१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका थप ८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुर- कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा उदयपुरका थप ८ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। जिल्ला अस्पतालले दुई दिनअघि परीक्षणका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको ८ जनाको खकार (स्वाब)को रिपोर्ट मंगलबार नेगेटिभ आएको जनाएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवती सवार जहाजमै नेपाल फर्केका लिमचुङबुङका एक युवक र उनको संपर्कमा रहेका तथा भारतको कालेम्पोङबाट आएका लिमचुङबुङकै थप ३ र भारतको दार्जिलिङबाट आएका त्रियुगा नगरपालिका ११ गाईघाटका ४ गरी ८ जनाको स्वाब आइतबार परीक्षण गर्न धरान पठाइएको थियो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले उनीहरु सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए। संक्रमणको कुनै लक्षण नदेखिए पनि बाहिरबाट आएको हुनाले प्रष्ट हुन अस्पतालले स्वाब संकलन गरेर धरान पठाएकोमा रिपोर्टले नेगेटिभ देखाएको उनले बताए।

यसअघि परीक्षण गरिएको शंकास्पद ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो। कतार, सिंगापुर र दुवईबाट आएका ३ र गाईघाटका २ महिलालाई ज्वरो र रुघाखोकी लागेपछि कोरोना संक्रमण भएको आंशकाले स्वाब परीक्षण गर्न पठाइएको थियो। दुई महिला र एक पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्दै स्वाब परीक्षण गर्न पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको हो।

कतारबाट आएका विद्यानन्द चौधरी, सिंगापुरबाट आएका विजय चौधरी, दुवईबाट आएका २६ वर्षीय एक युवक र आइसोलेसनमा राखिएका ३१ वर्षीया र ३४ वर्षीया महिलाको रिपोर्ट नेगेटिभ आएको डा. मण्डलले बताए। उनीहरुमध्ये महिलाद्वयलाई मात्र ज्वरो र रुघाखोकी लागेको थियो भने पुरुषहरुलाई कुनै लक्षण नदेखिएको अस्पतालले जनाएको छ।

अहिलेसम्म उदयपुरका १३ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले बताए। उनका अनुसार बाहिरबाट आउनेबाट संक्रमण हुन सक्ने भएकाले त्यस्ता मान्छे खोजी खोजी क्वारेन्टाइनमा राख्ने तथा कोरोना लक्षण नदेखिए पनि स्वाब परीक्षण गर्न पठाइने गरेको छ।  

 

प्रकाशित: २५ चैत्र २०७६ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App