१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको आइसोलेसन सञ्चालन

रसुवा- रसुवामा २ सय ११ शैयाको क्वारेन्टाइन र ५५ शैयाको आइसोलेसन सञ्चालनमा आएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आइसोलेसन सञ्चालनमा ल्याइएको हो।

बिहीबारदेखि जिल्लाको पाँचवटै गाउँपालिकामा क्वारेन्टाइन तथा आइसोलेसन सञ्चालनमा ल्याइएको हो। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको धुन्चेस्थित कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५०, स्याफ्रुस्थित कोमिन स्यामेवाङ्फेल माविमा १५, रसुवागढीमा होटल तथा लजमा ३० शैया क्वारेन्टाइन निर्माण भएको छ।

यस्तै आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतस्थित सरस्वती निमाविमा १५, कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पसमा ५०, उत्तरगया गाउँपालिकाको डाँडागाउँमा १५ शैया, सांसद मोहन आचार्यको घरमा २१ शैया र नौकुण्ड गाउँपालिकाको पारच्याङमा १५ शैयाको क्वारेन्टाइन निर्माण भएको हो।

यसैगरी धुन्चेस्थित जिल्ला अस्पताल ४ र महिला विकास कार्यालयको भवनमा १६ गरी २० शैया र कालिका गाउँपालिकाको जीवजीवे ग्रामीण अस्पतालमा २० र नीलकण्ठ नमुना माविमा १५ शैया गरी ३५ शैयाको आइसोलेसन निर्माण गरिएको छ। कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेका अनुसार ग्रामीण अस्पतालमा तीनवटा आपकालीनसहित २० वटा आइसोलेसन निर्माण भएको छ।

निर्माण भएका क्वारेन्टाइनमा हालसम्म एक जना पनि नराखिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘क्वारेन्टाइनको मापदण्ड निर्धारण भएको छ’, उनले भने, सबै क्वारेन्टाइनमा फोकल पर्सन पनि तोकिने छ।’

विदेशबाट आएका ११ जनाको स्वास्थ्य अवस्था सामान्य
जिल्लामा चैत ६ गते यता विदेशबाट आएका ११ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रजिअ भण्डारीले बताए। जसमा भारतबाट ५, दुबइबाट ४, बंगलादेशबाट १ र अमेरिकाबाट १ जना आएका देखिएको छ।

बुधबारदेखि विदेशबाट फर्केका व्यक्तिको घरघरमा पुगेर निरीक्षण गरिएको थियो। चैत ६ गतेदेखि जिल्लामा सञ्चालनमा रहेका हेल्थ तथा हेल्प डेक्सले विदेशबाट आएका नेपालीको विवरण राखेका थिए।

सोही विवरणलाई आधार मानेर उनीहरूको अवस्था अद्यावधिक गरिएको हो। यसैगरी मंगलबारदेखि लकडाउन भएपछि जिल्लामा सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार दैनिक चार घण्टा खुल्ने गरेको छ। स्थानीय घर बाहिर निस्किएका छैनन्। सबै जना सेल्फ क्वारन्टाइनमा बसेका छन्। प्रहरीले माइकिङ अभियानलाई जारी राखेको छ।

जिल्लामा खाद्य सामग्री, पोल्ट्री फर्मका लागि ल्याउने दाना, औषधि ल्याउने सवारी साधन र स्थानीयले उत्पादन गरेका तरकारी तथा आलु बजारसम्म पुर्‍याउनका लागि अनुमति दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। गएको २४ घण्टामा जिल्लामा अन्य घटना नभएको उनले जानकारी दिए।

 

प्रकाशित: १४ चैत्र २०७६ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App