर्न पाएँ। 'होस्टेल रिटर्न्स'मा मैले निर्वाह गरेको रामेश्वर यादवको चरित्रले खूब चर्चा बटुल्यो। युट्युबमा हालिएको एक हप्तामै फिल्म हेर्ने दर्शकको संख्या १० लाख पुग्यो। सिक्स प्याक शरीर, गुड लुकिङ, क्युट स्माइल र गोरो अनुहार खोज्ने हाम्रा दर्शकमाझ म पनि रुचाइए। मैले कहिल्यै पनि नाम कमाउँछु भनेर काम गरिनँ र गर्दिनँ पनि। तर, दर्शकको यस्तो प्रेमलाई म प्रेरणाको स्रोत मान्छु।

अभिनय गर्ने तपार्इंको सानैदेखिको रुचि हो?
मलाई सानैदेखि नाटक गर्ने मन थियो। मेरो बुबा जादुगर हुनुहुन्छ। उहाँ गाउँमा जाँदु देखाउनुहुन्थ्यो। १०–११ वर्षको उमेरदेखि नै बिदाको समयमा बुबासँगै हिँड्थे। बुबाको जादु देखाउने कार्यक्रम सुरु हुनुअघि म नाच्थेँ। त्यतिबेला दर्शकले बजाउने तालीले मलाईं सधैँ लोभ्याउँथ्यो। तर, मैले चारवर्ष नाटकमा काम गर्दासम्म फिल्ममा काम गर्छु भन्ने चाहिँ लागेको थिएन। मसँगै नाटक गर्नुहुने विजय बराल (दाइ)ले फिल्ममा काम गरेको देख्दा मलाई पनि काम गर्ने मोह जागिसकेको थियो।

बुबाबाट जादु पनि सिक्नुभयो क्यारे!
'नजिकको तीर्थ हेला' भन्छन्, हो रै'छ। आफ्नै बुबा जादुगर हुँदा पनि मैले जादु सिक्नमा त्यति रुचि देखाइनँ। एकदुइटा जादु चाहिँ सिकेँ।

नाटकबारे कहिलेबाट थाहा पाउनुभयो?
कक्षा ६ मा पढ्दा रंगकर्मी राजन खतिवडाले गाउँमै (बारा) नाटकबारे वर्कसप गराउनुभएको थियो। त्यतिबेला नाटकबारे धेरै कुरा बुझ्ने मौका मिल्यो। पछि गाउँमा हुने थुप्रै सचेतनामूलक नाटकमा काम पनि गरेँ।

गाउँबाट राजधानी नाटक गर्छु भनेरै छिर्नुभएको हो?
होइन। सानैदेखि म नृत्यको सोखिन। ११ कक्षामा पढ्दाको कुरा हो, मेरो दिदी राजधानीमा हुनुहुन्थ्यो। उहाँले मलाई 'कन्टेम्पोररी डान्स वर्कसप'मा सहभागी हुने अवसर जुटाइदिएको भनेर काठमाडौँ बोलाउनुभयो। त्यो वर्कसपमा सबै विदेशी थिएँ। ममात्र नेपाली थिएँ। पाँच हप्तासम्म चलेको थियो वर्कसप। त्यो वर्कसपमा सहभागी कलाकारको अभिनय क्षमता देखेर म लोभिएँ। त्यसपछि मैले रंगकर्मी राजन खतिवडालाई फोन गरेर 'म पनि नाटक सिक्छु' भने। उहाँले मण्डला थिएटरमा बोलाउनुभयो। यसरी नै नाटकमा लागेको हुँ।

पर्दामा तपार्इंको नृत्य कहिले देख्न पाइन्छ त?
प्रोफेसनल डान्सर बन्ने सोच छैन अब। अभिनयको रस लागेपछि मैले व्यावसायिक रूपमा नाच्न छाडिसकेँ। आफ्नै लागि कहिलेकाहीँ नाच्छु। दयाहाङ राईका प्रायः नाटकमा म कोरियोग्राफी गर्छु।

कलाकार भएपछि नाच्न जान्नु त फाइदाजनक होइन र?
त्यो त हो। तर, अहिलेसम्म कसैले नचाएनन् त। मेरा दुई फिल्म 'वीर विक्रम' र 'गाँठो' प्रदर्शनको तयारीमा छन्। ती फिल्म रिलिज भइसकेपछि मलाई अब 'कमर्सियल हिरो' का रूपमा देखिन मन छ। मधेशी पात्रको भूमिकालाई दोहोर्यालउन मन छैन। मलाई 'टाइप कास्ट' हुन मन छैन। 'भर्सटायल' भएर निस्किन मन छ। दर्शकमाझ 'रोमान्टिक लभर ब्वाइ'का रूपमा उदाउन मन छ।

हामीकहाँ थिएटरका कलाकारलाई 'हिरो' भन्दा पनि सधैँ चरित्रका रूपमा देखाइन्छ। यसमा तपाईंको चित्त दुखाइ हो?
हो। मेरो विचारमा निर्माता/निर्देशक थिएटरका कलाकारलाई चरित्रका रूपमा फिल्ममा लिन्छन्। उनीहरू थिएटरका कलाकार पनि उहाँहरूले सोचेजस्तो 'कमर्सियल हिरो' हुन सक्छ भन्ने मान्यता राख्दैनन्। म त्यो मान्यता तोड्न चाहन्छु। बरु, म एक वर्ष तयारी गर्छु। तर, त्यस्तै हिरो बन्न मन छ। त्यसका लागि 'रिस्क' लिन पनि तयार छु। त्यही भएर जिम सुरु गरेको छु।

तपाईंलाई 'हिरो'मा नेपाली समाजले पाउने पुरानो चित्र अहिले मेटिएजस्तो लाग्छ?
दयाहाङ राई र सौगात मल्लले त्यो चित्रलाई मेटाइदिनुभयो जस्तो लाग्छ। रोनाधोना, नाचगान र धमाकेदार इन्ट्री नगरीकनै उहाँहरू दर्शकमाझ लोकप्रिय हुनुभयो। तर, यो भन्दैमा 'हिरो'को पुरानो चित्र दर्शकको मानसिकताबाट पूर्ण रूपमा हटेको चाहिँ छैन। अर्को कुरा, हामीकहाँ 'यो धार र त्यो धार' भनेर खूब चर्चा हुन्छ। मलाई चाहिँ धारमा मतलब लाग्दैन। फिल्म धारमा निर्भर भएर भन्दा पनि धारिलो बन्नुपर्छ भन्ने लाग्छ।

तपार्इंले अहिलेसम्म निर्वाह गरेका मध्ये सबैभन्दा गाह्रो लागेको भूमिका कुन हो?
रिलिजको तयारीमा रहेको 'गाँठो' फिल्मको चरित्र हो। त्यो चरित्र निर्वाह गर्नका लागि मैले डेढ महिना काम गरेको थिएँ। एउटा 'रियल क्यारेक्टर'सँग मिल्दोजुल्दो चरित्र हो त्यो। जसका लागि म ती व्यक्तिसँग डेढ महिना सँगै बसेँ।

'होस्टेल रिटर्न्स'मा तपाईंले निर्वाह गरेका रामेश्वर यादवको चरित्र पनि तपाईंको आफ्नै साथीबाट प्रभावित रे!
हो। मसँग एकदमै मिल्ने साथीको 'क्यारेक्टर' थियो त्यो। हामी काम पनि सँगै गर्छौं। फिल्ममाझैँ ऊ पनि जनकपुरकै हो। नाम चाहिँ भन्दिनँ म। उसले फिल्म हेरेपछि मलाई 'राम्रो गरिस्' भनेर प्रतिक्रिया दिएको थियो। वर्कसपका बेला उसले धेरै सहयोग गरेको थियो। मेरा सबै डायलग उसले मैथिलीमा लेखिदिएको थियो। अनि, फेरि मैले त्यसलाई नेपालीमा एडप्ट गरेर बोलेको थिएँ। त्यस्तै, फिल्म 'जंगे' को भकु भन्ने चरित्र पनि वसन्तपुरको एकजना मानिसबाट प्रभावित हो। मैले त्यो चरित्र निर्वाह गर्नुभन्दाअघि ती व्यक्तिलाई तीन दिनसम्म उसले थाहा नपाउने गरी टाढैबाट नियालेको थिएँ। मलाई मैले निर्वाह गर्ने 'क्यारेक्टर' मौलिक होस् भन्ने लाग्छ।

'वीर विक्रम' र 'गाँठो'मा दर्शकले तपाईंलाई कस्तो भूमिकामा देख्न पाउनेछन्?
'वीरविक्रम'मा मैले तल्लो जातको क्यारेक्टर निर्वाह गरेको छु। मैले अहिलेसम्म कमेडी जनराको चरित्रमात्र निर्वाह गरिरहेको छु। मेरो चरित्रले दर्शकलाई हँसाइरहेको हुन्छ। 'गाँठो'मा चाहिँ एकदमै फरक खाले भूमिका छ।

नाटक र फिल्ममध्ये केमा काम गर्दा बढी मज्जा लाग्छ?
सुरुवात नाटकबाटै गरेर होला मलाई नाटकमा अलि बढी मज्जा लाग्छ। त्यहाँ फेस टू फेस प्रतिक्रिया पनि पाइन्छ। ताली पनि पाइन्छ। तर, रमाउन चाहिँ दुवैमा रमाउँछु।

अभिनयका हिसाबले तपार्इं कुन कलाकारबाट प्रभावित हुनुहुन्छ?
मलाई नेपालमा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा मन पर्छन्। बलिउडमा इरफान खान, नसरुद्दीन शाह, कोंकणा सेन मन पर्छन्।

कुनै हिरोइन छ, जोसँग स्त्रि्कन सेयर गर्न मन छ?
फिल्म 'ड्रिम्स' हेरेपछि मलाई अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको अभिनय एकदमै मन पर्यो।। नयाँ भए पनि राम्रो काम गर्नुभएको छ। मलाई उहाँसँग अनस्त्रि्कन देखिन मन छ। रेखा थापासँग पनि काम गर्न मन छ। जोडी त मलाई नम्रता श्रेष्ठसँग पनि बाँध्न मन छ। तर, के गर्ने भाइ भन्दिएलान्?

प्रकाशित: ११ जेष्ठ २०७३ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App