८ वैशाख २०८१ शनिबार
अन्य

सीमापारी सयौंको संख्यामा नेपाली अलपत्र

बाँके प्रशासनले आवत जावतमा रोक लगाएको नेपालगन्जस्थित नेपाल–भारत सिमानाका। तस्बिर ः नागरिक

नेपालगन्ज - कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै नेपाल र भारत दुबै देशले लकडाउन गरेपछि अलपत्र परी सिमा क्षेत्रमा आईपुगेका नेपाली नागरिकको बिचल्ली भएको छ। भारतमा संक्रमण फैलिएकाले कोरोना भाइरसका संक्रमित ब्यक्ति प्रवेश हुन सक्ने भन्दै स्थानीय प्रशासनले केहीदिन अघि नेपालगन्ज नाकाबाट आवत–जावतमा पुर्ण रुपले रोक लगाएको थियो। भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सिमापारी सम्म आईपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिदाँ अलपत्र परेका हुन्।

नेपालगन्जसहित जिल्लाका विभिन्न नाकामा सयौंको संख्यामा नेपाली अलपत्र परेका छन्। उनीहरु दसगजासम्म आएर बसेपनि गृहमन्त्रालयको आदेश नभएको भन्दै बाँके प्रशासनले रोक लगाएपछि उनीहरु अलपत्र छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज नाकापारी रुपैडिहामा सोमबारसम्म करिव डेढ सयको हाराहारीमा नेपाली नागरिक आएर बसेको बताएको थियो। भारतबाट नेपाली फर्किने क्रम नरोकिएकाले मंगलबारसम्म संख्या झनै बढेको प्रहरीको अनुमान छ। नेपालगन्ज नाका बाहेक जिल्लाका अन्य नाकामा पनि नेपाली नागरिक आएर बसेको स्थानीयले बताएका छन्।

राप्तीपारी नरैनापुरस्थित विभिन्न नाकाबाट प्रवेश भएका डेढ सय बढी ब्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। प्रशासनले नेपालगन्ज नाकाबाट प्रवेशमा रोक लगाएकाले नरैनापुर क्षेत्रबाट नेपाल प्रवेश हुने क्रम बढिरहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। ‘नेपालगन्जमा प्रशासनले रोकेको छ, तर हाम्रो यहाँको नाकाबाट भारतबाट आएका प्रवेश भइरहेका छन्,’ उनले भने। हिड्न नसक्ने अवस्थामा रहेका कतिपय ब्यक्ति रुपैडिहामै थला परेको बताइएको छ। स्थानीय प्रशासनले उनीहरुलाई सिमा प्रवेशमा रोक लगाउँदा अबैध नाकाबाट प्रवेश गर्न थालेको र उनीहरु लुकिछिपी घरमा पुग्न सक्ने सम्भावना रहेको स्थानीय बताउँछन्।

भारतबाट फर्केका नेपालीलाई सिमा प्रवेश गराएर उपयुक्त ब्यवस्थापन गर्नु नै उत्तम उपाय भएको नेपालगन्जका अधिकारकर्मीले सुझाव दिएका छन्। यहाँका आधा दर्जन बढी अधिकारकर्मीले मंगलबार एक विज्ञप्ती जारी गर्दै भारतबाट घर फर्केका मजदुरहरु हाल नेपाल–भारत सिमा नाकामा अलपत्र परिरहेको र उनीहरुको हालसम्म पनि कुनै उपयुक्त ब्यवस्थापन हुन नसकेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरुको खानपिन, स्वास्थ्य जाँच र क्वारेन्टाइनमा राख्ने ब्यवस्था हुन नसक्दा उल्टै कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको अधिकारकर्मीको ठहर छ।

‘अतः आफ्ना नागरिकको सुरक्षा, उनीहरुको स्वास्थ्य र खानपिनको ब्यवस्था गर्न हामी स्थानीय प्रशासन, नगर तथा गाउँपालिकालाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। विज्ञप्ती जारी गर्नेमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका चन्द्रकान्त चापागाई, नेपाल बार एशोसियसनका उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेक नेपालगन्जका भोला महत,  उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, हिम राइट्सका प्रकाश उपाध्याय, आइ.एच.आर.सी.का विश्वजित तिवारी र उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम रहेका छन्।

नेपाल बारका उपाध्यक्ष श्रेष्ठले सरकारले आफ्ना नागरिकलाई भेदभाव गरेको बताए। ‘चिनमा संक्रमण फैलिरहेको अवस्थामा सरकारले प्लेन चार्टर गरेर नागरिकलाई ल्याउने काम ग¥यो, तर भारतबाट काम गरेर फर्केका नेपाली नागरिकहरु आफै हिडेर सिमासम्म आईपुग्दा पनि प्रवेश हुन नदिनुले भेदभाव गरेको प्रष्ट हुन्छ,’ उनले भने। नेपालीलाई सिमापारीबाट ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने उपाध्यक्ष श्रेष्ठको सुझाव छ। 
सरकारले नाकाबाट प्रवेश हुन नदिदाँ केही भोक भोकै मर्नुपर्ने अवस्थामा पुगेको र कतिपय ब्यक्ति अबैध नाकाबाट नेपाल प्रवेश भएर झनै जोखिम बढाएको बताए। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सिमानाकाबाट कसैलाई पनि प्रवेश गराउने अनुमति नभएको बताए। ‘भारतबाट आएका नेपाली कुन अवस्थामा छन्, हामीलाई थाहा भएन,’ उनले भने ‘अहिले कसैलाई पनि सिमाबाट प्रवेश गर्न दिने अनुमति छैन।’ 

भारतीय सुरक्षाकर्मीले अबैध नाकाबाट प्रवेश गराए
नेपालगन्जस्थित नेपाल–भारत सिमापारी रुपैडिहामा अलपत्र परेका १ सय ५८ जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले अबैध नाकाबाट प्रवेश गराएका छन्। रुपैडिहामा केहीदिन देखी अलपत्र परेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले ट्याक्टरमा राखेर जयसपुरको अबैध नाकाबाट नेपाल प्रवेश गराएका हुन्।

एकै पटक ठुलो संख्यामा अबैध नाकाबाट नेपालीहरु प्रवेश भएर आएको थाहा पाएपछि बाँके प्रशासनले उनीहरुलाई त्यतै रोकेर राखेको छ। उनीहरुलाई सिमाक्षेत्रमै रहेको नेपालगन्ज उपमहानगरपालिका जयसपुरस्थित एकिकृत भन्सार जाँच चौकी(आईसिपी) निर्माण स्थलमा राखिएको प्रशासनले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले भारतबाट अबैध बाटो भएर प्रवेश भएका उनीहरुलाई क्वारेन्टाइनमा राखेर खानपिनको ब्यवस्था मिलाइएको बताए। ‘सिमाक्षेत्रमै राखेर खानपिनको ब्यवस्था मिलाएका छौं, उनीहरु क्वारेन्टाइनमा बस्नेछन्,’ उनले भने। नेपाली नागरिकको अवस्था दयनीय देखेपछि नेपाली सुरक्षाकर्मीसँग समन्वय नगरेर भारतीय सुरक्षाकर्मीले अबैध नाकाबाट उनीहरुलाई प्रवेश गराएको बताइएको छ।

प्रकाशित: १८ चैत्र २०७६ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App