१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कोरोनाले रोकेन पढाइ

कोरोना भाइरस महामारीका कारण चीनका शैक्षिक संस्था पनि बन्द छन्। यहाँ पठनपाठन जारी राख्न नयाँ उपाय अपनाइएको छ। ‘कक्षा स्थगन, पढाइ निरन्तर’ नारासहित पढाइ जारी राख्न चीन सफल भएको छ। महामारीका कारण शैक्षिक संस्था कहिले खुल्छन्, अझै निश्चित छैन। तर फेब्रुअरी २४ तारिखयता जुम, विच्याट, क्युक्यु, क्लासइन, पुखा, थङसुन क्लास, ब्लाकबोर्ड, रेनक्लासजस्ता एप्सका माध्यमबाट यहाँ कक्षा सञ्चालन भइरहेका छन्। कोरोना संक्रमण नियन्त्रण नहुन्जेल अब यही माध्यमबाट पठनपाठन जारी राखिने जनाइएको छ।

चिनियाँ नयाँ वर्ष वसन्त पर्वको बिदासँगै यहाँका शैक्षिक संस्था बन्द भएका थिए। लगत्तै  कोरोना संक्रमण फैलिएपछि ती खुल्न पाएनन्। जसका कारण हामीजस्ता विदेशी विद्यार्थीलाई चीन छाड्ने कि बसिराख्ने भन्ने द्विविधाले निकै सताइरहेका थियो। तर अहिले विद्यार्थीले आफ्नै कोठामा बसेर कोरोना संक्रमणबाट जोगिँदै सहज ढंगबाट आफ्नो अध्ययन अघि बढाइरहेका छन्। चीन सरकारले प्राथमिकदेखि उच्च तहसम्म अनलाइनमार्फत पठनपाठन सञ्चालन सुरु गरेको हो। यो नयाँ अभ्यास भएकाले सुरुमा शिक्षक र  विद्यार्थी दुवैले असहज महसुस गरेका थिए, तर बिस्तारै अभ्यस्त हुँदै जाँदा अहिले सजिलो बन्दै गएको छ। अहिले यहाँका शैक्षिक संस्थाले शैक्षिक क्यालेन्डरअनुसारै अनलाइनमार्फत पठनपाठन गराइरहेका छन्। चीनबाट स्वदेश फर्किएका विद्यार्थीले पनि विच्याट, क्युक्युजस्ता सामाजिक सञ्जालमार्फत घरमै बेसेर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन्।

चीनबाट स्वदेश फर्किएका विद्यार्थीले पनि विच्याट, क्युक्युजस्ता सामाजिक सञ्जालमार्फत घरमै बेसेर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन्।

अनलाइनमार्फत अध्ययन गर्नु कक्षाकोठामा गएर पढेजस्तो सहज नभए पनि यसले ठूलो राहत भएको बेइजिङ नर्मल विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ताजिकस्तानका विद्यार्थी सारोम बताउँछन्। ‘बेलाबखत इन्टरनेट गइरहने हुँदा भिडियोमार्फत शिक्षकले बोलेका कुरा स्पष्ट नबुझिँदा कहिलेकाहीं भने समस्या हुने गरेको छ,’ उनी भन्छन्।

ज्याङ्सु प्रान्त वुसीस्थित एक प्राविमा पढाउने चिनियाँ शिक्षिका फु सियाओ भन्छिन्, ‘साना भाइबहिनीलाई अनलाइनमार्फत पढाउन कक्षाकोठामा जस्तो सहज त हुँदैन, तर अभिभावकले सहयोग गरे बालबलिकाको पढाइलाई जारी राख्न गाह्रो छैन।’

पेकिङ विश्वविद्यालय र हुपेई प्रान्तको यि छाङ् विश्वविद्यालयमा चिकित्सा विज्ञान अध्ययन गरिरहेका काठमाडौंकी बिहानी पोखरेल र धनकुटाकी पुजन राईले भने अनलाइन कक्षा त्यति सहज नलागिरहेको बताए। विशेष गरेर प्रयोगात्मक कक्षामा यो माध्यमको पढाइ त्यति प्रभावकारी नभएको उनीहरूको अनुभव छ।

बेइजिङस्थित मामाघरमा बसेर अनलाइन कक्षा लिइरहेकी हङकङ विश्वविद्यालय, स्नातकोत्तर पहिलो वर्षका जापानी विद्यार्थी  मिनामी युका भने कक्षाकोठामा पाउने जति नै ज्ञान यो माध्यमबाट पनि पाइरहेको बताउँछिन्। यहाँका शिक्षक सहयोगी र विद्यार्थीको सुविधालाई बढी ध्यान दिने भएकाले पनि समस्या नभएको उनको अनुभव छ।

विद्यार्थीलाई कसरी सहज ढंगबाट पठनपाठन गराउन सकिन्छ भनेर यहाँका विश्वविद्यालयले विभिन्न उपाय खोजी गरिरहेका छन्। कोरोना संक्रमण फैलिएयता विभिन्न अनलाइन र वेबसाइटमार्फत अलग–अलग विषयका पुस्तक निःशुल्क रूपमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ।

अहिले चीनमा कोरोना संक्रमण घट्दो छ। सान्सी प्रान्तमा दुई सातायता संक्रमण शून्यमा झरेको छ। तसर्थ यहाँ स्नातक, स्नातकोत्तर र विद्यावारिधि कक्षा अब अप्रिलको पहिलो हप्ता सुरू गर्ने तयारी भइरहेको छ।  यस्तै कुइचौ प्रान्त र छिङहाईले पनि शैक्षिक संस्था खोल्न अनुमति मागेको छ। तर यहाँको शिक्षा मन्त्रालयले  शैक्षिक संस्था खोल्नुअघि ३ सर्त अनिवार्य रूपमा पालना गर्न निर्देशन जारी गरेको छ। कोरोना प्रकोप पूर्ण रूपमा नियन्त्रण भएको हुनुपर्ने, अभिभावक र बहुसंख्यक स्थानीय कक्षा सञ्चालन गर्न सुरक्षित रहेको भनी राजी हुनुपर्ने र कक्षा सुरु भएपछि पनि प्रकोप नियन्त्रणमा प्रयोग गरिने सामग्रीको उपलब्धताको प्रत्याभूति हुनुपर्ने।

यसबीच भिसा म्याद सकिएका विद्यार्थीको भिसा २ महिनाका लागि स्वतः नवीकरण हुने सूचनासमेत चीन सरकारले जारी गरेको छ। कोरोना संक्रमणका कारण चीनमै बस्ने वा स्वदेश फर्किने दुवै सुविधा यहाँका विद्यार्थीलाई छ। यसबीच आफूखुसी स्वदेश फर्किएका विद्यार्थीको छात्रवृत्ति कटौती हुन सक्ने समाचार केही सोसल मिडयामा आए पनि ती सही होइनन्। उनीहरूलाई प्रदान गरिएको छात्रवृत्ति उपलब्ध भइरहेको छ। यहाँका कलेजमा  शुल्क तिरेर पढ्नेमा दक्षिण कोरियाका विद्यार्थी बढी छन्। नेपालबाट पनि हरेक वर्ष करिब ३ सयको हाराहारीमा विद्यार्थी चीनमा उच्च शिक्षा अध्ययन गर्न आउने गरेका छन्। तर उदेकलाग्दो कुरा– चीनमा कति नेपाली विद्यार्थी अध्ययनरत छन्, यहाँस्थित नेपाली दूतावाससँग कुनै तथ्यांक छैन।

यो राष्ट्रिय संकटबीच चीनले पठनपाठन सञ्चालनसँगै जनजीवन सहज बनाउन जुन प्रयास गरिरहेको छ, त्यो बाँकी विश्वका लागि पनि अनुकरणीय हुन सक्छ।
(बेइजिङमा अध्ययनरत)

प्रकाशित: ७ चैत्र २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App