१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोकिएन अव्यवस्थित पार्किङ

ललितपुर- खाल्डाखुल्डी सडक, धुवाँधुलो र लामो समयसम्म ट्राफिक जाम। अचेल राजधानीको कलंकी–कोटेश्वर सडकमा यात्रा गर्ने जोकोहीले भोग्नुपरेको समस्या हो यो। यही सडकको एकान्तकुना क्षेत्रमा ललितपुर उपमहानगरपालिकाले सवारी पार्किङका लागि ठेक्का दिँदा ट्राफिक जाम बढेको मात्र छैन, सडक विस्तार कार्यमा पनि असर परिरहेको छ। पार्किङका लागि ठेक्का दिने ललितपुर उपमहानगरपालिकाले भने समस्या समाधानमा चासो देखाएको छैन। 

विस्तारका लागि काम भइरहेको सडकमा सवारी पार्किङ हँुदा लामो समयसम्म सवारी अवरुद्ध हुने गरेको छ। तर उपमहानगर पार्किङ रोक्न अग्रसर देखिएको छैन।  

उपमहानगरपालिकाले एक वर्षअघि एकान्तकुना सडक किनारमा सवारी पार्किङको ठेक्का दिएको थियो।

सडकमै पार्किङ गर्दा विस्तार कार्य अवरुद्ध हुने गरेको चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ। 'सडक विस्तार कार्यमा अवरोध पुगेपछि हामीले पार्किङ हटाउन ललितपुर उपमहानगरपालिकालाई बारम्बर आग्रह गरेका थियौं', आयोजनाका निमित्त प्रमुख रमेश दृष्टिले भने, 'उपमहानगरपालिकाले अटेरी गरेको छ।'

सडकमा सवारी पार्किङ गर्दा विस्तार कार्यमा  असर परेको उनले बताए।

निर्माणाधीन सडक ठेक्का दिँदा दिनहुँ ट्राफिक जामसमेत हुने गरेको छ। सडकमै पार्किङ गराएर ठेकेदारले चर्को शुल्क असुलिरहे पनि प्रहरी प्रशासन मौन छ।

एकान्तकुनास्थित यातायात विभागअगाडिको चक्रपथ किनारमा गरिने पार्किङले बिहान र बेलुकी कार्यालय समयमा सातदोबाटोदेखि नक्खुसम्म ट्राफिक जाम हुने गरेको छ। ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाछेंथुले पार्किङ रोक्न 'निषेधित क्षेत्र' भनेर बोर्ड राख्दा पनि ठेकेदारले बेवास्ता गरेको जानकारी दिए। 'उपमहानगरपालिकाले ट्राफिक प्रहरीलाई जानकारी नै नदिई पार्किङको ठेक्का दिएको रहेछ। सडक विस्तार भइरहेको ठाउँमा यसरी पार्किङ स्वीकृति दिनु राम्रो होइन,' उनले भने। ठेकेदारका तर्फबाट पार्किङ शुल्क उठाउन उपमहानगरपालिकाको परिचयपत्र लिएका सात कर्मचारी खटिएका छन्।

पार्किङको ठेक्का लिएका ठेकेदार सुनिल खड्गीले एक वर्षको सम्झौता भएकाले अवधि नसकिई आफूले नछाड्ने बताए। उनले उपमहानगरपालिकाले तोकेका सबै मापदण्ड पूरा गरी आफूले सवारी पार्किङ ठेक्का लिएको बताए। 'सम्झौताअनुसार अझै ९ महिना बाँकी छ,' उनले भने।

ललितपुर उपमहानगरपालिका राजस्व विभाग प्रमुख डिल्लीराज शाक्यले यस वर्ष पार्किङ सम्झौता नथपिने बताए। उनले एक वर्षअघि तत्कालीन कार्यकारी प्रमुख ताराबहादुर कार्कीले पार्किङ ठेक्काको स्वीकृति दिएको तर नयाँ कार्यकारीले उक्त विषयलाई बेवास्ता गरेको आरोप लगाए।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले सडक विस्तारमा अवरोध पुगेकाले पार्किङ तत्काल हटाइने जानकारी दिए।

प्रकाशित: २१ माघ २०७३ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App