१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा तरकारी किन्न ‘सोशल डिस्टेन्स’

तरकारी पसलमा दुरी कायम गर्न हालिएको चुनाको रेखा । तस्बिरः महेश्वर

उदयपुर- लकडाउनको १५ औं दिनपछि बल्ल उदयपुरको उपभोग्य सामग्री किनमेलमा ‘सोशल डिस्टेन्स’ कायम गरिएको छ। भिडभाडका साथ किनमेल गर्दा कोरोना संक्रमण बढ्न सक्ने जोखिम न्यून गर्न गाईघाटका खाद्यान्न तथा तरकारी बजारमा १ मिटर दुरीको सोशल डिस्टेन्स कायम गरिएको हो।

हरेक दिन अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि दिउँसो ४ बजेदेखि खुल्ला गरिने बजारमा अत्याधिक भिडभाड हुन थालेपछि डिस्टेन्स कायम गरिएको हो। जिल्ला प्रशासन, प्रहरी र उद्योग बाणिज्य संघको समन्वयमा बजारका खाद्यान्न पसल, तरकारी पसल र जमघट हुने ठाउँमा चुनाको रेखी कोरेर १ मिटर दुरीको फरकमा किनमेल गर्न सतर्क गराइएको छ।

हरेक दिन लकडाउन खुलेलगत्तै ह्वारह्वारती निस्कने स्थानीयले बजारमा पसल, तरकारी बजारलगायत उपभोग्य सामग्री खरिद गर्दा साधारण समयमाजस्तै भिड गर्ने गरेको गुनासो आएपछि डिस्टेन्स कायम गरिएको कोरोनाविरुद्ध सतर्कता तथा प्रतिकार जिल्ला समितिले जनाएको छ। एकजनाबाट अर्को जनामा सहजै सर्न सक्ने जानकारी भए पनि लापरबाहीपूर्वक किनमेल गर्ने गरेको पाइएपछि दुरी काम गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए।

तरकारी छोईनसक्नु
लकडाउनसँगै तरकारीको भाउ आशिएको छ। ७० प्रतिशत तरकारी बाह्य जिल्लाबाट आउने सदरमुकाम गाईघाटमा आयात रोकिनुका साथै स्थानीय बजारका उत्पादन पनि बेच्न ल्याउन नपाएपछि बासी तरकारी महँगो मूल्यमा किनेर खान उपभोक्ता बाध्य छन्।

लकडाउनको १५ दिनसम्म पूराना स्टक तरकारी वईलिइसके पनि ताजा तरकारीको अभावमा किनेर खान बाध्य हुनु परेको उपभोक्ता रेनुका राई बताउँछिन्। ओईलाएर कामै नलाग्ने भईसकेको काउली, बन्दा, टमाटर, रायोको साग, भान्टा, मुला, गाँजर दोब्बर मूल्यमा किन्नु परेको उनी बताउँछिन्।

स्थानीय बजारबाट आउने सीमित तरकारी दोब्बर महँगो भए पनि उपभोक्ताबीच लछाचुँडी हुने गरेको छ। ताजा रायो र लट्टेको साग ३० रुपैयाँ पाउसम्म पर्ने गरेको छ भने टमाटर पाउको २५, सिमसाग १ सय ५० सम्ममा किनबेच भईरहेको छ। त्यस्तै ताजा मुला किलोको ८०, गाँजर १ सय २० रुपैयाँ किलो पुगेको छ।

सरकारले उपभोग्य सामग्रीको कृतिम अभाव सिर्जना नगर्न, मूल्य नबढाउन र कालोबजारी नगर्न चेतावनी दिए पनि व्यापारीहरुले मनोमानी गर्ने गुनासो बढेपछि बेलाबेलामा बजार अनुमगन गर्दै त्यस्तालाई कारबाही गर्ने काम भईरहेको गुणस्तर तथा खाद्य प्रविधि डिभिजन गाईघाटका प्रमुख रमेश दाहालले बताएका छन्।
    
 

प्रकाशित: २५ चैत्र २०७६ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App