१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतबाट आएका थप ६ जनालाई कटारी क्वारेन्टाईनमा राखियो

उदयपुर- भारतबाट फर्केका उदयपुरका थप ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ। भारतको सिलीगुढीमा कार्यरत उनीहरु नेपाल फर्कने क्रममा झापा प्रहरीको समन्वयमा बिहीबार विहान उदयपुर आईपुगेका हुन्।

      प्रहरी स्कटिङमा ल्याइएका ३ महिलासहित ६ जना सबैलाई सदरमुकाम गाईघाट नल्याई सरासर कटारी नगरपालिका १ बेलसोतस्थित क्वारेन्टाईन पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार क्वारेन्टाईन पठाउनुअघि कटारी अस्पतालमा स्थापित हेल्थडेस्कमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो। भारतबाट फर्कनेमा त्रियुगा नगरपालिका ७ की एक महिला, त्रियुगा १५ का २ महिला र लिमचुङबुङ ४ बलम्ताका ३ पुरुष रहेको प्रहरीले जनाएको छ।

      अघिल्लो दिन पनि भारतबाट फर्केका २१ जनामध्ये २० लाई बेलसोत क्वारेन्टाईनमै राखिएको छ। १ जनालाई भने ज्वरो आएकाले कटारी अस्पतालको आईसोसेलन वार्डमा राखेर उपचार गराइदैछ। २१ मध्ये ३ जना उदयपुरगढी गाउँपालिकाका छन् भने बाँकी सबै ताप्ली गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ।

      यसअघि कतारबाट फर्केका एकजना लिमचुङबुङ ३ को भन्ने पत्ता लगाएर होम क्वारेन्टाईनमा बस्न लगाइएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी संक्रमित युवति चढेको जहाजबाट आएको पत्ता लागेपछि उनलाई होम क्वारेन्टाईनमा बस्न लगाइको हो। उनीसँग सम्पर्कमा आएकाहरुको पत्ता लगाएर सबैलाई गाउँपालिकामार्फत स्वास्थ्य जाँच गराई होम क्वारेन्टाईनमा राख्न लगाइएको प्रहरी भनाई छ।

      अहिलेसम्म  उदयपुरमा बेलसोत क्वारेन्टाईनमा बस्नेको संख्या २७ पुगेको छ। यसबाहेक कतार एयरवेजबाट नेपाल फर्केलगत्तै ७ दिन क्वारेन्टाईनमा बसेर फर्केका चौदण्डीगढी नगरपालिकाका २ जनालाई पनि होम क्वारेन्टाईनमा राखिएको नगरप्रमुख खगेन्द्र राईले बताए।

      त्यस्तै कतारबाटै फर्केका बेलका नगरपालिका ३ का १ जनालाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य जाँचपछि मोरङको टाँडीस्थित क्वारेन्टाईनमा राखिएको छ। सिंगापुरबाट फर्केका त्रियुगा नगरपालिका ६ का १ जनालाई पनि होम क्वारेन्टाईनमै राखिएको छ भने उनको खकार परीक्षण गर्न शुक्रराज ट्रफिकल केयर सेन्टर टेकु पठाइएको एसपी मगरले बताएका छन्।

      विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोविड–१९) को संक्रमणबाट बँच्न जिल्लादेखि स्थानीयतहसम्म सतर्कता अपनाउने क्रम चलिरहेको छ।

 

 

 

 

प्रकाशित: १३ चैत्र २०७६ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App