७ वैशाख २०८१ शुक्रबार
समाज

विदेशबाट फर्किएकामाथि निगरानी

काठमाडौं - विदेशबाट फर्किएका नेपालीले अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्न सरकारले गरेको व्यवस्था पालना गरे नगरेको विषयमा निगरानी हुने भएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको जोखिमलाई नियन्त्रण गर्न विदेशबाट फर्किएका नेपालीले गरेका गतिविधि र सरकारको निर्देशन पालना गरे नगरेको विषयलगायतका उनीहरुको आचरणमा निगरानी बढाइने भएको हो।

विदेशबाट फर्किएकाहरुबाट भाइरसको संक्रमण बढी हुने भन्दै सरकारले उनीहरुका गतिविधिको स्थानीय तह र सुरक्षा निकायमार्फत सुक्ष्म निगरानी गरिने भएको छ। ‘हामीकहाँ विदेशबाट फर्किएकाबाटै संक्रमण हुनसक्ने जोखिम भएकाले सरकारले उनीहरू सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएपछि सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिसकेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले भने, ‘विदेशबाट आएका नेपालीले प्रोटोकलबमोजिम आचरण गरे नगरेको निगरानी गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी निगरानी गर्ने निर्णय भएको छ।

यसअघि आइतबार पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै विदेशबाट फर्किनेको दैनिक विवरण अद्यावधिक निर्देशन दिएको थियो। त्यसलगत्तै सरकारले पुनः आचरणमाथि निगरानी बढाउन भनेको हो। सरकारले यदि विदेशबाट फर्किएका व्यक्ति तोकिएअनुसार सेल्फ क्वारेन्टाइनमा नबसी तोकिएको आचारण पालना नगरेमा उनीहरूलाई पक्राउ गरी कारबाही गर्नसमेत भनेको छ।

कोरोना भाइरस विश्वव्यापी महामारीको रूपमा फैलिएपछि पछिल्लोसमय रोजगार, अध्ययनलगायत विविध कारणले विश्वका थुप्रै मुलुकमा पुगेका नेपाली फर्कनेक्रम बढेपछि कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ। सोमबार मात्रै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार विदेशबाट फर्किएकाप्रति चनाखो बनेको हो। सरकारले विदेशबाट फर्किएकालाई सेल्फ क्वारेन्टाइनमा बस्ने भने पनि कतिपयले यसलाई पालना नगरेको हुनसक्ने देखिएकाले विदेशबाट फर्किएकामाथि सुक्ष्म रूपमा निगरानी बढाई आवश्यक कारबाही गर्ने निर्णय मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले समेत गरेको छ।

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारको तर्फबाट आवश्यक काम गर्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको छ। समितिले गरेका निर्णय कार्यान्वयन गर्न मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षमा विभिन्न मन्त्रालयका सचिव सम्मिलित कार्यान्वयन समितिले गठन भएको छ।

उच्चस्तरीय समितिले विभिन्न कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि विभिन्न १७ बँदे कार्ययोजना तयार पारेको छ। जसअनुसार कोरोना संक्रमित बिरामी देखिएको अवस्थामा सरकारी, सामुदायिक र निजी अस्पतालमा उपचारको व्यवस्था मिलाउन भनिएको छ। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रूपमा प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाउनुपर्नेछ। त्यसैगरी, सिनेमा हल, डान्सबारलगायतका मनोरञ्जस्थल बन्द गर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन निषेध गर्ने र त्यसको नियमित अनुगमन गृह मन्त्रालयले गर्ने लगायतका कार्ययोजनाहरु पारिएको छ। सार्वजनिक यातायातमा भीडभाडयुक्त यात्रु नराख्ने, लामो दुरीका सवारी साधन सन्चालन हुन नदिने र यसको अनुगमन गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले गर्न भनिएको छ।

उच्चस्तरीय समितिको निर्णयअनुसार सार्वजनिक यातायात सवारीसाधनलाई यात्रु चढनुअघि संक्रमणरहित बनाउने, मानिसहरुको जमघट हुने सार्वजनिक स्थललाई संक्रमणरहित बनाउने भनिएको छ। त्यसैगरि बजारमा उपभोग्य सामाग्रीको कृतिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालोबजारी तथा मिसावट गर्नेलाई कडा कारवाही गर्न कार्ययोजना तयार भएको छ। जसअनुसार गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित अनुगमन गरि आवश्यक कारवाही गर्न भनिएको छ। समितिले अनावश्यक वा आवश्यकताभन्दा बढी बस्तुको खरिद तथा सन्चय गर्नसमेत रोक लगाउन भनेको छ। सार्वसाधारणमा भ्रम सिर्जना गर्ने सन्चारमाध्यम, व्यक्तिलाई कारबाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। जसअनुसार गृह मन्त्रालयले त्यसको अनुगमन गर्नसमेत भनिएको छ।

स्वास्थ्यकर्मीले बिदा नपाउने

सरकारले स्वास्थ्यकर्मीलाई प्रसुती बिदा र किरिया बिदाबाहेकका अन्य बिदा नदिने भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमको कारण नेपालमा समेत सतर्कता अपनाउनुपर्ने भन्दै सरकारले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा नदिने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई बिदा नदिनका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी निर्णय कार्यान्वयन गर्न भनेको छ। ‘विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणको सन्दर्भमा नेपालमा समेत सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको प्रसुती बिदा, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्नु नगराउनुहुन अनुरोध छ,’ मन्त्रालयले भनेको छ, ‘अत्यावश्यक पर्न गएको अवस्थामा वैकल्पिक व्यवस्था गर्नुपर्नेछ।’

प्रकाशित: ११ चैत्र २०७६ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App