१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वाथ्य स्वंयसेविका भन्छन् : ‘सुरक्षित हुनुपर्‍यो काम गर्छाै’

१६औँ महिला स्वास्थ्य स्वयंमसेवीका दिवसमा सम्मानित शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य स्वंयसेविकाहरु । फाईल तस्बिर : विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- घिरिङ गाउँपालिका–३ शान्ति थापा ग्रामिण महिला स्वाथ्य स्वंयसेविका हुन्। ५ वर्षदेखि उनले घरगाउँमा स्वास्थ्य सचेतना फैलाउदै प्राथमिक उपचारमा सघाउदै आएकी छन्। हप्ता दिन पहिला कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्नलाई सचेतना फैलाउन घिरिङ गाउँपालिकाले स्वास्थ्य स्वंयसेविकालाई खटायो। शान्तिले गाउँपालिका स्वास्थ्य शाखाले प्रशिक्षण दिएअनुरुप आफ्नो कार्यक्षेत्रको प्रत्येक टोलमा पुग्दै कोरोनाको लक्षण, यसबाट बच्ने तरिकाबारे जनाकारी गराईन्।

साबुन पानीले हात धुने, मास्क लगाउने तरिका सिकाउदैँ भिडभाडमा नजान अनुरोध गरेको उनले बताइन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मुलुकभरका ग्रामिण स्वास्थ्य स्वंयसेविकालाई कोरोनाको उपचारमा खटाउने निर्णय गरेको छ। सरकारले खटाए बमोजिम आफूहरु काम गर्न प्रतिवद्ध रहेको उनले प्रतिक्रिया दिईन्।

‘यतिबेला मुलुक कोरोना भाइसरको माहामहरीसंग जुध्दैछ। सरकारले कोरोनाको उपचारमा खटाउँछ भने म तयार छु। सेवा गर्नलाई नै यो पेशामा लागेको हो’, उनले भनिन्, ‘सेवा त गर्छाै, तर, हाम्रो पनि स्वास्थ्य जोखिमबारे सरकारले ध्यान दिनुपर्छ।’

शान्ति जस्तै तनहुँका महिला स्वास्थ्य स्वंयसेविका कोरोनाको उपचारमा सरकारले खटाए आफूहरु तयार रहेको बताउँछन्। तर, काम गर्दा सुरक्षित वातावरण हुनुपर्ने उनीहरुको माग छ। सुरक्षाका उपकरण, तालिम, बीमा र पारिश्रमिकबारे स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको उनीहरुको भनाई छ।
शुक्लागण्डकी नगरपालिका–८ की महिला स्वास्थ्य स्वंयसेविका मञ्जु श्रेष्ठ भन्छिन्, ‘सेवा गर्न भनेर सरकारले हामीलाई खटाएको छ। महामारी फैलिएको बेलामा सघाउनु हाम्रो जिम्मेवारी पनि हो। अरु बेलाभन्दा कोरोनाको उपचारमा खटिनु बढी जोखिमपूर्ण भएकाले त्यही अनुसारको सुरक्षाका समग्रीको प्रबन्ध हुनुपर्‍यो। तालिमको पनि आवश्यकता छ।’

संकटको बेला स्वास्थ्य स्वंयसेविकाले मात्र नभई हरेक सचेत नागरिकले आ–आफ्नो भूमिका निर्वाह निभाउन जरुरत रहेको उनको भनाई छ। फ्रन्टलाइन रहेर कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन नसकेको अवस्थामा सुरक्षाको ग्यारेण्टी नहुन्जेल काममा जान नसक्ने उनले बताईन्।

महिला स्वास्थ्य स्वंयसेविकाले गाउँका डाक्टरको परिचय बनाएका छन्। उनीहरुले गर्भवती महिला र बालबालिको स्वास्थ्यलाई विशेष ख्याल राख्छन्। मातृशिशु मृत्युदर, जनसंख्या बृद्धीदर रोक्न तथा खोप कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा आफूहरुको योगदान महत्वपूर्ण हुँदा पनि राज्यले प्रोत्साहन गर्न नसकेको शुक्लागण्डकी–४ की महिला स्वास्थ्य स्वंयसेविका सरस्वती सिग्देलले गुनासो गरिन्।

‘स्वयंसेवा गर्न तम्सिएका हुन भन्ने ठानेर उत्साह थप्नेगरी सरकारले पारिश्रमिक निर्धारण गर्न सकेको छैन’, उनले भनिन्, ‘कोरोनाको उपचारमा खटाउने भन्दै गर्दा पहिलाको जस्तै नियत नहोस्।’ कोरोनाविरुद्धको अभियानमा लाग्ने स्वंयसेविकालाई आवश्यक तालिम, सुरक्षा, प्रोत्साहन भत्ता,  बीमाको व्यवस्था र कस्को निर्देशनमा काममा खटिने स्पष्ट पार्नुपर्ने उनले जनाईन्।
यहाँका १० स्थाीनय तहमा ४ सय ६६ जना स्वास्थ्य स्वंयसेविका छन्। केही स्थानीय तहले कोरोनाविरुद्ध सचेतना फैलाउन स्वास्थ्य स्वंयसेविकालाई खटाएका छन्।

संघीयता कार्यन्वयनपछि आफूहरुको भूमिका झनै ओझेलमा परेको यहाँका स्वास्थ्य स्वंयसेविकाले बेलाबेलामा आवाज उठाउछन्। जनप्रतिनिधि आएपछि सिकाई र तालिममा नभएको गुनासो छ। स्वास्थ्य स्वंयसेविका परिचालन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थमन्त्रालयसंग समन्वय गरेर कार्यविधी बनाएर त्यसैको आधारमा परिचालन गर्ने सरकारको निर्णय छ।
 

 

प्रकाशित: २५ चैत्र २०७६ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App