coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा अध्यक्ष दाहाल तनावमा

फाइल तस्बिर

काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोभिड–१९ (कोरोना) भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन्।

खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक माग गरेको चार दिन भइसकेको छ। सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले जनस्तरमा पार्टी र सरकारप्रति आक्रोश उत्पन्न भएकाले यसले पार्टी र सरकार दुवैलाई गम्भीर हानि पुग्ने भन्दै सचिवालय बैठक माग गरेका थिए। तर अध्यक्ष दाहालले यो विषयमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न समय पाएका छैनन्। एक हप्ताको समयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच जम्मा दुईपटक भेटघाट भएको छ। ‘नेताहरुले सचिवालय बैठक माग गर्दा पनि उहाँ (दाहाल)ले राख्न सक्नुभएको छैन’, सचिवालयका एक सदस्यले भने। 

सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएको छ। पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक गर्न थालेका छन्। यही बीच दाहालले पूर्वमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर शुक्रबार छलफल गरेका थिए। स्रोतका अनुसार उनीहरुबीच लामै छलफल भएको थियो। नेपाली सेनालाई स्वास्थ्य उपकरण तथा  औषधि खरिद गर्ने जिम्मेवारी दिनेदेखि क्राइसिस म्यानेजमेन्ट समितिको कार्यालय सेनाको ब्यारेकमा राखेको विषयमा समेत छलफल भएको थियो। गत पुसमा सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले पार्टीभित्र गुट भेला नगर्ने निर्देशन दिएविपरीत उनले आफू पक्षीय मन्त्री र नेताहरुलाई बोलाएर छलफल गरेका हुन्।

दाहालले दैनिकजसो पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसँग टेलिफोनमा कुराकानी गरिरहेका छन्। उनले पार्टीको बैठक बोलाउने विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको तर कुनै जवाफ नपाएको सचिवालयका सदस्यहरुलाई जानकारी दिएका छन्। ‘दाहालले सम्पर्क गरिरहनुभएको छ। हामीले पार्टीभित्र छलफल गर्नुपर्ने विषयहरु भएकाले सचिवालय बैठक बोलाउन भनेका छौं, स्वास्थ्य उपकरण खरिदलगायतको विषयलाई लिएर पार्टी र सरकार दुवैको आलोचना भएको छ। यस्तो बेलामा पार्टी शीर्ष नेतृत्व मौन बस्नु हुन्न भनेका छौं’, सचिवालयका एक सदस्यले भने। उनका अनुसार अघिल्लो पटक दाहालले सचिवालय बैठक बोलाउँदा गरिएका निर्णयप्रति ओलीले असहमति जनाएका कारण अहिले दाहाल एक्लै बैठक बोलाउने अवस्थामा छैनन्।

‘दाहालले बैठक बोलाउनुहोला, ओलीले असहमति जनाउलान्, त्यसपछि झन् विवाद बढ्छ। त्योभन्दा ओलीसँगकै छलफलबाट बैठक आह्वान होस् भन्ने चाहना दाहालमा होला’, ती सचिवालय सदस्यले भने। गत मंसिर १ मा दाहाललाई कार्यकारी अध्यक्षको हैसियत प्राप्त भएको थियो। उनलाई सचिवालय बैठक राख्ने र पार्टीको जिम्मेवारी हेर्ने अधिकार भएपनि उनले एक्लै बैठक बोलाउन नसक्नु पनि यतिबेला तनाव थपिने विषय बनेको हो।

गत २६मार्चमा पार्टी अध्यक्ष दाहालले कोरोना महामारी रोक्न सफल भएकामा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई बधाईपत्र पठाएका थिए। त्यस विषयमा पार्टीका अर्का अध्यक्ष ओलीसँग छलफल भएको थिएन। ‘सो पत्र पठाउँदा आफूसँग छलफल नै नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन्,‘स्रोतले भन्यो।

प्रकाशित: २४ चैत्र २०७६ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App