१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मजदुरी गरेर जीवनयापन गर्ने २ सय ८० परिवारका लागि कुपन वितरण

रसुवा  - रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने २ सय ८० परिवारका लागि कुपन वितरण गरेको छ। लक्षित परिवारले वडाबाट कुपन लिनसक्ने छन्।

लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि कुपनको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। लकडाउन लम्बिएको खण्डमा तोकिएको परिवारलाई पुनः कुपनको व्यवस्था गरिने गाउँपालिकाकी अध्यक्ष सिता अधिकारीले बताइन्। ‘वडा कार्यालय र टोल विकास संस्थासँगको साझेदारीमा लगत संकलन गरिएको हो,’ उनले भनिन्’, परिवारको आकार अनुसारको कुपनको व्यवस्था गरेका छौँ।’ 

गाउँपालिकाले वडालाई कुपन उपलब्ध गराएको छ। लक्षित परिवारले वडामा गएर कुपन लिएर नजिकैको पसलबाट सामग्री लिनसक्ने छन्। गाउँपालिका बाहिर स्थायी बसोबास भइ लकडाउन अवधिभर गाउँपालिकाभित्र बसिरहेको परिवार समेतलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराइने छ। 

‘नोवल कोरना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध बनाउन बनेको कार्यविधि–२०७६’ निर्माण गरेको थियो। 

यही कार्यविधि अनुसार लगत संकलन गरेर कुपन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।  लक्षित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराउनका लागि इच्छुकले ‘कालिका स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति’ को खातामा रकम जम्मा गर्न सक्ने उनको भनाइ छ।

गाउँपालिकाभित्र हाल बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको दैनिक गुजरा चलाइरहेको परिवारलाई सामग्री उपलब्ध गराइने छ।

लकडाउन अवधिभर गाउँपालिकाभित्र बसोबास रही अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट वञ्चित भएका लक्षित परिवारलाई न्यूनतम् दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउन वा व्यवस्थापन गरिने उनले बताए। 
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आर्थिक सहायता जुटाउनका लागि गाउँपालिका, सरकारी कार्यालय, विभिन्न संघसंस्था, व्यक्तिसँग सहकार्य गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले विभिन्न निकायबाट उपलब्ध हुने राहत स्थानीय तहमा जम्मा गर्ने र एकद्वार प्रणालीबाट मात्रै वितरणको व्यवस्था मिलाएको छ। 

नेपाल सरकारले चैत ११ गतेदेखि देश लकडाउन भएको घोषणा गरेको थियो। पछि फेरि समयावधि बढाएर चैत २५ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ।

 

प्रकाशित: २३ चैत्र २०७६ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App