८ वैशाख २०८१ शनिबार
समाज

सवा ६ लाख बालबालिका प्रभावित

वीरगन्ज - कोरोना (कोभिड–१९) भाइरसको संक्रमण खतरा रोक्न सरकारले लागु गरेको ‘लकडाउन’का कारण देशभरि खोप कार्यक्रम प्रभावित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण माहाशाखाले यतिखेर नियमित खोप कार्यक्रम स्थगित भएको जनाएको छ।बिसिजी खोप कार्यक्रम सञ्चालित देशमा कोरोना संक्रमण कम भएको र महामारी रोक्न मद्दत मिलेको अध्ययनले देखाइरहेका बेला लकडाउनका कारण खोप कार्यक्रम नै स्थगित हुन पुगेको छ।

‘लकडाउनको अवस्थामा यातायात सञ्चालित छैन, जसले गर्दा धेरै ठाउँमा भ्याक्सिन पठाउन सकिएको छैन,’ माहाशाखाका निर्देशक डा. भीम सिंह तिंकरीले नागरिकसित टेलिफोनमा भने, ‘स्वास्थ्यकर्मीलाई खोप दिन जाऊ भन्ने अवस्था छैन, मानिसलाई जमघट गराउन पनि अहिले ठीक छैन।’ उनले नेपालमा अहिले नियमित खोप लिने उमेर समूहका ६ लाख २१ हजार बालबालिका रहेको जानकारी दिए।

लकडाउन खुल्नेबित्तिकै बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर छुटेका खोप लगाइहाल्न चिकित्सकले सुझाएका छन्। 
 

‘अभियानको रुपमा चलाइएको दादुरा रुबेला खोप कार्यक्रम पनि १, २ र ५ नम्बर प्रदेशमा मात्र सम्पन्न भएको छ। बाँकी ४ वटा प्रदेशमा ‘लकडाउन’ का कारण हुन पाएको छैन,’ तिंकरीले भने। उनले यातायात सञ्चालन भएलगत्तै खोप कार्यक्रम पनि सञ्चालन हुने बताए।

जिल्ला स्वास्थ्य कार्यालयहरुले केन्द्रबाट खोप कार्यक्रम केही समयका लागि रोक्नमौखिक निर्देशन आएको जनाएका छन्। ‘हाललाई केही समय खोप रोकिराख्न भनिएको छ,’ पर्सा स्वास्थ्य कार्यालयका खोप कार्यक्रम इन्चार्ज अनिल सिंहले भने, ‘लकडाउनमा खोप कार्यक्रम सञ्चालन गर्ने अवस्था पनि छैन।’

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार महतोले हाललाई खोप कार्यक्रम रोकेको बताए। ‘खोप चलाउन समस्या छैन, तर खोपकेन्द्रमा जुन भिडभाड हुनेछ त्यसले गर्दा जोखिम उठाउने अवस्था छैन,’ महतोले  भने, ‘केही समय ढिलो हुँदैमा खासै फरक पर्दैन।’ खोप कार्यक्रम नचलेको बारे कुनै पनि सूचना नपाएर भने बच्चाका आमाबुवा चिन्तामा छन्।

बालबालिकालाई खोप दिन नपाउँदा अभिभावक चिन्तित छन्। बच्चालाई जन्मेको १२औं महिनामा लगाइने ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप कहिले लगाउन पाइने हो, वीरगन्ज श्रीपुरका बिरजा प्रसादले थाहा पाउन सकेका छैनन्। ‘खोप स्थगित भयो र यतिबेला फेरि सुचारु हुन्छ भन्ने जानकारी दिनुपथ्र्यो, त्यो भएन,’ उनले भने, ‘लकडाउन त हामीले पनि हेरिरहेका छौं तर सरकारले बालबालिकाको खोपका बारेमा केही बोल्नुपर्छ कि पर्दैन ?’

गर्भवती आमा र जन्मिने बच्चामा जोखिम
बालरोग तथा खोपसम्बन्धी विशेषज्ञ डा. आनन्दकुमार झाले यो समस्या पहिलोपटक आएकाले खोपहरु नदिँदा यसको असर के पर्ने छ भन्ने अहिले नै ठ्याक्कै बताउन नसकिने बताए। तर गर्भवती महिलालाई लगाइने टिटानस खोपसमेत बन्द रहेकाले त्यसको प्रभाव भने नराम्रो पर्न सक्ने उनले औंल्याए। ‘गर्भवतीलाई टिटानस खोप दिन नपाउँदा शिशु जन्मिने बेलामा खतराको सम्भावना हुन सक्छ’, उनले भने।

शिशु जन्मेको १५ दिनभित्र बिसिजी खोप दिइन्छ। ‘यो भाइरल रोगहरुसँग लड्न क्षमता बढाउनका लागि लगाइन्छ,’ डा. झाले भने, ‘पछि अरु खोपहरु क्रमशः समयअनुसार दिइन्छ। खोप समयमा पर्न सकेन भने त्यसलाई पछि सकेसम्म चाँडै दिएर पूरा गर्नुपर्छ भन्ने मान्यता छ।’लकडाउन खुल्नेबित्तिकै बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर छुटेका खोप लगाइहाल्न उनले सुझाव दिए।

 

प्रकाशित: २५ चैत्र २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App