१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

१४ दिन क्वारेन्टाइन राखिने

भैरहवा- नेपाल भारत सिमानाका बेलहिया–सुनौली दशगजामा अलपत्र परेका नेपालीलाई बिहीबार दिउँसो १२ बजे उद्वार गरिएको छ। भारतको विभिन्न राज्यबाट आएका ४ विद्यार्थीसहित २९ जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्देशनमा क्वारेन्टाइनमा राखिएको छ।

भारतको कोभिड–१९ भाइरस संक्रमित शहरबाट आएका विद्यार्थी र मजदुरहरुलाई रुपन्देहीको फर्सटिकरमास्थित यज्ञोदय बुद्धनाथ थारु बहुमुखी क्याम्पस, अमवास्थित जनता मावि र शंकरनगरस्थित शंकरनगर माविमा उद्वार गरी राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्गबहादुर खत्रीले बताए। सीमाबाट एउटा बस र हायस गाडीमा राखी फर्साटिकरमा ११, अमवामा ८ र शंकरनगरमा १० जनालाई राखिएको छ। क्वारेन्टाइन पठाउनु अघि व्यक्तिगत विवरण लिई सबैको स्वास्थ्य जाँच गरिएको छ।

भारतीय सीमामा अलपत्र नेपाली स्वदेश प्रवेशपछि १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। सिद्धार्थनगर नगरपालिका क्षेत्रमा क्वारेन्टाइन नभएपछि नजिकको स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन पठाइएको हो।

बुधबार बिहान ६ बजेदेखि दशगजा आएका नेपालीहरु भारत र नेपाल दुवै मुलुकले लकडाउन गरेपछि दशगजामा अलपत्र परेका थिए। अलपत्र परेका नेपालीहरुलाई स्थानीय बेलहिया गाउँ समाजले दशगजामै टाँगिएको टेन्टमा गास र बासको व्यवस्था मिलाइएको थियो।

एम्बुलेन्स, पत्रिकाको गाडी, ट्रक र रिजर्भ सवारी साधनमा जसोतसो गरी सीमासम्म आएका नेपालीहरुलाई दशगजामै महिला र पुरुषलाई छुट्टा छुट्टै ठाउँमा सुत्ने व्यवस्था गरेका थियौ भने खानाको लागि बेलहियास्थित होटललाई अनुरोध गरेर रातिको खानाको व्यवस्थापन गरेको गाउँसमाजका सदस्य रमेश थापाले भने।

प्रकाशित: १३ चैत्र २०७६ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App