१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कटारी आईसोलेसनमा बसेका मग्राती फरार

उदयपुर- उदयपुरको कटारी अस्पतालको आईसोलेसनमा राखिएका एक व्यक्ति शनिबार फरार भएका छन्। ४ दिनअघि भारतबाट आएका २१ जनाको समूहका एक ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षिय किर्तमान मग्राती अस्पतालबाट फरार भएका हुन्।

            गत १२ गते भारतको सिलीगुढी हुँदै काकडभिट्टा नाकाबाट नेपाल छिरेर कटारी आईपुगेका २१ मध्ये अन्यलाई कटारी १ बेलसोतस्थित क्वारेन्टाईनमा राखिएको छ भने  सामान्य ज्वरो आएका कारण मग्रातीलाई अस्पतालको आईसोलेसनमा राखिएको थियो। आईसोलेसनमा बस्दै आएका उनी शनिबार विहान खाना खान बोलाउँदा कोठामा नभेटिएपछि भागेको अनुमान लगाइएको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।

            उनका अनुसार मग्रातीको मोवाईल, झोला र लुगाफाटा भने सबै अस्पतालमै भेटिएको छ। मान्छे भने साँझसम्म नफर्केपछि भागेको पत्ता लागेको हो। सुरुमा ज्वरो देखिएपछि आईसोलेसनमा राखिएका उनलाई अहिले ज्वरो भने नरहेको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मुकुलेश माधवीका अनुसार १२ गते नाप्दा उनको ज्वरो १ सय डिग्री फरेनहाईट थियो। भोलिपल्ट र हिजोसम्म उनको ज्वरो ९७ डिग्री फरेनहाईट (स्वस्थ्य अवस्था) पाइएको उनले बताए। कोरोना भाईरस संक्रमितलाई १ सय २ डिग्री फरेनहाईटभन्दा माथि ज्वरो हुने र सास फेर्न गाह्रो हुने दुवै लक्षण उनमा नभेटिएको डा. माधवीले बताए।

            सुरुमा सामान्य ज्वरो आएको पाइएपछि आईसोलेसनमा राखिएका उनमा कोरोना भाईरस संक्रमणको संभावना नभएको अनुमान अस्पतालले गरेको भए पनि १४ दिनसम्म आईसोलेसन बस्नुपर्ने उनी भागेपछि खोजी सुरु भएको मेयर श्रेष्ठले बताए। उनका अनुसार उनको ठानागाउँस्थित घर परिवार र गाउँसम्म सोधपुछ गर्ने काम भए पनि पत्ता लागेको छैन। ‘उनी भागेको निश्कर्ष निकाल्दै हामीले खोजी कार्य थालेका छौं’ मेयर श्रेष्ठले भने ‘तर, घर पनि पुगेका छैनन्, सायद हिडेर जाँदै होलान् कि ?’

            लकडाउनका कारण सवारी साधन नचलेका कारण मग्राती अस्पतालबाट भागेर पैदलै घर जादै गरेको या कतै आफन्तकोमा गएको अनुमानसहित प्रहरी र वडा कार्यालय मार्फत खोजी सुरु भएको छ। ठानागाउँ पुग्न पैदलमार्फत कटारीदेखि कम्तीमा डेढदिन लाग्ने स्थानीयहरु बताउँछन्।

            कोरोना भाईरस प्रतिकार समन्वय समिति उदयपुरले मग्राती भागेको पुष्टि गरेको छ। समिति सदस्य तथा जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आईसोलेन वार्डबाट मग्राती भागेको खवर आएको र उनको खोजी भईरहेको बताए। एसपी मगरले संक्रमणबाट बँच्न र बँचाउन जिल्लाका सबै स्थानीयतहमा क्वारेनटाईन स्थापना गरेर सञ्चालनमा ल्याइएको बताएका छन्। 

प्रकाशित: १५ चैत्र २०७६ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App