coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपन्न श्रमिकलाई खाद्यान्न जुटाइँदै

इलाम नगरपालिका–५, बरबोटेका बासिन्दालाई कोरोनाबाट बच्न मास्क वितरण गर्दै वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ । तस्बिर : नागरिक

इलाम- दैनिक ज्याला–मजदुरी गरेर पेट पाल्ने श्रमिकलाई लामो समयको लकडाउनले खाद्यान्न अभाव हुने सम्भावना भएपछि जिल्लाबासी उनीहरूलाई खाद्यान्न जुटाउन थालेका छन्। स्थानीय तह र दाताले निजी क्षेत्रबाट चामल संकलन गरी श्रमिकलाई प्रदान गर्न थालेका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलो पटक जारी गरेको लकडाउन सकिन लाग्दा पुनः सातासम्मलाई थप भएपछि विपन्न श्रमिकलाई खाद्यान्न अभाव हुन थालेको हो। सूर्याेदय नगरपालिकाले श्रमिकका लागि ५५ क्विन्टल चामल खरिद गरी तयारी अवस्थामा राखेको छ। इलाम सदरमुकामका केही श्रमिकलाई वितरणसमेत गरिएको छ। सूर्याेदय नगरका मेयर रणबहादुर राईले श्रमिकलाई खाद्यान्न अभाव हुनेबित्तिकै वितरण गर्न चामल भण्डारण गरिसकेको बताए। ‘७ दिनलाई लकडाउन घोषणा भएका बेला जोहो गरेको चामल सकिन लागेको श्रमिकको गुनासो आउन थालेको छ,’ उनले भने, ‘दैनिक रोजीरोटी गरेर खाने श्रमिकलाई खाद्यान्न अभाव हुन नदिन नगरले चामल ल्याएको हो।’

वडाको सिफारिसअनुसार श्रमिकलाई आवश्यकता अनुरुप  चामल वितरण गरिने नगरले जनाएको छ। ‘प्रतिश्रमिक कति चामल दिने भन्ने एउटा नम्र्स बनाउँछौं,’ उनले भने, ‘श्रमिकका परिवारको संख्याअनुसार केही दिनलाई अभाव टर्नेगरी दिनेछौं।’ सूर्याेदय नगरका केही स्थानीयले चामल संकलन गरी श्रमिक परिवारलाई वितरण गर्न नगरलाई प्रदान गर्दैछन्।

इलाम नगरमा पनि निजी क्षेत्रबाट श्रमिकलाई खाद्यान्न वितरण गरिएको छ। वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलाम नगरपालिका–२, सुम्बेकका छत्रमान खालिङले सदरमुकामका श्रमिकलाई आइतबार प्रतिव्यक्ति ४ किलो चामल वितरण गरेको इलाम मालापथका अगुवा युवक सुदीप श्रेष्ठले जानकारी दिए। राई ५ सय किलो चामल वितरण गर्ने तयारीमा थिए। तर, आफ्नो अनुमतिबिना चामल वितरण गरेको भन्दै इलाम नगरपालिकाले रोकेपछि साढे ३ सय किलोमात्र वितरण गर्न पाएको श्रेष्ठले बताए। राईले श्रमिकलाई ४० किलो चिउरासमेत वितरण गर्ने तयारी गरेका थिए।

इलाम नगरपालिकाले पनि नगर क्षेत्रका विपन्न व्यक्ति तथा श्रमिकलाई चामल, खाद्यान्नलगायत सामग्री वितरण गर्न चाहने व्यक्ति–संस्थालाई जिल्ला प्रशासन कार्यालयको निर्णयानुसार नगरपालिकाको स्वीकृति आवश्यक हुने जनाएको छ। नगरले डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन वार्डमा कुनै व्यक्तिलाई राख्दा वा छोड्दा इलाम अस्पतालको सिफारिस अनुसारमात्र गर्ने/गराउने पनि निर्णय गरेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरले २४ घण्टे हेल्थ डेस्क स्थापना गर्ने भएको नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए। नगरका कर्मचारी हेमराज ढकालको नेतृत्वमा रहने डेस्कमा नगरका सबै कम्प्युटर अपरेटर परिचालन गरिँदैछ।

इलाम नगरपालिकाले नगरबासीलाई कोरोनाबाट सुरक्षित रहन मास्क वितरण गरिरहेको छ। नगरका विभिन्न वडामा १५ हजार मास्क वितरण गरिने श्रेष्ठले जनाए। ‘केही मास्क तयार हुँदैछ, केही वितरण,’ वडा ५ का अध्यक्ष रहेका श्रेष्ठले भने, ‘हाम्रो वडामा १५ सयजति मास्क वितरण गरिसकिएको छ।’ अन्य स्थानीय तहले पनि सर्वसाधारणलाई कोरोनाबाट बचाउन विभिन्न कार्य गरिरहेको जिल्ला समन्वय समितिले जनाएको छ।

क्वारेन्टाइनका ७ व्यक्ति घर फर्किए
सूर्याेदय नगरपालिकाको पशुपतिनगर क्वारेन्टाइनमा रहेका ७ व्यक्ति आइतबार घर फर्किएका छन्। भारतको सिलिगुडीमा रोजगारी गरेर फर्किएका ७ युवा क्वारेन्टाइनमा थिए।

१४ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि ती युवामा स्वास्थ्य समस्या नदेखिएकाले उनीहरूलाई छाडिएको सूर्याेदय नगरका स्वास्थ्य शाखा प्रमुख धनराज यादवले जानकारी दिए। ‘विदेशबाट आएयता १४ दिन बित्दा पनि युवामा कोरोना वा अन्य रुघाखोकी, ज्वरोलगायतको लक्षण देखिएन,’ उनले भने, ‘उनीहरूबाट जोखिम नहुने भएपनि सजग भएर होम क्वारेन्टाइनमा रहन अनुरोध गर्दै बिदा गरिएको छ।’

 

प्रकाशित: १७ चैत्र २०७६ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App