१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उच्च जोखिम, न्यून सतर्कता

जनकपुरधाम – भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम बढेको छ।

आवतजावतका लागि खुला रहेको धनुषाको एकमात्र मुख्य नाका जटहीमा स्वास्थ्य जाँचका लागि नगराइन नगरपालिकाले दुईजना स्वास्थ्यकर्मीसहितको टोली हेल्प डेस्कमा राखेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट दैनिक आउने सयौं सर्वसाधारणका लागि एक सिफ्टमा मात्र एकजना स्वास्थ्यकर्मी खटाइएको छ।

सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्। आइतबार जटही सीमा हुँदै भारतको उत्तरप्रदेश र विहारबाट फर्किरहेका नेपाली चेकजाँचबिनै भित्रिँदै थिए। एक्लै रहेकाले दिसा पिसाबका लागि जाँदा आगन्तुक त्यत्तिकै प्रवेश गर्न सक्ने अवस्था रहेको स्वास्थ्य परीक्षक मनिलाल कर्णले बताए।

सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्।

मोटरसाइकलमा फर्किरहेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेर स्वास्थ्य परीक्षण गराउन पठाइरहेका छन् भने कतिपय प्रहरीलाई नटेरेर त्यत्तिकै पनि भागिरहेका छन्। हेल्मेटै नलगाएर तीनजना बसेको नम्बर नखुलेका मोटरसाइकल र विहार नम्बर प्लेटका गाडीमा सवार व्यक्ति नेपालतर्फ प्रवेश गरिरहँदा प्रहरी निरीह छन्। ‘उताबाट आउने कतिपयलाई रोक्न खोज्दा कोरोना भाइरस नलागेको भन्दै झगडै गर्न खोज्छन्। त्यतिकै मनपरी गाडी चलाइरहेका छन्। हामीले भन्दा धम्की देखाउँछन्,’ सशस्त्र प्रहरी निरीक्षक ध्रुवप्रसाद भट्टले भने। जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले धनुषाको जटही र खजुरी नाकामात्र आवतजावतका लागि खुला राख्ने निर्णय गरेको छ।

तर स्वास्थ्यकर्मी नहुँदा खजुरी नाका तत्कालका लागि बन्द गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीले बताए। नाकाहरुमा प्रहरीले घेरा हालेर गस्ती बढाउँदै आवतजावतमा रोक लगाए पनि खुला सीमाका कारण चोरबाटो भएर दर्जनौं व्यक्ति प्रवेश गरिरहेको सीमामा खटिएका प्रहरी बताउँछन्। आइतबार भारतमा जनता कफ्र्युको प्रभावले खासै मानिसको आवतजावत नरहेकाले एक्लै जसोतसो स्वास्थ्य परीक्षण थेगेको तर पछि धान्न समस्या हुने स्वास्थ्य परीक्षक कर्णले बताए। उपकरण र जनशक्ति अभावले नाममात्रको स्वास्थ्य परीक्षण भइरहेको महसुस भएको उनको भनाइ छ। ‘यतिले मात्र पुग्दैन। हामीसँग ज्वरो नाप्नेबाहेक केही उपकरण छैन। हामी उच्च जोखिममा छौं। बोर्डर पूर्णरुपमा बन्द गर्नुको विकल्प छैन,’ उनले भने।

स्वास्थ्य परीक्षणका लागि नगरपालिकाले ब्यानर झुन्ड्याएर टेबल र बेन्च राखिदिए पनि घामबाट बच्न सशस्त्र प्रहरीले प्लास्टिकको व्यवस्था गरिएको छ। सरकारले मेडिकेटेड मास्क, पन्जा र सेनिटाइजरको व्यवस्था नगरिदिएको र बजारमा समेत पाउन मुस्किल रहेकाले त्यत्तिकै स्वास्थ्य चेकजाँच गरिरहेको स्वास्थ्य परीक्षक कर्णको भनाइ छ।

महोत्तरीको मटिहानी नाकाबाट भारतबाट फर्किनेहरुको स्वास्थ्य चेकजाँचमा झनै बढी लापरबाही भइरहेको देखिएको छ। धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले सञ्चालन गरेको हेल्प डेस्कमा थर्मल गण नहुँदा ज्वरो नाप्ने सामान्य थर्मोमिटरले नै उनीहरुको स्वास्थ्य परीक्षण गरिँदैछ। सोधपुछ गरी थर्मोमिटरले चेकजाँच गर्दा एक व्यक्तिमा हुने संक्रमण अर्को व्यक्तिमा सर्ने उच्च जोखिम रहेको स्वास्थ्यकर्मी बताउँछन्।

भारततिर सोधपुछ हुन्छ, जाँच हुँदैन
नेपालबाट भारतर्फ जाने व्यक्तिहरुको चेकजाँचको अवस्था झनै दयनीय छ। जटही नाका हुँदै भारतर्फ प्रवेश गर्ने नेपालीलाई भारतीय पक्षले सोधपुछ गर्छन् तर चेकजाँच गर्दैनन्। चेकजाँच गर्ने उपकरण नरहेकाले सोधपुछकै भरमा नेपालीलाई भारतर्फ प्रवेश गर्न दिएको पिपरौन हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मी डा. शौकत खानले बताए। ‘कोरोना संक्रमित व्यक्तिमा हुने मुख्य लक्षणहरु सोध्छौं र कुनै लक्षण नरहेको बताएको खण्डमा जान दिइरहेका छौं,’ उनले भने, ‘भारत सरकारसँग थर्मल गनलगायतका उपकरण माग गरेका छौं तर पठाएको छैन।’ कोरोना संक्रमित व्यक्तिमा हुने लक्षण देखिएमा भारतको मधुवनी र दरभंगास्थित आइसोलेसन वार्डमा पठाइने स्वास्थ्य परीक्षक डा. खानको भनाइ छ। उनका अनुसार २९ जनवरीदेखि थालेको चेकजाँचको क्रममा हालसम्म कुनै संक्रमित भेटिएको छैन।

बजार बन्द, सुनसान गाउँ
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सशस्त्र प्रहरीले भारततर्फ अतिआवश्यक कामबाहेक मानिसलाई नजान भन्दै सीमामा रोकिरहेका छन्। आइतबार भारतमा आह्वान गरिएको जनता कफ्र्युले नेपाल र भारतमा सीमा क्षेत्रमा पर्ने दुवैतिरका पसल र बजार पूर्ण रुपमा बन्द थिए। भारततर्फ सशस्त्र सीमा सुरक्षा बल र नेपालतर्फ समेत सशस्त्र प्रहरीले इमरजेन्सीबाहेकलाई आवतजावतमा रोक लगाएका थिए। कोरोना भाइरस विहार र नेपालमा आइनसकेको भन्दै सीमा क्षेत्रका गाउँले त्रसित त छैनन् तर सतर्कतासमेत अपनाएका छैनन्। ‘मास्क लगाएर काम कसरी गर्ने ? पेट कसरी पाल्ने ? हामीलाई खेतबारीमा काम गर्न जानैपर्छ। गाईबस्तु चराउनैपर्छ,’ जटहीकी तेतरी देवीले भनिन्।

प्रकाशित: १० चैत्र २०७६ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App