४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

क्रान्ति गाउने रानुदेवी

आज देशको क्रान्तियुद्धमा हाम्रो एक प्रकाश होस्
लड्दालड्दै मरे मरौँला यो एउटा नै नारा होस्

तारिणीप्रसाद कोइरालाको शब्द र संगीतमा रानुदेवी अधिकारीको स्वर रहेको यो गीतनेपाल प्रजातन्त्र रेडियोबाट प्रसारण भएको थियो ।

राणाशासन मास्ने आन्दोलनका सिलसिलामा नेपाली कांग्रेसले विराटनगरस्थित रघुपति जुट मिललाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसै मिलमा नेपाली कांग्रेसले नेपाल प्रजातन्त्र रेडियो स्टेसनको स्थापना गरेको थियो ।

रानुदेवीले त्यस्तो बेला यो गीत गाएकी थिइन्, जुन बेला राणा शाहीलाई बढार्न सारा नेपाली एक जुट भएका थिए । त्यतिखेर वीर नेपालीलाई क्रान्तिमा सामेल गराउन, क्रान्तिमा समर्पित गराउन र विजय गराउन रानुदेवीको स्वरले आफ्नै प्रकारको सक्रिय भूमिका निर्वाह गरेको थियो । 

क्रान्तिको शंखनाद भएताका विराटनगर रेडियो स्टेसनबाट क्रान्तिकारी गीतहरू बराबर बजाउने अभिप्रायः राखिएको थियो । जसो गरेर भए पनि राणाशाही समाप्त पार्न त्यतिखेर नेपाली जनता धुरिएका थिए । क्रान्तिकारीहरूलाई अझै तताउन, राणाविरोधी गतिविधिलाई अझै सशक्त तुल्याउन र जनतालाई सकेसम्म आन्दोलित बनाउन वीररसका क्रान्तिकारी शब्द, संगीत र स्वर पनि त्यत्तिकै आवश्यक थियो । त्यसै परिवेशमा रानुदेवीले रेडियोबाट आफ्नो कोकिल स्वर गुन्जाएकी थिइन् । वास्तवमारानुदेवीको औपचारिक गायनयात्राको श्रीगणेश पनि त्यहीँबाट प्रारम्भ भएको हो । २००६सालमा उनले नेपाल प्रजातन्त्र रेडियोबाटै पहिलोचोटि ‘नेपाली अघि बढ हातमा क्रान्ति झन्डा लिई’ बोलको गीत गाएकी थिइन् ।

राणाविरोधी गतिविधिलाई अझै सशक्त तुल्याउन र जनतालाई सकेसम्म आन्दोलित बनाउन वीररसका क्रान्तिकारी शब्द, संगीत र स्वर पनि त्यत्तिकै आवश्यक थियो । त्यसै परिवेशमा रानुदेवीले रेडियोबाट आफ्नो कोकिल स्वर गुन्जाएकी थिइन् ।

हाम्रो समाजमा त्यतिबेला गीत गाउनेलाई राम्रो रूपमा हेरिँदैनथ्यो । हो, त्यस बेलाका मान्छेले गीत मन पराउँथे, गीत सुन्थे र गायकको प्रशंसा पनि गर्थे । यति हुँदाहुँदै पनि तल्लो वर्गका मान्छेले मात्र गीत गाउँछन् भन्ने मनोवैज्ञानिक धारणा पनि प्रशस्तै थियो । त्यसमाथि केटीहरूले गीत गाउनु भनेको टाउकाले पहरा फोर्नुझैँ मानिन्थ्यो । त्यस्तो समयमा रानुदेवीको साहसले चन्द्रमा छोएको थियो । उनी गीत गाएर नै समाजसामु प्रतिष्ठित बनेकी थिइन् । वास्तवमा त्यस घडी उनले हजारौँ सिस्नुका झ्याङ आफ्नै स्वरले फाँडिन्, हजारौँ काँडाघारीहरू आफ्नै स्वरले पन्छाइन्, हजारौँ बारहरू आफ्नै स्वरले भत्काइन् । उनको स्वरले गायक–गायिकाप्रतिको मान्छेको नकारात्मक भावनालाई पर्लक्कै पल्टाइदियो, सर्लक्कै पन्साइदियो र खर्लप्पै खाइदियो । उनको सुमधुर स्वरले नेपालीको मन जित्दै गयो ।श्रोताबाट उनले माया पाइरहिन् र गीत गाउन उत्साहित भइरहिन् :

जुनेली रात हजुर
गम्किन्छ बास हजुर
फागुनको शीतल बतास !
(स्वर : रानुदेवी अधिकारी, सङ्गीत : हियालाल मण्डल र कालुराम, शब्द : तारिणीप्रसाद कोइराला)

रानुदेवी सानैदेखि गीत गाउने गर्थिन् । उनको स्वरको मिठास र कारुणिकताबाट तारिणीप्रसाद कोइराला पनि परिचित थिए । कोइरालाले उनको स्वरलाई उज्यालोतिर ल्याउन निकै प्रयास गरे । कोइरालाकै सद्विचार, सक्रियता र इच्छाबमोजिम रानुदेवीले आफ्ना गीतहरू स्वरांकन गराएकी थिइन् । वास्तवमा कोइरालाको पहल र प्रयासमा उनले त्यो कालो युगमा पनि आपूmलाई गायनमा उभ्याउन सकेकी थिइन् ।

त्यस बेलाको नेपाली गायनको इतिहास भन्नु रानुदेवीको वैयक्तिक जीवनको पनि उल्लेखनीय पक्ष थियो, किनभने नेपालको रेडियोमा पहिलोपल्ट प्रवेश गरेको नारीस्वर नै उनको थियो । आजको रेडियो नेपालको पूर्वाधार नेपाल प्रजातन्त्र रेडियो भएकाले उनलाई रेडियो नेपालमा गीत गाउने पहिलो गायिका भनिएको हो ।

रानुदेवी बाबु संगीतको गहिरो पारखी थिए । उनी प्रायः आफ्नी छोरीलाई गीत गाउन लगाउँथे । छोरीको स्वरबाट उनी खुसी थिए । त्यसैले उनले रानुदेवीलाई यसै यात्रामा निरन्तर बढिरहन प्रेरित गर्थे ।

रानुदेवी घर–परिवारबाट गायनयात्राका लागि स्वतन्त्र छाडिएकी थिइन् । यसै प्रसंगमा उनले भनेकी थिइन्, ‘मैले गायनक्षेत्र अँगाल्दा कुनै पनि पारिवारिक समस्या भोग्नुपर्ने स्थिति भएन । मेरा परिवारका सबै सदस्य अत्यन्तै उदार विचारका थिए । साथै उनीहरू नारीस्वतन्त्रताका पक्षधर पनि थिए ।’ 

वास्तवमा आफ्ना पतिलगायत सासूससुरा र माइती–मावलीबाट पनि अधिकारीले यस बाटोमा क्रियाशील हुने शुभेच्छा, शुभकामना र शुभाशीर्वाद पाएकी थिइन् । यसै अनुरूप उनी गायनमा अग्रसर थिइन् । उनी कामविशेषले काठमाडौं आउँदा फाट्टफुट्ट गीत रेकर्ड गर्थिन् । उतिबेला यातायातको असुविधा भएकालेउनलेचाहेर पनि गायनलाई निरन्तरता दिन सकिनन् ।  बिस्तारै उनी गायनक्षेत्रबाटै पलायन हुन बाध्य भइन् । विश्वस्त भएर भन्न सकिन्छ– उनको गायनयात्राले निरन्तरता पाएको भए उनीबाट नेपाली संगीत आकाशलाई अझ ठूलो योगदान हुने थियो । किनभने उनको स्वर ज्यादै मनमोहक थियो, मिठासले भरिएको थियो र सललल बग्ने खालको थियो:
चरी भुर्र उडी घरमा मेरो जा,
लिएर सन्देश ।
(स्वर : रानुदेवी अधिकारी, सङ्गीत : हियालाल मण्डल र कालुराम, शब्द : तारिणीप्रसाद कोइराला)

रानुदेवी आफ्ना छोरा अबिन तथा छोरीद्वय अर्चना र अल्पनालाई शिक्षा प्रदान गर्दै आपूm पनि अध्ययनमा जुटी शिक्षिकाका रूपमा आबद्ध थिइन् । उनी धेरै वर्षसम्म विराटनगरको आदर्श बालिका विद्यालयमा संलग्न रहिन् । उनको कोइलीको झैँ मीठो स्वर विद्यार्थीलाई किताब घोकाउनमै सीमित हुन पुग्यो । शैक्षिक पेसाजस्तो जटिल र कठिन कामले एउटा होनहार गायिकाको गायनयात्रा नेपाली भाषाले गुमाउनुप¥यो । किनभने रानुदेवी जुन काममा लाग्यो, त्यसमा पूर्ण रूपले निष्ठावान् हुन्थिन् । त्यसैले उनी गीत–संगीतबाट टुक्रिएर एउटी असल गुरुआमा बनेकी थिइन् ।

उनको स्वरमा सुन नै फल्थ्यो । उनको स्वरको तारिफ नेपालीले मात्र गरेनन्, उनको स्वरको प्रशंसा गर्नेहरू भारतमा पनि थिए । त्यसैले भारतीय सिनेजगत्का प्रसिद्ध संगीतकार एसएनत्रिपाठीले रानुदेवीलाई हिन्दी चलचित्रमा गीत गाउन धेरै आग्रह गरेका थिए । साथै दिल्ली रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रममा नेपाली गीत गाउन पनि उनलाई प्रस्ताव आएको थियो । त्यतिबेला उनको योग्यताको उचित मूल्यांकन गर्न खोजिँदा उनी आफ्नो कर्म भूमिबाट उम्कन पाएकी थिइनन् । पारिवारिक स्थितिलाई स्थिर राख्न पछिपछि उनले आपूmलाईस्कुलकी शिक्षिकामै केन्द्रित गर्नुपरेको थियो ।

सरल व्यवहारले खारिएकी, सादा भावनाले बाँधिएकी र सौम्य जीवनले उठेकी रानुदेवीले नेपाली संगीतमा चढाएको स्वरको पूmल अविस्मरणीय छ । नेपाली नारीहरू त्यतिखेर पनि कति स्वच्छन्दतामा उडेका थिए, बढेका थिए र हिँडेका थिए भन्ने एउटा दुरुस्त प्रमाण रानुदेवी थिइन् । उनी जति माथि चढिन्, सामाजिक जागरणका लागि अरूलाई प्रेरित गर्ने हिसाबमा नै रहिन् । उनले त्यतिखेर फलामका चिउरा चपाउने जुन साहस गरिन्, त्यस परिणामले उनी पछिल्ला पुस्ताका लागि पथप्रदर्शक नै भइन् । उनको त्यसै बेलाको गीतियात्रा नै सदासर्वदा स्तुत्य भयो ।

ईश्वरीप्रसाद उपाध्याय र इन्दिरा उपाध्यायका पाँचौँ सन्तानका रूपमा १९९३ मंसिर ११ गते वीरगन्जमा रानुदेवीको जन्म भएको थियो । उनी सानैदेखि मीठो बोलीवचनले सुसज्जित थिइन् । उनको विवाह१३ वर्षको उमेरमा तीर्थप्रसाद अधिकारीसँग भएको थियो । विवाहपछि उनले पतिको सहयोग पाएर पढ्न थालिन् । वास्तवमा उनले बिहेपछि नै औपचारिक रूपमा गीत गाउन सुरु गरिन् । नेपाल प्रजातन्त्र रेडियोमा पनि उनले पतिकै स्वीकृति पाएर गीत गाएकी थिइन् । उनका पति निकै भलादमी, उदार र सहृदयी थिए । त्यसैले रानुदेवीले गीत गाउँदै पढ्न पाइन् । पढ्दापढ्दै उनले इतिहासमास्नातकोत्तर गरिन् ।

उनी केही वर्षअघिदेखि अस्वस्थ थिइन्, खासगरी अल्जाइमर्स र पार्किन्सन्सबाट ।संसार कोरोनाले आक्रान्त भएका बेला (२०७७ वैशाख १८ गते राति)उनले काठमाडौंमा प्राण त्यागिन् ।

उनले औपचारिक रुपमा थोरै गीत गाइन् । थोरै गीत गाएर पनि माथिको बादल छुन यी सफल थिइन् । रेडियो नेपालमा उनका नौवटा गीत रेकर्डिङ भएका थिए । साथै नेपाल प्रजातन्त्र रेडियोबाट यिनले सैयौँ गीत गाएकी थिइन् । उनी गीतगायनमा जति उत्सर्गित थिइन्, घरपरिवारमा चारैतिरबाट यिनलाई त्यत्तिकै सहुलियत पनि थियो । आफ्ना अघिपछिका संरक्षकको साथ पाएर यिनले आफ्नो मीठो स्वर नेपाली गीतगायनका क्षेत्रमा रोप्तै गइन् । उनका गीत सुनेर उनका पति झनै मक्ख पर्ने गर्थे । वास्तवमा यो ममता रानुदेवीका लागि साक्षात पुरस्कार थियो । त्यसैले पनि उनी गीत गाउनमा सरिक भइरहिन् । उनको यो गीतियात्राले २०२३ सालमै बिदा मागे पनि उनी आफ्ना अतीतका स्वर सुनेर पूर्व स्मृतिमा उड्ने गर्थिन्, बग्ने गर्थिन् र हिँड्ने गर्थिन् ।

मेरो मुटुको माझमा कसको तस्बिर झल्कियो
कुन वेदनाको पीरले मनको घडा छल्कियो ।
(स्वर: रानुदेवी अधिकारी, संगीत: हियालाल मण्डल र कालुराम, शब्द: तारिणीप्रसाद कोइराला) ।

प्रकाशित: २० वैशाख २०७७ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App