१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मिति तोक्दा निर्वाचन भएन भने? : प्रधानमन्त्री

पर्वत— प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल निर्वाचन घोषणा नहुने संकेत गरेका छन्। माघ १५ सम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका दाहालले पर्वत अाएर तत्काल मिति घोषणा नहुने संकेत गरेका हुन्।

बिहिबारदेखि सुरु पाँचौ पर्वत महोत्सवको कुश्मामा उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने–‘मिति तोक्दा निर्वाचन भएन भने घोषणाको अर्थ रहँदैन।’

‘सरकार वातावरण बनाउदै जान्छ, केही विपक्षी नेताहरु भाड्दै जानुहुन्छ, त्यसैले निर्वाचनको वातावरण बन्न सकेको छैन।’

अाफू निरन्तर निर्वाचनको वातावरण बनाउन लागेको भन्दै प्रधानमन्त्री दाहालले असन्तुष्टलाई सहमतिमा नल्याएसम्म मिति घोषणा गर्नुको औचित्य नहुने बताए। नयाँ संविधानप्रति असन्तुष्ट मधेश र थारु समुदायलाई विश्वासमा नलिइ चुनाव नहुने उनको भनाइ थियो।

‘मधेश र थारुलाई विश्वासमा नलिइ चुनावमा जाने कुरा हुँदैन, हिमाल, पहाड, तराई मधेशलाई जोडेर चुनावमा लैजाने मेरो योजना हो’ मिति घोषणामा ढिलाई हुनुको कारण खोल्दै दाहालले भने–‘सरकार वातावरण बनाउदै जान्छ, केही विपक्षी नेताहरु भाड्दै जानुहुन्छ, त्यसैले निर्वाचनको वातावरण बन्न सकेको छैन।’

उनले तत्काल निर्वाचन घोषणा गरेर निर्वाचन नहुने परिस्थिति बनाउनुभन्दा केही दिन पर्खेर भएपनि वातावरण बनेपछि मिति घोषणा गर्ने सरकारले सोच बनाएको बताए । संविधान कार्यान्वयनमा निर्वाचन जरुरी रहेको भन्दै जसले धेरै निर्वाचनका कुरा गरिरहेको छ त्यसले सबैभन्दा बढी परिस्थिति भड्काएको उनले आरोप लगाए ।

‘सबै पक्षलाई मिलाउनेगरी वातावरण बन्छ कि भन्यो केही ब्यक्तिले भड्काउन खोज्छन्’ संविधान संसोधनको बिरोध गर्दै आएको एमालेप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने–‘चुनाव, चुनाव, चुनाव भन्ने अनि वातावरण बन्नै नदिने, यो कस्तो चरित्र हो ?’

स्थानीय निर्वाचन लामो समयदेखि नहुँदा स्थानीय क्षेत्रमा जाने बजेट दुरुपयोग भएको गुनासो आएकोले पनि स्थानीय तहमा छिटो निर्वाचन आवश्यक भएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

‘स्थानीय निकायमा लामो समय चुनाव नभई दलिय प्रतिनिधिले चलाउदा बिकृतिहरु देखिएका छन्, त्यसलाई अन्त्य गरी बजेटको सही सदुपयोग गर्न पनि चुनाव छिटो हुनुपर्ने सरकारको मत छ’ उनले भने ।

प्रकाशित: १३ माघ २०७३ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App