१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मूर्ति जाेगाउन ४० वर्षदेखि दैनिक डोकोमा बोकेर घरमा

पाल्पा– मन्दिरका मूर्तिहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दिरमा मूर्तिलाई लुकाएर संरक्षण गरिँदै आएको छ। मन्दिरका पूजारीहरुले पूजापाठ सकेर दिनहुँ मूर्ति बोकेर लैजाने गर्दछन्। अर्को दिन बिहानै उक्त मूर्ति बोकेर मन्दिरमा ल्याई पूजापाठ गरी पूनः लैेजाने गर्दछन्।

ताहुँ–८ पाल्पामा रहेको रम्भादेवी मन्दिरमा विगत ४० वर्षदेखि यसरी नै मूर्तिको संरक्षण हुँदै आएको छ। २०३२ सालमा सुनको जलप लगाएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पूजारीहरुले डोकोमा बोकेर मूर्ति ल्याउनेलैजाने गर्दै आएका हुन्। मन्दिरका दुई पूजारी मध्ये एक जनाले मूर्ति र शीला बोकेर मन्दिरमा आउँछन् । अर्का पूजारीले अक्षता घर घरमा उठाउँदै मन्दिर पुग्ने गर्दछन्।   

बस्तिदेखि टाढाको घना जंगलको बीचमा रम्भापानीको मन्दिर रहेकोले राति मूर्ति र शीला चोरी हुने डरले पुजारीले सँधै ताहुँ बजारको घरमा ल्याउने र लैजाने गर्दै आएका हुन्। पूजारीले दिनहुँ घरमा लैजाने गरेको मूर्ति पित्तलको र शीला भने स्वयं उत्पत्ति भएको मानिने भएकोले सुरक्षाको लागि घरमा लैजाने र घरबाटै ल्याउने गरेको पूजारीहरु बताउँछन्। पूजारी टिकाराम बस्यालले आफूहरुले पालो गरेर प्रत्येक दिन मूर्ति सुरक्षाका लागि एक व्यक्तिको घरमा लगेर राख्ने गरेको बताए।

‘मूर्तिहरु चोरिने डरले ४० वर्ष अगाडिदेखि यस्तै गरिएको छ,’ उनले भने, ‘मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु सकिएपछि साँझको पूजाआजा गरी डोकोमा बोकेर लैजाने गरेका छौं।’

मन्दिरका अर्का पूजारी प्रेमनारायण पाण्डे भन्छन्, ‘जंगलमा मन्दिर भएकोले राति सुरक्षाका लागि चौकिदार बस्न पनि कोही मान्दैन। अरु उपायभन्दा घर लैजाने र ल्याउने नै सबैभन्दा राम्रो विकल्प देखेर यस्तो गरिँदै आएको छ। पश्चिम क्षेत्रमा यस मन्दिलाई निकै महत्वपूर्ण तीर्थस्थलको रुपमा लिने गरिएको छ।

भगवान् सीताराम १२ वर्षे वनबासको क्रममा यहाँको जंगलमा आईपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सीता छट्पटाएपछि रामले वाण जमिनमा हानेर पानी निकालेर खुवाएको कींवदन्ति रहेको छ । रम्भापानी मन्दिरको ठिकमाथि पानीको मूल निस्किएको छ र सोही पानी मन्दिरको काममा प्रयोग गरिँदै आएको स्थानीय रामप्रसाद श्रेष्ठ बताउँछन्।

मन्दिरमा छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत, रुपन्देही, नवलपरासीका साथै भारतका तीर्थालुहरुसमेत आउने गरेका छन्। मन्दिर साउन १ देखि १५, एकादशी र त्रयोदशिका दिनमा बन्द हुने गरेको छ। मन्दिरमा तत्कालीन कमाण्डर ईन चिफ रुद्र शमशेरले वि.सं. १९९९ मा गहना र घण्टा चढाएको किंम्बदन्ती छ।

प्रकाशित: १३ माघ २०७३ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App